अर्को सातादेखि काठमाडौंबाट ह्वार्ह्वार्ती उडान हुने

अर्को सातादेखि काठमाडौंबाट ह्वार्ह्वार्ती उडान हुने

कोरोना महामारी रोकथामको लागि प्रतिवन्धजस्तै लगाइएको वाह्य र आन्तरिक उडान क्रमशः खुल्न थालेको छ । अबको साता दश दिनमा काठमाडौंबाट सबैजसो सेक्टरमा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी हो ।

उडान खोल्न पठाइएको प्रस्तावउपर क्याबिनेटबाट निर्णय भएर मन्त्रालय हुँदै नागरिक उड्डयन प्राधिकरणसम्म आइपुग्न बढीमा सातदेखि १० दिन लाग्नसक्ने स्रोतको दाबी छ । सरकारको औपचारिक निर्णय आएपछि विमान कम्पनीहरुलाई उडान तालिका बनाउन प्राधिकरणले तत्काल निर्देशन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र सम्बन्धित हवाई कम्पनीहरुले उडान तालिकाबमोजिम फ्लाईट शुरु गर्ने हुन् ।

यसअघि २०७६ चैतमा बन्दाबन्दी घोषणा गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिजनमा ५५ वटासम्म अन्तर्राष्ट्रिय उडान हुन्थ्यो । त्यो भनेको १ सय १० वटा मुभमेण्ट हो । औसतमा त्यसअघि काठमाडौंबाट ४० देखि ४५ वटा अन्तर्राष्ट्रिय उडान हुन्थे ।

तर अघिल्लो वर्ष बन्दाबन्दी हटेपछि खुलेको उडानमा पनि मुश्किलले १५ देखि १८ वटा फ्लाईट भएको थियो । दोस्रो पटकको निषेधाज्ञाअघि औसतमा १२ वटा उडान भएको थियो । अब उडान खुलेपनि बढीमा दैनिक १५ वटा मात्र फ्लाइट हुने अनुमान छ ।

आन्तरिकतर्फ अहिलेको ५० प्रतिशत उडानलाई बढाएर सतप्रतिशत बनाउने तयारी छ । त्यसो हुँदा आन्तरिकतर्फ काठमाडौंबाट १ सय वटासम्म उडान हुनसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू