काठमाडौंंलाई हर्जाना तिराइनुपर्छ

  • डा. अच्युत अर्याल

००७ सालपछि काठमाडौंंले काँठमाथि अन्याय सुरु गरेको हो । राजनीतिक दलले तिनका कार्यक्रम गर्न र आफू लुक्न काँठलाई प्रयोग गरे, अनि आफ्नो हातमा सत्ता आएपछि उल्टै दोहन गरे । पटक–पटक सत्तामा पुगेर काठमाडौंंकै पक्षमा काम गरे । निर्णय गरे । काँठलाई बेवास्ता गरे । काँठको पानी अन्यायपूर्वक काठमाडौंंले प्रयोग गरेको छ । यसको हर्जाना जरुरी छ । काठमाडौंंको काँठ क्षेत्र भौगोलिक रूपमा अग्लो छ भने उपत्यका होंचो । सिद्धान्ततः पानी होचो भागमा बग्छ । हाल उपत्यकामा घरैपिच्छे इनार, ट्युबवेल र बोरिङ खनिएको छ । जसकारण अग्लो भूभागको जमिनमुनिको प्राकृतिक पानी सुकेको छ, जहाँ सम्पूर्ण काँठबासी आफ्नो जीविका चलाउँछन्, अब त्यो ठाउँ सुख्खाग्रस्त भएको छ । यसरी काँठ क्षेत्रको जीवनमा गम्भीर संकट उत्पन्न भएको छ ।

काठमाडौंंको हरघरका धारामा काँठ क्षेत्रको पानी लगिएको छ । जमिनमुनिको पानी काठमाडौंंलाई अनि जमिनमाथि बगेको पानी पनि काठमाडौंंलाई ! त्यो पनि त्यसै । यो अन्याय हो । फर्पिङ, सुन्दरीजल, गोदावरी, बाग्मती, विष्णुमती, मेलम्ची आदि आयोजना काँठमै बसोस् ।

ट्यांकरबाट समेत काँठको करोडांै लिटर पानी काठमाडौंं लगिने हुँदा प्रत्येक ट्यांकरको ढुवानीलाई हर्जाना तिराइनुपर्छ । बाग्मती र विष्णुमती काठमाडौंंभित्र मात्र बग्दैन । यसको ठूलो हिस्सा काँठमा पर्छ । काठमाडौंंका कारण काँठ क्षेत्रको यो नदी संकटग्रस्त भएको छ भने नदी किनारा आश्रित स्थानीय जनताले पीडा खेप्नुपरेको छ । कहिले उच्च बाढीको मार त कहिले सुख्खा । फोहोर र दुर्गन्धले यहाँको जैविकता नष्ट पारेको छ भने जनताको स्वास्थ्यमा गम्भीर असर पारेको छ । त्यसकारण काठमाडौंंका हरेक बाथरुमलाई जरिवाना गरिनुपर्छ । हरेक ट्वाइलेटलाई जरिवाना गरिनुपर्छ । हरेक घरबाट निस्कने ढललाई जरिवाना गरिनुपर्छ ।

काठमाडौंंका कारण काँठ क्षेत्रको हावा अत्यन्तै दूषित बनेको छ । अक्सिजनको मात्रा घट्दो छ । जसको प्रत्यक्ष असर काँठका जनतालाई परेको छ, काँठको प्रकृतिलाई परेको छ, काठको कृषिमा परेको छ, काँठको जैविकतामा परेको छ । तर, यसमा काँठबासीको कुनै दोष छैन । काठमाडौंंको दुषित हावा बहेर काँठक्षेत्र पुग्दा स्थानीयको स्वास्थ्यमा गम्भीर असर पुगेको हो । काँठमा ध्वनि अतिक्रमण भएको छ र यसको कारण काठमाडौंं हो ।

हाल त्रिभुवन विमानस्थलमा दैनिक सयौं कम्पनीका विमानले उडान भर्छन् । अवतरण र उडान भर्दा काँठ क्षेत्रको आकाश प्रयोग गरिएको छ । रात–बिहान चर्को ध्वनि प्रदूषणको मार परेको छ । आफूले उपभोग नै नगरेको विषयबाट यसरी सास्ती पाउनु अन्याय हो । त्यसकारण हरेक हवाई उडानलाई जरिवाना गरिनुपर्छ । जहाजमा प्रयोग गरिने विविध उपकरणका कारण उत्पन्न विकिरण आदिले समेत काँठ क्षेत्रको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा त्यसको हिसाब–किताबसहित आन्तरिक तथा बाह्य उडानलाई जरिवाना गरिनुपर्छ ।

