जंगलमा सिद्धिएको एउटा लडाकुको ज्यान « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

जंगलमा सिद्धिएको एउटा लडाकुको ज्यान

प्रकाशित मिति :  १८ मंसिर २०७३, शनिबार ०८:४२


  • राजेन्द्र स्थापित

कम्बोडिया त्यसबेला फ्रान्सको उपनिवेश थियो । सरकारी कुदृष्टि परेपछि जागिरबाट हात धुनुपरेको न्यायाधीशको एउटा परिवार राजधानीमा टिक्नै नदिइएपछि उत्तरी–पश्चिमी प्रान्त बत्तामबाङमा बसाइँ स¥यो । सोही परिवारमा सन् १९२० मा एउटी बालिकाको जन्म भयो, नाउँ राखियो– खिउ पोनरी । १२ वर्षपछि अर्की पुत्री जन्मिइन्, ‘खिउ थिरिथ’ । त्यसबेला देशभरि माध्यमिक विद्यालय एउटै मात्र थियो– लेसी सिसोवाथ । न्होमपेन्हको सो स्कुलमा कुलिन घरानाका छोराछोरी मात्र भर्ना हुन सक्थे । खिउ दिदीबहिनी त्यहीं पुगे । अधिकांश विद्यार्थी प्रगतिशील विचारप्रति आस्थावान थिए । प्रायः सबै फ्रान्सविरोधी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष सहभागी । सोही विद्यालयबाट खिउ पोनरीले सन् १९४० मा ग्य्राजुएट गरेर उच्च डिग्री हासिल गर्ने पहिलो कम्बोडियाइ महिला बनिन् । दुई वर्षपछि बाबुको निधन भयो ।

लगत्तै आमा क्रान्तिमा होमिइन् । सन् १९४९ मा खिउ दिदी–बहिनीलगायत धेरैले फ्रान्समा पढ्न छात्रवृत्ति पाए । त्यसरी गएका प्रायः सबै साम्राज्यवादीविरोधी बन्थे । सालोथ सार, इयाङ सेरीको साथै खिउ दिदीबहिनी पनि फ्रान्सिसी कम्युनिष्ट पार्टीको सदस्य बने । सालोथ सार र इयाङ सेरीले ‘माक्र्सवादी–लेनिनवादी अध्ययन मण्डल’ गठन गरेर कम्बोडियाबाट गएका सबैलाई सदस्य बनाए । सबैजना राजनीतिक गतिविधिमा सक्रिय भएपछि फ्रान्स सरकारले धेरैको छात्रवृत्ति रद्द गरिदियो । राजनीतिक दर्शन, गतिविधिमा सक्रिय हुने क्रममै खिउ पोनरी सालोथ सारसँग र खिउ थिरिथ इयाङ  सेरीसँग नजिकिए । त्यसबेला पोनरीको उमेर ३१ थियो भने सालोथ सार २३ को । थिरिथ र इयाङ त स्कुले समयमै प्रेमी–प्रेमिका थिए । पेरिसमा झन् नजिकिए र १९५१ मा त्यहीं बिहे गरे । त्यहाँ थिरिथले अंग्रेजी साहित्यकार सेक्सपियरबारे र पोनरीले खमेर भाषा पढ्ने गरेका थिए । सालोथ सार रेडियो इलेक्ट्रोनिक्स । एक समय युगोस्लाभियाको जाग्रेब सडक निर्माणमा श्रमिकको रुपमा काम पनि गरे ।

सन् १९५१ मा खिउ पोनरी र सन् १९५३ मा सालोथ सार स्वदेश फर्के । पोनरीले आफू पढेकै कलेजमा साहित्य विषय पढाउन थालिन् भने सालोथ सारले निजी कलेज चाम्रोन भिच्यामा फ्रान्सिसी भाषा, इतिहास, भूगोल र नागरिक शिक्षा । पोनरीले शिक्षिकाको रुपमा निकै प्रतिष्ठा कमाइन् । शिक्षक–विद्यार्थी–अभिभावक सबैले उनलाई निकै आदर गर्थे । सालोथ सारले भने पोलपोटको नाउँबाट क्रान्तिको नेतृत्व गर्न थालिसकेका थिए । पोनरी पनि कम्पुचियाइ कम्युनिष्ट पार्टीका लागि काम गर्थिन् तर खुलेर लागिनन् । सन् १९५६ को जुलाई १४ अर्थात् फ्रान्सिसी क्रान्तिकालमा भर्साइल दरबारमाथि आक्रमण भएको दिन पारेर दुवैले बिहे गरे । कम्बोडियामा त्यसताकाको समाजले बढी उमेरकी युवतीसँग बिहे गर्नेलाई मन पराउँदैनथ्यो किनभने पोनरी पोलपोटभन्दा ८ वर्ष जेठी थिइन् । त्यसमाथि पोनरी गहना, श्रृंगार गर्दैनथिइन् । चिनियाँ युवतीले जस्तो पुरानो ढंगको कपाल काटेर उस्तै कमिज–सुरुवाल लगाउँथिन् । धेरैले ‘लम्बु’ भन्थे । पछाडि–पछाडि पार्टीभित्रकैले पनि ‘कुमारी बूढी’ भनेर टिप्पणी गर्थे । किनकि बिहे गर्दै ३६ को भइसकेकी थिइन् भने कहिल्यै आमा बन्न सकिनन् ।

सन् १९६० मा पोलपोट जनक्रान्ति पार्टीको सचिव बने । त्यसबेलासम्म उनीहरू राजधानी न्होमपेन्हमै थिए तर सन् १९६३ मा सिंहानुक सरकारले क्रान्तिकारीहरुमाथि दमनचक्र चलायो । कम्युनिष्ट र बुद्धिजीवीहरू मुलाझैं काटिए । बाँकी सबैको पछाडि जासुसहरु लागे । केही सीप नलागेपछि पोलपोट, पोनरीलगायत सबै जंगलतर्फ भागे । खमेररुज (लाल खमेर) छापामार सेना गठन गरे । सन् १९६४ मै पोलपोटको नेतृत्वमा यो सेनाले सरकारविरुद्ध विद्रोह ग¥यो । सन् १९६७ मा पोनरी क्राते प्रान्तमा क्रियाशील थिइन् । बाइसाइकल चढेर गाउँ–गाउँ घुम्थिन् । कृषकलाई संगठित गर्थिन् । त्यसो त रात पार्टीकै नेता–कार्यकर्ताको घरमा बास बस्थिन् तर धेरै बोल्दैन थिइन् । कुनै सूचना चुहाउँदैनथिइन् । पछि पोलपोटको भान्छे बनेकी योङ मोयन भन्छिन्, ‘साह्रै नम्र, दयालु र मिजासिलो थिइन् । धेरै पढेलेखेको भए पनि कुनै घमण्ड थिएन । उनको कुरामा किसानहरु चाँडै विश्वास गर्थे । मलाई भन्थिन्– सतर्क भएर आन्दोलनमा लाग, गोप्य कुरो कहिल्यै नचुहाऊ ।’

खमेर रुजलाई चीन पक्षधर बनाइएका कारण सोभियत संघ पोलपोटप्रति रुष्ट थियो तर भियतनाममा हो चि मिन्ह रहेसम्म सोभियत संघको केही लागेन । यसबीच सन् १९६९ मा हो चि मिन्हको निधन भयो । भियतनामको सम्बन्ध चीनसँग बिग्रियो । पोलपोटलाई मार्ने षड्यन्त्र भयो । पटक–पटकको हत्या प्रयासले पोनरीको दिमाग खल्बलियो । लोग्नेसँगै आफूलाई भियतनामीहरुले मार्न आएको डरलाग्दो सपना देख्न थालिन् । पोलपोटले पत्नीको बिग्रँदै गएको मानसिक स्थिति सुधार्न चीन पठाए । तैपनि स्वास्थ्यमा सुधार आएन । क्रान्तिको सुप्रिम कमाण्डर पोलपोट सन् १९७० मा क्राते पुगे । गाउँले भेलामा जब पोनरी सँगै बस्न गइन्, तब मात्र सबैले दुवै पति–पत्नी हुन् भन्ने थाहा पाए । एकदिन त्यहीं एकजना छापामारले पिउने पानीको गिलास पोलपोटअगाडिको टेबुलमा राखिदिए । पोलपोटले पानी पिउन गिलास के छोएका थिए, पोनरी ‘यो पानी नपिउनू किनकि यसमा भियतनामीहरुले विष मिलाएका छन्’ भनी चिच्याइन् । पोलपोटले ‘त्यस्तो केही हैन’ भने तर पोनरीले पिउन दिइनन् । क्रातेकी किसान योङ मोयन लेख्छिन्, ‘पोनरी पोलपोटलाई र पोलपोट पोनरीलाई औधी प्रेम गर्थे । यहाँसम्म कि पोनरीको मानसिक स्थिति निकै बिग्रँदासम्म पनि उनले कहिल्यै लोग्नेलाई अपशब्द प्रयोग गरिनन् ।’ भियतनामीहरुको भयबाट त्रस्त उनी सधैं सोध्थिन्, ‘सालोथ सार कहाँ छन् ?’ एकदिन पोलपोट र उनी भियतनामको भूमि भएर चीन गए । लोग्नेको हत्या हुन्छ कि भन्ने डरले रोग झनै बल्झियो । यसको बाबजुद पोलपोटले पत्नीलाई सन् १९७२ मा महिला संगठनको शिक्षा र प्रचार विभाग प्रमुख बनाइदिए ।

योङ मोयन उनकै साथमा खट्थिन् । अर्को वर्ष पोनरी मध्यप्रान्त काम्पोङ थोमको पार्टी सचिव बनिन् । स्वास्थ्य समस्याको बाबजुद काम्पोङदेखि प्रिच बिहारसम्मको यात्रा गरिन् । तीन वर्ष लगाएर पूरै देश घुमिन् । दिनभरिको यात्रापछि जब राति बासस्थानमा पुग्थिन्, दिनभरिको रिपोर्टिङ जनताको जीवनस्तर, शिक्षा र क्रान्तिको विकासको कुरा सीधै पोलपोटलाई सुनाउँथिन् । तर, सन् १९७५ मा जब खमेर रुजले सत्ता कब्जा ग¥यो, त्यसबेलासम्ममा उनको मानसिक सन्तुलन करिब–करिब गुम्ने स्थितिमा पुगिसकेको थियो । त्यसैको कारण पोलपोट प्रधानमन्त्री, इयाङ सेरी र सोन सेन उपप्रधानमन्त्री तथा बहिनी खिउ थिरिथ समाजकल्याणमन्त्री बने, उनलाई महिला संगठनको अध्यक्ष मात्र बनाइयो । किनभने त्यसबेलासम्ममा सत्य के हो छुट्याउन नसकिने एक खालको मानसिक रोग ‘स्चिजोफ्रेनिया’ ले छोएको पत्ता लागिसकेको थियो ।

पोलपोटले ३ वर्ष ८ महिना २० दिन सरकार चलाए । पोलपोटहरु चीनसमर्थक भएकाले सोभियत संघ चिढिएको थियो । भियतनाममार्फत खमेर रुजका केही नेतालाई आफूतिर तान्न सफल भयो । हेंग सामरिन र हुनसेनले रुस र भियतनामले पठाएको सैनिक सामग्रीको आडमा सन् १९७८ मा पोलपोटविरुद्ध ‘कू’ गरे । विद्रोह असफल भएपछि दुवै भियतनामतर्फ भागे । हेंगले भियतनाममै युनाइटेड फ्रन्ट फर नेशनल साल्भेसन गठन गरे । कम्बोडिया र भियतनामबीच पटक–पटक युद्धसमेत भयो । यसबीच सन् १९७८ को डिसेम्बर २५ मा लाखौं भियतनामी सेना कम्बोडिया पस्यो । १३ दिनसम्म भिषण युद्ध भयो । अन्त्यमा सन् १९७९ को जनवरी ७ मा भियतनामी सेनाले राजधानी न्होमपेन्ह कब्जा ग¥यो । प्रधानमन्त्री पोलपोट र राष्ट्राध्यक्ष खिउ साम्फानहरु भागेर चीन पुगे । भियतनामले हेंग सामरिनको अध्यक्षतामा जनक्रान्तिकारी परिषद् गठन गर्न लगायो । सोभियत संघ र भियतनामले तत्कालै नयाँ सरकारलाई मान्यता प्रदान गरे । पोलपोट फेरि कम्बोडिया पसे । पुनः ४० हजार सेना संगठित गरी भियतनाम र कठपुतली हेंग सामरिन (पछि हुन सेन) सरकारविरुद्ध लडिरहे । स्मरणीय छ, सन् १९८९ मा बल्ल दुई लाख भियतनामी सेना कम्बोडियाबाट फर्केका हुन् ।

खमेर रुजको सरकार छउञ्जेल खिउ पोनरी पोलपोटकै नजिकनजिक बसिन् । सन् १९७८ मा ‘क्रान्तिको आमा’ घोषित भइसकेकी थिइन् तर जब भियतनामले आक्रमण ग¥यो, सुरक्षार्थ थाइल्याण्डको चुनबुरी प्रान्त लगियो । लोग्नेसँग भेट्न दिइएन किनभने पोलपोट पूर्णतः छापामार युद्धमा फर्किसकेका थिए । जंगलमा बस्थे । खमेर रुज पार्टीले पोलपोटको व्यस्ततामा कतैबाट खलल पुग्न नदिने निर्णय गरिसकेको थियो । त्यसो त क्रान्तिकी आमा घोषित भएलगत्तै पोनरी सार्वजनिक रुपमा देखा पर्न छाडेकी थिइन् । लगत्तै मानसिक रोगको उपचारार्थ बेइजिङ पनि लगिएको हो । स्वदेश फर्केपछि रोग झनै बल्झियो । त्यसबेलासम्म पोलपोट सत्तामै थिए, जब पत्नीको स्वास्थ्य नाजुक भएको सन्देश पाउँथे, तिनै योङ मोयनलाई हेरचाह गर्न पठाउँथे । योङ रातभर जाग्राम भएर पोनरीको हेरचाह गर्थिन् । पोनरी रातभरिमा दर्जनौंपटक ब्युँझन्थिन् । पोलपोट ननिदाइकन बस्न सक्दैनथे तर पोनरीको स्वास्थ्य नाजुक बनेको बेला ननिदाई रात काट्थे । पोनरी सुत्दासुत्दै अचानक उठ्थिन् र कराउँथिन्, ‘कमरेड, चाँडै उठ ! भियतनामी सेनाले घेर्न थाल्यो । हामीलाई मार्न उनीहरू अघि बढ्दैछन् ।’ कहिलेकाहीं योङलाई भन्थिन्, ‘भियतनामले हामी दुवै (पोलपोटसहित) लाई अलग्याउन षड्यन्त्र गर्दैछ ।’ रोगले नच्यापेको बेला सामान्य हुन्थिन्, घरको काम सामान्य तवरमै गर्थिन् । रोगको कारण टाउको दुख्थ्यो तर दुख्यो भन्दैनथिइन् । कोहीसँग नबोली बस्थिन् । न खान्थिन् न नुहाउँथिन्, न सुत्थिन् । रोगले च्याप्दै गएपछि पोलपोट निकै ‘डिस्टर्ब’ हुन थाले । पार्टीकै निर्देशनमा सन् १९७९ मा सम्बन्धबिच्छेद गरे ।

सन् १९८५ मा पोलपोट ६० वर्षको भए । कामको बोझले साह्रै थकित देखिन थालेपछि अन्य नेताहरुले अर्को बिहे गर्न सल्लाह दिए । ‘हुन्छ’ भन्ने जवाफ पाएपछि पार्टी र क्रान्तिप्रति प्रतिबद्ध दर्जनजति गाउँले युवतीमाझबाट दुलही छान्न लगाइयो । पोलपोटले २७ वर्षकी सोझी किसान युवती मिया सोमलाई छाने । मिया खमेर रुज हातहतियार ओसारपसार गर्ने काममा खटिएकी युवती थिइन् । बिहेपछि पति पोलपोटको खाना, औषधि र स्याहारसुसारमा ध्यान दिएर लागिन् । पोलपोटजस्ता ठूला नेतालाई लोग्ने पाएकोमा धन्य सम्झिन्थिन् । औधी माया गर्थिन् । सन् १९८६ मा पोलपोट पहिलोपटक बाबु बने । छोरी पाएर साह्रै खुशी भए । काखमा राखेर छोरी मिया सिथ उर्फ सार पात्चारालाई माया गर्थे । मिया सोम भन्छिन्, ‘पोलपोट सबै अर्थमा असल लोग्ने र असल बाबु थिए ।’ पात्चारा जंगलमै हुर्किइन् । बिजुली, इन्टरनेट केही नभएको काठे छाप्रोमा बस्थिन् । जंगलयुद्धमा लागेका बाउको कारण कहिले पहाडतिर त कहिले थाइ–कम्बोडिया सीमातर्फ बस्थिन् । हैजा र क्षयरोगको महामारी फैलिने जंगलमा रातदिन हिँडेर बसाइँ सर्थिन् । बासको स्थायी बन्दोबस्त नभएकाले पढाइको पनि कहिल्यै ठेगान भएन । हरेक स्कुलमा छद्मनामले भर्ना हुन्थिन् । पछिल्लो समय महिनौं दिन छापामारले लुटेको राष्ट्रसंघको जीप ल्याण्डक्रुजरमा बिताइन् । पोलपोटसँगै मिया सोम र पात्चाराको जीवन साह्रै कष्टकर थियो ।

यसबीच, खमेर रुजभित्र आन्तरिक संघर्ष चल्यो । पोलपोट प्रमुख जिम्मेवारीबाट हटिसकेका थिए तैपनि सन् १९९७ जुन १५ मा उनैको आदेशमा सेनाध्यक्ष सोनसेनलगायत परिवारका सबै सदस्य (१३ जना) को हत्या भयो । उनको हत्यापछि पार्टीको नेतृत्वपंक्ति पोलपोटदेखि सशंकित बन्यो । खमेर रुजको ब्रदर नं. ५ अथवा ‘कसाइ’ को नामले बद्नाम ता मोकले ब्रदर नं. १ पोलपोटलाई नजरबन्दमा राखिदिए । त्यसबेलादेखि पत्नी मिया र छोरी पात्चारासँगै थाइल्याण्डको दक्षिणी सीमानजिक आलोङ भेङस्थित तीनकोठे काठे छाप्रोमा दिन बित्न थाल्यो । क्षयरोगलगायत दर्जनौं रोगले ग्रस्त पोलपोट दिनहुँ भ्वाइस अफ अमेरिकाबाट प्रसारित समाचार सुन्थे । सन् १९९८ अप्रिल १५ को साँझ ८ बजे आफूलाई पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाइने समाचार सुनेर आत्तिए । जीवनभर भियतनामको भत्र्सना गरेका र भियतनामी कठपुतली हुनसेन सरकारसँग मिलेर काम गर्नुभन्दा मर्नु बेस भन्ने गरेका उनले हैजासँग लड्न कोठामै राखिएको दुई बोतल औषधि खाइदिए । यो कुरा कसैले थाहा पाएनन् । राति सुत्नुअगाडि झुल टाँग्न पत्नी मिया पलङमा उभिँदा लोग्नेले हलचल नगरेको देखिन् र सैन्यअधिकृत नोन नोउलाई खबर गरिन् । नोन आइपुग्दा १२ बजिसकेको थियो । उनले हेरेपछि पोलपोटको निधन भइसकेको जानकारी दिए । त्यसबखत त्यहाँ ४० वर्षीया मिया, १२ वर्षीया पात्चारा र पोलपोटको सबैभन्दा विश्वासिलो सहयोगी टेप कुनल मात्र थिए ।

निधनको ६ महिनापछि उनैको इच्छाअनुरुप टेप कुनलले मिया सोमसँग बिहे गरे । पात्चारालाई आफ्नै छोरीसरह पाले । सन् २००२ मा पात्चारालाई राम्रो हाइस्कुलमा भर्ना गरिदिए । खमेर रुजको शासनकालमा राष्ट्रसंघको लागि राजदूत बनेका, पछि हुनसेन सरकारसँग मिल्न पुगेका र हाल बाटाबाङ नगरस्थित व्यवस्थापन विश्वविद्यालयमा अर्थशास्त्रको अध्यापन गर्दै आएका ६४ वर्षीय कुनलले पात्चारालाई उच्च शिक्षाका लागि मलेसिया पठाए । पात्चाराले क्वालालम्पुरको विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्नेक्रममा त्यहीं अध्ययनरत कम्बोडियाइ छात्र सि भिचेकासँग प्रेम गरिन् । उनीहरुको बिहे पूर्व खमेर रुजको बलियो आधारक्षेत्र मालाइमा दुई वर्षअघि सन् २०१४ को मार्च १६ मा सम्पन्न भइसकेको छ । करोडपति सौतेनी बाबु कुनलले भोजमा धुलोसरह पैसा खर्च गरेका थिए । दुई दिनसम्म विदेशी रक्सीसहित भव्यभोजको आयोजना गरिएको थियो । फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा छाएकी पात्चारा आमासमेत बनिसकेकी छन् ।

उता मानसिक रोगले थला परेकी खिउ पोनरीले न लोग्नेले छाडेको थाहा पाइन् न दोस्रो बिहे गरेको, एउटी छोरीको बाउ बनेको वा मृत्यु भएको नै थाहा भयो । पोलपोटले सम्बन्धबिच्छेद गरेपछि स्याहारसुसार गर्न बहिनी खिउ थिरिथ र ज्वाईं इयाङ सेरीले आफ्नो घरमा लगेका थिए । पछिल्लो समय उनलाई विगतको कुनै घटना याद भएन, यहाँसम्म कि बहिनीबाहेक ज्वाईंलाई समेत चिन्न छाडिन् । बडो कष्टपूर्ण जीवन बिताएकी उनको निधन पोलपोट बितेको पाँच वर्षपछि ८३ वर्षको उमेर, सन् २००३ को जुलाई १ मा भयो ।


प्रतिक्रिया दिनुहोस !