सुजिताको बलात्कार नभएको पुष्टि,भिसेरा जाँचपछि मृत्युको कारण खुल्ने

सुजिताको बलात्कार नभएको पुष्टि,भिसेरा जाँचपछि मृत्युको कारण खुल्ने

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शंकास्पद मृत्युपछि गरिएको पोष्टमार्टममा बलात्कारको कुनै लक्षण फेला परेन । उनको संवेदनशील अंगमा कुनै क्षति पुगेको वा कन्या जाली च्यातिएको नदेखिएकाले बलात्कार नभएको परीक्षण (अटोप्सी) रिपोर्ट आज चिकित्सकहरुबाट आएको हो ।

पोष्टमार्टमबाट बलात्कार वा अन्य शारीरिक चोट पटकका कारण सुजिताको मृत्यु भएको नदेखिए पनि खास कारण अझै खुलेको छैन । बायाँ हातमा भने ब्लेडले काटेको देखिन्छ । शवस्थल नजिकै भेटिएको विषादीको बट्टाको कारण मृत्युको तथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पेटलगायत शरीरका भित्री भागहरु (भिसेरा) परीक्षण प्रक्रिया अघि बढाएको छ । आज शरीरका केही अङ्ग परीक्षणनिम्ति विधि बिज्ञान प्रयोगशाला (नास्ट) पठाइएको छ ।

आइतबार पूर्वी चितवनको भण्डारा,धमिलीस्थित सामुदायिक वनमा भण्डारीको शव नजिकै पतेरा मार्ने विषको बट्टा भेटिएको थियो । भण्डारीले विष खाएर आत्महत्या गरेको हुनसक्ने अर्कोथरि आशंका पनि छ । यद्यपि यसको पुस्ट्याइँ भैसकेको हैन । प्रहरीले कुनै प्रेम सम्बन्धका कारण डिप्रेशनमा गएर त्यो हर्कत गरेको हो वा होइन भन्ने कोणबाट समेत अनुसन्धान थालेको र टेलिफोनबाट कल डिटेल र सन्देश आदानप्रदानको विवरणसमेत संकलन गरिएको बताइन्छ ।

सुजाताको शव भेटिनु नौ दिनअघि नै परिवारले उनको अपहरण भएको आशंकामा प्रहरीमा जाहेरी दिएका थिए । उनले टेलिफोनमा आफूलाई दुई महिला र एक पुरुषले अपहरण गरेको बताएको दिदीको दावी छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा हिजो साँझदेखि आज साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

टिप्पणीहरू