काठमाडौंं जोड्ने राजमार्गमा अनगिन्ती सवारीसाधन गुड्छन् । जसले काँठ क्षेत्रमा ध्वनि प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण आदि गरेको छ भने यस क्षेत्रको सुरक्षामा समेत गम्भीर असर पारेको छ । विभिन्न खाले मानिसको आवत–जावतका कारण यो क्षेत्रको साँस्कृतिक मूल्य–मान्यतामा समेत गम्भीर असर परेको छ । राजमार्गका कारण पहिरोको जोखिम छ भने जनघनत्वका कारण जैविकतामा गम्भीर असर परेको छ ।

काठमाडौंंमा प्रयोग हुने सञ्चारका संरचना, टिभी, रेडियो, मोबाइल, दूरसञ्चार, इन्टरनेट, स्याटेलाइट, प्रविधि आदिले अदृश्य रूपमा काँठका जनताको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ । जसकारण काँठ क्षेत्रमा साँस्कृतिक प्रदूषणसमेत फैलिएको छ । टावरका लागि काँठको जमिन प्रयोग भएको छ । जमिनमुनि फाइबर बिच्छ्याइएको छ, यसको असर पनि छ । काठमाडौंंमा प्रयोग गरिएको सञ्चार तरंगले गर्दा काँठक्षेत्रको स्पेस पूरै दूषित भएको छ । अस्वस्थ भएको छ । हाई भोल्टेज तार काँठका जमिनलाई धराप पार्दै, बस्ती माथि–माथि टाँगेर भिœयाइएको छ । तार टाँगिएका विशाल खम्बाका कारण पहिरोको जोखिम छ भने हाई भोल्ट करेन्ट बस्तीमाथि बग्ने हुँदा स्वास्थ्य तथा सुरक्षामा असर परेको छ । हजारौं रोपनी जमिन बाँझो बसेको छ ।  काठमाडौंंमा प्रयोग हुने हरेक इन्धनका कारण निस्कने दूषित हावा नजिकैको काँठ क्षेत्रमा पुग्छ, जसको असर त्यहाँको जीवन र जैविकतामा पर्छ । त्यसकारण यस्ता हरेक इन्धनका साधन जस्तै ः ग्यास चुलो, स्टोभ, हिटर, पानी तान्ने पम्प, इलेक्ट्रिक उपकरण आदिमा जरिवाना लगाइनुपर्छ । यही न्याय हो ।

काठमाडौंंमा बस्ने हरेक मानिसले प्रयोग गर्ने केमिकलका कारण काँठ क्षेत्रको जनस्वास्थ्यलाई असर परेको छ । सिमेन्ट, रंगदेखि अन्य सौन्दर्यका सामग्री आदिमा प्रयोग हुने केमिकल खतरनाक सावित भएको छ । त्यसकारण हरेक सिमेन्टको बोरामा जरिवाना लगाइनुपर्छ । हरेक रंगका डब्बालाई जरिवाना लगाइनुपर्छ । काठमाडौंंका कारण काँठ क्षेत्र खतरनाक किरणले आक्रान्त छ । अस्पतालमा प्रयोग हुने अनगिन्ति एक्सरे, भिडियो एक्सरे, पारो, तथा अन्य बिबिध उपकरण जस्तै फ्रिज, रेफ्रिजेरेटर आदिका तथा अन्य थुप्रै उपकरणबाट एक्कैपटक ठूलो मात्रामा निस्कने खतरनाक किरणहरूका कारण काँठको जीवनलाई असर परेको छ । जसको हिसाबकिताब हुनुपर्छ । यसरी काठमाडौंंले काँठ क्षेत्रको शारीरिक र मानसिक जनस्वास्थ्यमा बिबिध कारणले असर पारेको छ । शिशु, बालबालिका, महिला, पुरुष, वृद्ध सबै काठमाडौंंको ज्यादतिको शिकार भएका छन् । गम्भीर प्रकारका रोगको शिकार भएका छन् । त्यसकारण हरेक काँठ क्षेत्रका बिरामीको उपचार काठमाडौंंले गर्नुपर्छ । यो जिम्मेवारी काठमाडौंंको हो ।
 
काठमाडांैले काँठको प्रकृति र प्राकृतिक स्रोत–साधनको दोहन गरेको छ । काँठक्षेत्रको माटो, गिट्टी, बालुवा, ढुङ्गा दोहन तीव्र छ । जसले काँठ क्षेत्रको भौगोलिक, जैविक, वातावरणीय सन्तुलन, पक्ष तथा जनस्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ ।  काँठबासीको अनुमति बिना हाईकिङ्ग, वाकिङ्ग, डे–आउट, फेमिली पिकनिक आदिका नाममा काँठको प्रकृतिको शोषण भैरहेको छ । जसले यस क्षेत्रको वातावरणमा असर पारेको छ । काठमाडौंंका कारण काँठको कृषि प्रभावित छ । उपत्यकाबाट उडेर आउने विषालु पदार्थले स्थानीय कृषि उपजमा नकारात्मक असर परेको छ । बाली फल्न छाडेको छ । फसल कम छ ।

