चिनियाँ कम्युनिष्ट पार्टीले दुनियाँलाई मन्त्रमुग्ध बनाउँदा हाम्राले के सिक्ने ?

चिनियाँ कम्युनिष्ट पार्टीले दुनियाँलाई मन्त्रमुग्ध बनाउँदा हाम्राले के सिक्ने ?

-राजेन्द्र रिमाल

चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी मनाइरहेको छ । निकै उकाली र ओराली पार गर्दै चिनियाँ कम्युनिष्ट पार्टी यहाँसम्म आइपुग्दा विश्व नै आशावादी बनेको छ । तत्कालीन सोभियत संघ र पूर्वी युरोपका कम्युनिष्ट पार्टी र त्यहाँका सरकार आजभन्दा तीन दशकअघि नै क्षत विक्षत भइसकेका छन् ।

हाम्रै दक्षिणी मुलुक भारतको पश्चिम बंगालमा दशकौंसम्म जगजगी मच्चाएको कम्युनिष्ट सरकार र पार्टीको अवस्था अहिले सिलो खोज्नुपर्ने हैसियतमा पुगेको छ । विश्वमा साम्यवादीहरुको पतन र पश्चिमा अर्थतन्त्रको जगगगी देखिएका बेला चीनले सन् ९० को दशकदेखि आर्थिक फड्को मार्न शुरु गरेको हो ।

७२ वर्षदेखि सरकारको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीले गर्दै आइरहेको छ । यसबीच चिनियाँहरुको आर्थिक हैसियत सामान्यबाट ‘धनी’ मा परिणत भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकसमेत चीन बनेको छ । यो सबै श्रेय चिनियाँ जनताले चिनियाँ कम्युनिष्ट पार्टी र उसको सफल नेतृत्वलाई दिएका छन् ।

अध्यक्ष माओत्सेतुङको राजनीतिक परिवर्तनपछि चिनियाँहरुले सबैभन्दा धेरै श्रध्दा आर्थिक सुधारक नेता तङ स्यायोफिङ र दुई दशकअघिका राष्ट्रपति तथा पार्टी महासचिव च्याङ चमिनलाई दिने गरेका छन् । मुलुकलाई जनताको चाहनासँग जोड्दै आर्थिक सम्पन्न बनाउने अभियानमा यसअघिका हु चिनथाओ र अहिलेका राष्ट्रपति तथा महासचिव सि चिनफिङलाई हालसम्मकै उत्कृष्ट कम्युनिष्ट नेतृत्व भन्न थालिएको छ ।पार्टीको शतवार्षिकी मनाउने क्रममा अस्ति चिनियाँ राष्ट्रपतिले महामारीको विषम परिस्थितिवीच समेत विश्वका १ सय ६० वटा मुलुकका ५ सयभन्दा बढी राजनीतिक दलका १० हजार बढी नेता तथा प्रतिनिधिसँग भर्चुअल राजनीतिक संवाद र आदानप्रदान गर्नुभएको छ । विशेषगरी एसियाली,मध्य एसियाली,दक्षिण एसियाली,अफ्रिकी,दक्षिण अमेरिकी र युरोपेली मुलुकका प्रमुख दलका प्रमुख नेताहरुले राष्ट्रपति सीलाई बधाई र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भइरहेको चिनियाँ समृध्दिको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

डेढ वर्षदेखि विश्वव्यापी भएको कोरोना महामारीपछि अधिकांश मुलुकका सत्ताधारी दलको लोकप्रियतामा ह्रास आएको छ । अमेरिकामा रिपब्लिकनको हारपछि डेमोक्र्याट सत्तामा आएको छ । युरोपलगायत धेरै वटा मुलुकमा त्यो ट्रेण्ड देखिएको छ । चीनसँग जोडिएको छिमेकी मंगोलियामा पनि त्यो अवस्था देखिएको हो ।

