पुरस्कार पाउने कसको पालो ?

संस्कृति प्रवद्र्धन कार्यक्रमको नाममा संस्कृति तथा पर्यटन मन्त्रालयले असोज अन्तिममा मात्र ५० लाख रकम नरेन्द्र प्रसाईं र इन्दिरा प्रसाईको कम्पनीलाई प्रदान गरेको भेटिएको छ । अर्थ मन्त्रालयको वेबसाइटमा ‘नई प्रकाशन प्रालि’लाई २५ लाख र त्रिमूर्ति निकेतनलाई २५ लाख एकमुष्ट निकासा गरिएको विवरण भेटिएको छ ।

नेपाली साहित्यमा यिनैले एक दशकदेखि पुरस्कारको काम चलाइरहेका छन् । कहिले भानु जयन्ती त कहिले देवकोटा हुँदै सम जयन्तीको नाममा समेत पुरस्कार बाँड्ने यिनीहरूले अहिले जीवितै रहेका सत्यमोहन जोशीदेखि माधवप्रसाद घिमिरेसम्मको नाममा पसल थापेका छन् । साहित्यकार नै टिप्पणी गर्छन्, कसैको न्वारान, पास्नी, चौरासी, शताब्दी परे पुरस्कार घोषणा गरिहाल्छन् । यो कम्पनीले यसअघि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका पिता भूपालमानको नाममा सम्मानको व्यापार गर्दै आएको थियो । हालै यही पुरस्कारबाट देशभरिका १०५ जना पुरस्कृत भएका छन् । एक लाख राशि यसपटक भगीरथी श्रेष्ठले पाएकी हुन् । त्यस्तै, मुकुन्द शर्मा, अशेष मल्लदेखि मञ्जुलसम्मले ५० हजार राशि पाएका छन् । यसअघि मदन पुरस्कारलाई मदनसमशेरको काट्टोका रूपमा व्याख्या गर्नेहरू नै नईका हातबाट पुरस्कार थाप्न लाइनबद्ध भएको दृश्य देखिएको छ ।

साहित्यका लागि दिलोज्यान दिएर लागेका दाहाल यज्ञनिधिजस्ता स्रष्टा उपचार खर्च अभावमा मृत्यु कुरेर बसिरहँदा हरेक वर्ष ५० औं लाख राशिको टेण्डर संस्कृति मन्त्रालयबाट नईका जोडीले हात पार्ने गरेका छन् ।

टिप्पणीहरू