उपत्यकामा बढ्दै गएको जनघनत्वका कारण काँठको जंगललाई असर परेको छ । बिबिध बहानामा जंगल नष्ट हुँदै छ । जसको असर बनमा आश्रित जीव, जनावर साथै जैविकतालाई परेको छ । सुक्खा कारण जंगल मर्दै छ । काँठबासीका जमिन अतिक्रमणमा परेका छन् । रिसोर्ट तथा होटलको नाममा अतिक्रमण भएको छ । मनोरञ्जनका लागि भन्दै बनेका पार्क, पिकनिक स्पोर्ट, हाइकिङ ट्रेल, केबुलकार, आदिमार्फत अतिक्रमण भएको छ । बिशाल–बिशाल गुम्बा, मन्दिर, चर्च आदिमार्फत अतिक्रमण भएको छ । काठमाडौंंको फोहोर काँठ्मा फाल्ने गरिएको छ । यसले काँठ क्षेत्रको सम्पूर्ण जीवनमा असर पारेको छ । त्यसकारण फोहोर गर्ने र फाल्ने काठमाडौंंका प्रत्येक घरलाई जरिवाना गराइनुपर्छ । हर्जाना तिराईनुपर्छ ।

जरिवाना लगाउन सकिने क्षेत्र (अनुमानित): घरधुरी– ५,००,०००, इनार, ट्युबवेल र बोरिङ– ७०,००००, ट्वाइलेट र बाथरुम– ७०००००, सवारीसाधन– १०,००,०००, ग्यास सिलिण्डर– १०,००,०००, खानेपानीको धारा– १,००,०००, सञ्चारका उपकरण– १०,००,०००, फोहोर फाल्ने परिवार– ५,००,०००, बिजुली मिटर– ५,००,०००, जेनेरेटर– ५,००,०००, रेफ्रिजेरेटर– ५,००,०००, एसी– २०,००० । एउटा कोष खडा हुन्छ । जहाँ सम्पूर्ण जरिवाना गरिएको रकम जम्मा हुन्छ । उक्त कोषको व्यवस्थापन तथा परिचालन काँठबासीका प्रतिनिधिले गर्छन् । बहुराष्ट्रिय कम्पनी सबै फोहोरी हुन् । राष्ट्रिय कम्पनी फोहोरी हुन् । स्थानीय कम्पनी फोहोरी हुन् ।

वन, जंगल, कुलेसा, खोल्सा–खोल्सी, पाखा, डाँडा, नदी–नाला, पार्क, बाटो, राजमार्ग, तलाउ आदि कुनै ठाउँ बाँकी नराखी फोहोर गर्ने यिनै हुन् । एकपटक ती स्थानमा गएर हेरौं त यिनकै उत्पादनका खोल, बोतल आदिले विकृत भएका छन् कि छैनन् हाम्रा प्राकृतिक स्थान ? हाम्रा गाउँ ? हाम्रा शहर ? हाम्रा सुन्दर जमिन ? हाम्रो पवित्र माटो ? यिनै कम्पनीको दायित्व हो यो । यिनले टिप्नुपर्छ आफ्नो उत्पादनका फोहोर । जसरी बेच्न जानिएको छ, ठीक त्यसैगरी । जसरी नाफा लिन जानिएको छ, ठीक त्यसैगरी ।

जसरी दूर दराजका बजारमा उत्पादन पु¥याउन जानिएको छ, ठीक त्यसैगरी । टिप्न आएन कम्पनी भने स्थानीय स्तरमा त्यो कम्पनीका उत्पादन बिक्रीलाई प्रतिबन्ध लगाउनुपर्छ । यदि, सफाइप्रति ध्यान नदिए त्यो कम्पनीको उत्पादन बिक्रीमा रोक लगाउनुपर्छ । त्यो कम्पनीलाई बहिष्कार गर्नुपर्छ । समाज र प्रकृतिप्रति गैरजिम्मेवार कम्पनी र उत्पादनलाई कुनै पनि हालतमा स्वच्छन्द अर्थात्  छाडा छाड्नु हुँदैन । यसरी जसले फोहोर गरेको छ उसैले त्यसलाई सकार्नु न्याय हो । जसले फोहोर गरेको छ उसैले त्यसलाई सफा गर्नु न्याय हो ।

टिप्पणीहरू