सिर्फ एउटा नाम खोजिरहेछु

यसैले भनिएको होला, अविवाहिता प्रेमको प्रभावले र विवाहिताहरू प्रेमको अभावमा बर्बाद हुन्छन् । आफ्नै जिन्दगीका पाना पल्टाउँछु, एकान्तमा सोच्छु विकासानन्दले मेरै लागि भनेका रहेछन् झैं लाग्छ । म पनि वर्वाद भएकी पात्र हुँ, प्रेमका कारण । अल्लारे बुद्धि, कतिबेला पग्लिएँ, कसरी पग्लिएँ हेक्का छैन । १६ वर्षको किशोरीवय । बालाजुस्थित तरुण माविमा पढ्दै थिएँ । त्यहीँ भेट भएका हुन्, विजय पौडेल ।

सायद लेखान्त नै यस्तै थियो कि ? भन्छन् जन्म, मृत्यु र विवाह यी तीन चिज ललाटमा जे लेखियो उही हुन्छ । कसैले चाहेर पनि मेटाउन सकिँदैन रे † झण्डै दुई वर्षसम्म प्रेम सम्बन्ध । उनकै सपनालाई साकार पार्ने कसम खाएर उनकै भएँ । तर, मन्दिरमा रहेका मूर्तिलाई साक्षी राखेर सिँउदोमा भरिएको एक धर्काे त्यही सिन्दूर मेरा लागि जीवनभर बर्बादीको कहानी बनेर आयो । हो, त्यही एक धर्काे सिन्दुरले म बर्बाद भएँ ।

बाल्यकालमा सपना देख्थँे, कलाकार बन्ने । सानैदेखिको तीव्र रुचि । तर, सबैका रहर कहाँ पूरा हुँदा रहेछन् र जिन्दगीमा ? आखिर जे नसोच्यो त्यसैको बज्रपात आइलाग्यो । ०६८ सालको मंसिरमा हाम्रो प्रेमले मूर्तरूप पायो । विवाहमा रूपान्तरण भयो । विवाहअगाडि बाहिरबाट देखिने उसको रूप सौम्य र शान्त देखिने । असली अनुहार विवाहपछि छर्लंगियो । कुरूप र राक्षसी अनुहार विवाहपछि देख्दै मात्र होइन, भोग्दै गएँ । कतिसम्म छुद्र र कतिसम्म धुन्धुकारी हुन सक्छ है मान्छेको जात ? जवानीमा आफ्नो कामवासनाको ‘आगो’ शान्त पार्न प्रेमको नौटंकी गरेर कसरीसम्म फसाउन सक्छन्, एउटी किशोरीलाई निर्दयी लोग्नेमान्छेले । नारीको चरित्र र जिन्दगीसँग खेलवाड गर्ने यी यौनपिपासुलाई थाहा छ कि छैन हाम्रो एउटा रूप उग्रचण्डी पनि हो भन्ने ? जब मंसिर लाग्छ, १८ गते आउँछ, तब एउटा आँधी चल्छ मनमा । विवाह भएको आठ महिनासम्म पनि उसले मलाई आफ्नो घर लगेन/लैजाने इच्छा देखाएन । सोच्थेँ, कार्यव्यस्तताले होला ! विवाह हुँदा कक्षा १० मा पढ्दै थिएँ । मैले पटक–पटक जिद्धि गरँे ।

नौ महिनापछि जाँदा सासूआमाले कहिल्यै बुहारीको जस्तो व्यवहार गर्नुभएन । नोकर्नीजस्तो ठान्नुभयो । मन कुँडियो । भनेजस्तो दाइजो लैजान नसकेकै कारण तिरस्कृत बनँे । मबाट छुटाउनकै लागि श्रीमान्लाई विदेश पठाए । जेठी दिदी कतारमा थिइन् । विजय पनि उतैतिर उडे । जसलाई आफ्नो हृदय, तन, मन दिएर जीवन दिएको थिएँ । ऊ साथमा नभएपछि त्यो घर बिरानो भयो । त्यहाँ रहन सक्ने कुरै थिएन । छोरी चेलीको जातले अर्काेको घर गरेर खानुपर्छ भन्ने त लाग्थ्यो तैपनि रातदिनको टोकसो सहन नसकेर पेटमा बच्चा हुँदाहँुदै माइती फर्केर आएँ । माइतीमै बच्चा जन्मियो । त्यहीँ न्वारान भयो । खै कहाँबाट थाहा पाएर हो ऊ छोराको न्वारान हँुदै गर्दा ससुरालीमै आइपुग्यो । १ महिनासम्म ससुरालीमै रह्यो । त्यहाँ रहँदा बुबाआमालाई अनेक तवरले फकायो । फेरि काठमाडौं ल्यायो । उसकै पछाडि लागेर काठमाडौं आएँ । सपना देखेको थिएँ, अब लोग्ने सुध्रिनेछ ।

