बाटो छेक्न दिल्लीमा बथान

सामान्यतः कर्मचारीतन्त्रमा आफूलाई राम्रो अवसर दिलाउन लबिङ गर्ने चलन छ तर यहाँ अरुको बाटो छेक्न माथिल्लो तहका हाकिमहरुले हुल बाँधेको उदाहरण भेटिएको छ । तीन महिने काज सकेर स्वदेश फर्किएका एकजना उपसचिव पूर्णकालीन चार वर्षे नियुक्ति लिएर पुनः त्यहीं फर्कन लागेको आशंकामा दिल्लीस्थित नेपाली दूतावासका हाकिमहरुले राजदूत दिपकुमार उपाध्यायलाई सम्भावित उक्त पदस्थापन हुन नदिन दह्रो दबाब दिएका हुन् ।

त्यहाँ सेना, प्रहरी, गुप्तचर, परराष्ट्र र प्रशासन गरी अरुण घले, कृष्णहरि पुष्कर, कृष्ण ढकाल, यादव खनाल र ओमप्रकाश जोशीलगायत सहसचिव तहका पाँचजना हाकिम तैनाथ छन् । उनीहरुले नै उपसचिव दर्जाबाट पोलिटिकल फस्र्ट सेक्रेटरीको जिम्मेवारी सम्हाल्न इच्छुक हरि ओडारीलाई आउन नदिने गरी लबिङ गरेका हुन् । दिपकुमार पुनः राजदूत नियुक्त नहुँदै कार्यवाहक चलाउँदै आएका कृष्णप्रसाद ढकालसँग ओडारीले झण्डै दूतावासभित्रै कुर्सी हानाहान गर्न लागेपछि वास्तविकता बुझ्न मन्त्रालयबाट हाल पाकिस्तानमा राजदूत रहेकी सेवा लम्साललाई दिल्ली खटाइएको थियो ।

यसबीच मलेसियाबाट अवकाशको मुखमा राजदूत निरञ्जनमानसिंह बस्नेतसँग कुरा नमिल्दा फर्काइएका हेमलाल भट्टराईको ठाउँमा पनि अर्का उपसचिवको पदस्थापन हुन सकेको छैन । फ्रान्स र बेल्जियममा यसअघि राजदूत र दोस्रो वरियताका काउन्सिलरबीच झगडा पर्ने गरेझैँ कुवेतमा पनि मनमुटावको स्थिति छ । दुवैजना परराष्ट्र सेवाका भइकन पनि यज्ञ हमालको कार्यशैलीप्रति चित्त दुखाउँदै लेखनाथ भट्टराई धेरैजसो नेपालमै देखिन थालेका छन् । उनी त्यता गएको डेढ वर्षमात्रै भयो । दुईजनाबीच झगडाको कारण उपसचिव तहको दरबन्दी त्यहाँबाट अन्यत्र सार्न लागिएको थियो ।

टिप्पणीहरू