तर,चीन मात्र एउटा यस्तो मुलुक बनेको छ,जहाँ महामारीले विश्व आक्रान्त हुँदा पनि सत्ताधारी दल चिनियाँ कम्युनिष्ट पार्टीको लोकप्रियता ह्वात्तै बढेको छ । कोभिड महामारीलाई सुझबुझका साथ बेलैमा व्यवस्थापन गरेर चिनियाँहरुको दैनिकीलाई पूर्ववत अवस्थामा फर्काउन सफल नेतृत्वका कारण चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको लोकप्रियतामा झन् बढोत्तरी भएको हो । यो तथ्यको पुष्टि स्वयम् पश्चिमा सञ्चार माध्यम र विभिन्न विश्वविद्यालयले गरेका सर्वेक्षणमा समेत देखिएको छ ।

अस्ति भएको विश्वका राजनीतिक दलहरुको सम्मेलनमा दक्षिण एसियाली मुलुकहरुमध्ये पाकिस्तानका प्रधानमन्त्री तथा श्रीलंकाली राष्ट्रपतिले समेत आफ्ना धारणा राखेका थिए । चीनसँगको अति घनिष्ठ मित्रराष्ट्र नेपालबाट पनि उक्त कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई सहित काङ्ग्रेस सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै तवरले भर्चुअल सहभागिता जनाउनुभएको थियो ।

२० महिनाअघि नेपालको राजकीय भ्रमणमा आउँदा चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सीले नेपालमा सिंगो र शक्तिशाली कम्युनिष्ट पार्टीको रुपमा त्यसका प्रधानमन्त्री तथा अध्यक्षद्वयसँग भेट गर्नुभएको थियो । शक्तिशाली कम्युनिष्ट पार्टीको सिफारिशमा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो । उहाँले त्यस अवसरमा नेपालको आन्तरिक हित र चीनसँगको द्विपक्षीय सम्वन्ध प्रगाढ बनाउन शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीको अपिहार्यताको सह्राहना गर्नुभएको थियो ।तर, अस्ति उक्त कार्यक्रममा नेपालको तर्फबाट भएको सहभागिता सबैलाई टिठलाग्दो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना केही निकट वरिष्ठ नेताहरुलाई दायाँबायाँ राखेर घण्टौंसम्म टेलिभिजनको पर्दामा केन्द्रित हुनुभएको थियो । उता माओवादी अध्यक्ष दाहाल पनि स्थायी समितिका सबै नेतासँगै पर्दामा देखिनुभयो । जसपा नेता यादव र भट्टराईले पनि त्यसै गर्नुभयो ।

एक चीनप्रति प्रतिबध्द नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताहरुजस्तै चीन पनि नेपालमा एउटा बलियो र स्थायी कम्युनिष्ट पार्टीको पक्षपाती रहेकोमा कसैको दुई मत छैन । तर, छिमेकी मुलुकमा कम्युनिष्ट पार्टीले १ सय वर्षको हर्षबढाईंका साथ विश्वव्यापी कार्यक्रम मनाइरहँदा असल छिमेकी मुलुकको कम्युनिष्ट सरकार,त्यसका अध्यक्ष तथा प्रधानमन्त्री र अर्को कम्युनिष्ट पार्टीका अध्यक्षले पाँच मिनेट धारणा राख्ने अवसरसमेत पाउनुभएको देखिएन ।

यसो हुनुमा कसको दोष होला ? चीन र नेपाल मामिलाका जानकारहरु भन्छन् ‘नेपालका कम्युनिष्ट नेताहरुले जनताको मन जित्न नसकेको चिनियाँहरुलाई समेत बोध भइसकेको छ । छिमेकी मुलुकका नेताहरुसँगको भेटघाट र कुराकानीलाई राजनीतिक छलाङ मार्नको निम्ति भर्याङको रुपमा प्रयोग गर्ने गरिएको विगतलाई ध्यानमा राख्दै नेपालका ठूला कम्युनिष्ट पार्टीका नेता तथा सरकार प्रमुखलाई हेर्न दिइयो, बोल्न दिइएन । उहाँहरुकै कारण विश्व सम्मेलनमा चीनको असल छिमेकी मुलुकका असल कम्युनिष्ट पार्टीका नेताहरु ओझेलमा पर्नुभयो ।’

टिप्पणीहरू