काठमाडौं फर्किएपछि सामाखुसीमा एउटा सानो कोठा लिएर बसेका थियौं । एउटै ओछ्यानमा सुत्थ्यौं । तर, ‘मन’ कहिल्यै नजिक हुन सकेन । एउटै ओछ्यानमा पनि कोसौं टाढा थियौं । सुरुको विनय र अहिलेको विजयमा अकाश–जमिनको अन्तर थियो । ०७० साल भदौको कुरा हो, खानामा पिरो बढी भएको निहुँमा चुलेसीले प्रहार गर्दा पाखुरामा चोट लाग्यो । कहिलेकाहीँ सोच्थँे, यी लोग्ने हुन् वा आतंककारी ? कसरी सहन सकिन्छ ? जसलाई जीवन दिएको छु उही मेरो जीवन लिन उद्यत भएपछि । सहन सकिनँ । पाखुराबाट तरतरी रगत चुहाउँदै म प्रहरी चौकी पुगेँ ।

हिजोको त्यो पीडा त बिर्सन सकिएला तर कहिल्यै नमिटेने गरी लागेको पाखुराको दाग आज पनि प्रमाण छँदै छ । त्यो रात त्यही चौकीमा बसेँ । ऊसँग जीवन गुजार्न सक्ने अवस्था रहेन । भोलिपल्ट माइती गएँ । साथमा पैसा थिएन । चिनेजानेका साथी÷संगीसँग पैसा उठाएर माइती गएँ । तर, म जहाँ गए पनि छायाझंै उसले मलाई पच्छाइरह्यो ।
ऊबाट पाएको घात र धोकाको कहानी यतिमा सीमित छैन । २ महिनापछि फेरि माइती घरमा पुग्यो । बुबा आमासँग रोइकराइ ग¥यो । अब म सुध्रन्छु, सुख दिएर पाल्छु भन्दै फकायो र काठमाडौं लिएर आयो । तर, बुबाआमाको अगाडि खाएको कसम काठमाडौं फर्कंदा भुलिसकेको हुन्थ्यो । कहिले कता जान्थ्यो, कहिले कता । साथमा सानो बच्चा, खाने सामान हँुदैनथ्यो । हप्तौंसम्म हराउँथ्यो ।

यही बीचमा ऊ कोठा छाडेर । कहाँ गयो केही थाहा थिएन । उसको मनखुसी चल्थ्यो । जे मन लाग्यो त्यही गथ्र्याे । त्यसबेला सामाखुसीमा बस्थ्यौं । एक पटक १५ दिनसम्म हराएर बेलुका कोठामा फर्किए । सोधेँ, कहाँ हराएका थियौ यतिका दिनसम्म ? भन्थे, ‘तनाव भुल्न ध्यान गर्न गएको थिएँ ।’ आजसम्म काठमाडौंको खाल्डोमा टिकेको छु, छोरालाई पढाएको छु । अरूको पसलमा काम गर्छु । त्यहीँबाट आएको थोरै रकमले गुजारा चलेको छ । ऊ त सुरुदेखि नै मनमौजी । जे मन लाग्यो त्यही गर्ने । लोग्ने छ, भन्न पनि छाडिदिएको थिएँ, मनमा ऊप्रति कत्ति पनि प्रेम, सद्भाव र आदर थिएन । यद्यपि, भन्यो, ‘हेर दुई दिनको जिन्दगी तिमी एक्लै म पनि एक्लै बसेर कसैलाई केही फाइदा छैन । एकै ठाउँमा बसौं । हिजो जे भयो–भयो, त्यसलाई बिर्सिएर नयाँ सम्बन्ध स्थापना गरौं ।’ म बुझ्थेँ, उसको प्रेम मप्रति थिएन, शरीरप्रति थियो । कामवासना शान्त पार्न चाहन्थ्यो मबाट । मबाट उसको इच्छा पूरा नभएपछि एकाबिहानै बाटो लाग्थ्यो । घिटिघिटी जिन्दगी चलिरहेकै थियो ।

अहिले महिला आयोग धाइरहेको छु । न्यायको खोजीमा । छोरा चार कक्षामा पढ्दै छ । ऊ विनाबाबुको छोरा त होइन । जन्मदर्ता त चाहियो । थाहा छैन, ऊ अहिले कहाँ छ । यही जन्मदर्ताका लागि उसलाई खोज्दै भांैतारिएको छु । अलिकति पनि लाज, श्रम र इमान बचेको छ भने बाँच्नु बेकार छ उसले । सुन्छु, मसँग सम्बन्धविच्छेद नगरी सरकारी जागिरे श्रीमती भिœयाएको छ । छोराको जन्मदर्ता गरेपछि अब अंश माग्छे भन्ने डरले काठमाडौंमै कतै लुकेर बसेको छ । हरेक वर्षजस्तै फेरि सुरु भएको छ, महिला हिंसाविरुद्धको अभियान । तारे होटलमा हरेक वर्ष चल्छ, डलरवालाको गोष्ठी र सेमिनार । म र मजस्ता सयौं पीडितलाई न त तिनका गोष्ठीबाट केही राहत मिलेको छ न कहीँ–कतैबाट न्याय नै ! अरू केही चाहन्नँ, मात्र छोरा विनाबाबुको होइन भन्ने प्रमाण चाहन्छु । तर, यही प्रमाण पाउन पनि यतिबिघ्न सास्ती खेपिरहेछु । पीडा भोगिरहेछु ।

   शान्ति पौडेल, सामाखुसी

टिप्पणीहरू