माओवादीपछि एमालेमा रोग सल्कने,..मरिभन्दा पनि काल पल्कने

माओवादीपछि एमालेमा रोग सल्कने,..मरिभन्दा पनि काल पल्कने

नेकपा माओवादी केन्द्र पार्टी अवैध भएको भन्दै उक्त दल खारेजीको मागसहित आज एक समूहले बहादुर भवन,जमलस्थित निर्वाचन आयोगको कार्यालय पुगेर निवेदन दर्ता गराएको छ । पुस ५ को पहिलो प्रतिनिधिसभा विघटनपछि माओवादी छाडेर एमाले प्रवेश गरेका २३ जनामध्ये १८ जनाको समूह स्थायी ठेगाना सिन्धुली भएका अधिवक्ता सरोज बुढाथोकीलाई साथ लगाई आयोग गएको हो ।

त्यहाँ माओवादी छाडेर एमाले बनेका नेताहरुमध्ये रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी,प्रभु साह, लेखराज भट्टबाहेक १८ जनाको टोली पुगेको थियो । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटेर माओवादी केन्द्र अवैध भएकाले खारेजीको माग राखेका हुन् ।

निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ माघपछि महाधिवेशन नगरेको कारण पार्टीले वैधानिकता गुमाएको ब्यहोरा उल्लेख छ । राजनीतिक दल दर्तासम्बन्धी ऐनमा हरेक पार्टीले ५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । उक्त समयभित्र महाधिवेशन गर्न नसकेको खण्डमा थपिएको ६ महिनाभित्र दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ ।

२०७४ माघ २६ गतेदेखि वैधानिकता गुमाएको, थपिएको ६ महिनाभित्र महाधिवेशन नगरी एमालेसँग पार्टी मर्ज भएको र २०७७ फागुन २३ को आदेशपछि सर्वाेच्च अदालतले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काइदिएकोले नेकपा माओवादी केन्द्रको वैधता सकिएका कारण सो दल खारेज हुनुपर्ने निवेदकको जिकिर छ ।

देशलाई दिशा निर्देशन गर्ने राजनीतिक दलको संगठन अलोकतान्त्रिक एवम् गैरकानुनी हुन नसक्ने आज पेश गरिएको निवेदनमा भनिएको छ । पाँच पृष्ठ लामो निवेदनमा लेखिएको छ- ‘महाधिवेशनबाट निर्वाचित १ सय १ सदस्यीय केन्द्रीय कमिटीलाई प्रथम राष्ट्रिय सम्मेलनबाट विधान संशोधन गरी १ सय ५१ सदस्यीय बनाइयो ।’

अधिवक्ता बुढाथोकीले राजनीतिक दल दर्तासम्बन्धी ऐन ०७३ को दफा १३ (१) अनुसार माओवादी केन्द्रले संविधान र संघीय कानुन पालना नगरेको बताएका छन् । बुँदा ‘घ’ मा भनिएको छ,‘अधिवेशन र महाधिवेशन दुई फरक कुरा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अन्तरिम विधान २०७३ को धारा ८ (क) (१) र २०७३/०७४ च.नं. १३ मिति २०७३/४/१३ को पत्रबाट प्रष्ट हुन्छ । निर्वाचन आयोगलाई पछि २०७३/०२/०६ मा भएको एकता अधिवेशनलाई महाधिवेशन भनी झुठा विवरण पेश गरिएको छ ।’

आयोग यो विवादमा पस्यो भने यसले एमालेलाई अनि नराम्रोसङ्ग लपेट्ने पक्का छ किनकि कथा दुबै पार्टीको उस्तै हो । एमाले नवौं महाधिवेशन ०७० असारमा भएको ७ बर्ष कटिसकेको छ र यसवीच बिधान अधिवेशन नै नबोलाई पटकपटक बिधानबिपरित नियुक्ति र कैयन निर्णयहरु गरिएको छ ।

 

 

 

 

 

 

 

 

टिप्पणीहरू