ड्राइभर सिटमा खलाँसी

अस्ति साझाको नयाँ बस उद्घाटन गर्ने कार्यक्रम थियो । उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड आफैंले भन्नुभयो कि म बसको खलासी हुँ । अब उहाँ आफैंले आफूलाई खलासी हुँ भनेपछि हामीले होइन कसरी भन्ने ? उहाँ जे हो त्यो उहाँभन्दा बढ्ता अरू कसलाई थाहा होला ?

उहाँले आफूलाई खलासी हुँ भनेपछि पो मैले झसंग सम्झेँ, देशको गाडी कहिले यता कहिले उता ढलीमली भएर गुडिरहनुको कारण त यो पो रहेछ । ड्राइभरको सिटमा खलासी बसेपछि गाडी गुड्ने त यसरी नै हो नि † उहाँ मान्छे त खलासी तर बस्नुभएको छ ड्राइभरको सिटमा । अनि गाडी यसरी नगुडे कसरी गुड्छ हँ ?

ट्राफिक प्रहरीलाई सोध्नोस्, नेपालमा हुने अधिकांश गाडी दुर्घटनाको एउटा कारण खलासीले चलाउनु पनि हो । यात्रा गर्दागर्दै बीच–बीचमा ड्राइभरलाई फकाएर खलासीले पनि गाडी हाँक्ने गर्छन् । पूरै त हाँक्दैनन् । उही आधा घण्टा, एक घण्टा अवधि जति । अनि दुर्घटना पनि त्यही बेला पारिदिन्छन् ।

प्रचण्ड पनि त्यसरी नै ड्राइभरको सिटमा बस्न आउनुभएको रहेछ । नौ महिनाजति हाँक्ने विचार छ । तर, यो नौ महिनामा गाडी कहाँ पुग्ने हो ? डरलाग्दो कुरा त यो पो छ । एउटा खलासीले चलाएको गाडीमा बसेर हामी यात्रा गर्दैछौं । के हामी सुरक्षितपूर्वक गन्तव्यमा पुगौंला ?

टिप्पणीहरू