कसले जोगाउने सीताको माइतीलाई ?

प्राचीन एवं धार्मिक नगरीमा एकीकृत शहरी विकास आयोजनाको काम ६ वर्ष पछि शुरु हुन लाग्दा पनि कछुवागति छ । जनकपुरको पिडारी चोकदेखि भानु चोकसम्म ढलको काममा ढिलाइ हुँदा सर्वसाधारणलाई समस्या छ ।

कतिपय ठाउँमा काम सुस्त मात्रै नभई गुणस्तरहीनसमेत पाइएको छ । ह्युम पाइप बिछ्याउँदा स्पेसिफिकेशनअनुसार भएको छैन् । पाइप ओछ्याउँदा कम्पेक्सन गर्नुपर्ने, (सेलेक्टेड स्वाइल) तल बेडमा हाल्नुपर्ने र २० सेमी बालुवा ओछ्याउनुपर्नेमा प्लेट मात्र हालेर पाइप राख्ने काम भइरहेको छ । यसरी ठेकेदारले कमसल काम गरेर ठूलो भ्रष्टाचार गरिरहेको बताइन्छ । परियोजना सञ्चालन गर्न ठेकेदारहरूले बाटो खन्ने गरेका कारण आवतजावतमा निकै समस्या झेल्नुपरेको छ । निर्माणको शिलान्यास गत वैशाखमा भए पनि त्यसपछि बर्खा शुरु भएकाले असार, साउन र भदौ गरी तीन महिनासम्म काम बन्द गरिएको थियो । असोजदेखि फेरि काम थालियो तर ठेकेदार कम्पनीले जति काम सकाउनुपर्ने हो त्योभन्दा धेरै पछाडि छ ।

०६६ सालमा जनकपुर नगरपालिकासँग सम्झौता गरी एडिबीद्वारा सडक सुधार, नालाको स्तरोन्नति तथा फोहोर व्यवस्थापनको निम्ति ८० प्रतिशत अनुदान र २० प्रतिशत ऋणमा दुई अर्ब सहयोग गरिएको थियो । परियोजनाअन्तर्गत एक अर्ब तीन करोडमा रोड तथा नाला स्तरोन्नतिको ठेक्का जेडआईसी र शर्मा भीजे कन्सट्रक्सनलाई दिइएको र उनीहरूको स्थानीय प्रतिनिधिका रूपमा कालिका रमण कन्सट्रक्सनमार्फत काम भइरहेको छ । दुई वर्षको सम्झौता अवधिमध्ये करिब साढे ८ महिना बितिसक्दा मात्र साढे ३ किलोमिटर नालाको पाइप लगाइएको डिजाइन सुपरभिजन कन्सल्टेन्ट टोलीका प्रमुख बद्रीनाथ झाले बताए ।

दुई वर्षभित्र ३१ किलोमिटर पाइप लगाउनुपर्ने सम्झौता भएको हो तर ठेकेदारको ढिलासुस्तीले गर्दा काम समयमा हुने हो वा होइन भन्ने आशंका उत्पन्न भएको छ । ठेकेदार कम्पनीले हालसम्म व्यवस्थापन रकमबापत १२ करोड ८१ लाख एडभान्स र ७ करोड ५० लाखको बिल भुक्तानीसहित २० करोडभन्दा बढी रकम पाइसकेको छ । यति मात्र नभई रमण कन्स्ट्रक्सनले जिम्मा लिएको जनकपुर रेल्वेको जयनगरदेखि बर्दिवाससम्मको ट्र्याकको काम पनि सुस्त गतिमा अगाडि बढाएकाले समयमा पूरा नहुने भएको छ । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम पेटी कन्ट्याक्टमा लिएर विकासको काममा बाधा पु¥याएको स्थानीयको आरोप छ । आफूलाई उत्कृष्ट कम्पनी बताउने रमण कन्सट्रक्सनले भुक्तानी उठाएर काम भने ढिलो गर्दै आएको छ ।

– रमेश काफ्ले

टिप्पणीहरू