राष्ट्रियसभामा राष्ट्रपतिको चर्को आलोचना,प्रतिनिधिसभा विघटन- धोकाधडी

राष्ट्रियसभामा राष्ट्रपतिको चर्को आलोचना,प्रतिनिधिसभा विघटन- धोकाधडी

नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्पराको पालना गर्न नसकेको टिप्पणी गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकको विशेष समयमा बिडारीले अन्य मुलुकका राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको दृष्टान्त दिँदै नेपालमा भने संविधानमा स्पष्ट लेखिएको कुरालाई पनि राष्ट्रपतिले बेवास्ता गरेको आरोप लगाउनुभएको हो ।

उहाँले संविधान बन्न नदिन प्रयास गरेको भारतले त्यसको सफल कार्यान्वयन हुनबाट रोक्न सोही समयदेखि नै प्रयास गरेको आरोपसमेत लगाउनुभयो । उहाँले संविधान निर्माण क्रममा संविधानको धारा ७६ को उपधारा ५ मा गरिएको व्याख्या र टिप्पणी गायब गरिएको समेत आरोप लगाउनुभयो ।

यस्तै,राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत नभएको भन्दै सत्तापक्षले संविधानको गलत व्याख्या गरेको दाबी गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटन संविधान र राष्ट्रपतिको घात, बेइमानी र धोकाधडी भएको समेत बताउनुभयो ।

उहाँले आवधिक चुनावबाहेकको अवस्थामा जनतालाई आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गर्नु संविधानको मर्म विपरित भएको दाबी गर्नुभयो । २०७७ साल फागुन ११ गते सर्वोच्च अदालतले गरेको फैसलालाई आफूले आधार बनाएको बताउँदै उहाँले अदालतको यसअघिको व्याख्यामा प्रतिनिधिसभाभित्रै विकल्प खोज्न र त्यसका लागि दलहरुबीच सहमति खोज्न भनेको विषय उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू