प्रभुको घरमा महिलाको पल्टन

प्रभुको घरमा महिलाको पल्टन

‘मलाई प्रचण्डका मान्छेहरुले मार्न लागेको छ । छिटो आइदिनुस्’, पूर्वमन्त्री प्रभु साहले आइतबार बिहान आत्तिँदै तीनकुने, बानेश्वर प्रहरीका डिएसपी मीनबहादुर लामालाई यसरी फोन गरेपछि आधा किलोमिटरको दूरीमा रहेको उनको घरमा नपुग्ने कुरै थिएन । तर, प्रहरीहरु त्यतिबेला छक्क परे, जब उनको घरलाई महिलाहरुले घेरेका थिए, बिना हातहतियार ।

‘जयनारी’ का नामले चिनिने सावित्री सुवेदी र केही युट्युबर कराउँदै थिए, ‘अर्काको पैसा खाएर नफर्काउने ? लाज छैन ?’ वास्तविक कारण थियो, ०७४ को स्थानीय निर्वाचनअघि प्रभुले लिएको चुनाव खर्च फिर्ता नगरेको । बाँसबारीकी दीपा केसी कुँवरको घरमै गएर पैसा लिएका उनले मन्त्री भएपछि तिर्ने वचन दिएका थिए । तर, मन्त्री नियुक्त भएको एक हप्तापछि मन्त्रालय पुगेर पैसा फिर्ता माग्दा ‘विस्तारै दिन्छु’ भनेका प्रभुले त्यसदिन उनै दीपालाई ‘चिन्दिनँ’ भनिदिएपछि महिलाहरु घर घेर्न पुगेका हुन् ।

वास्तविकता बुझेपछि प्रहरीले महिलाहरुलाई पूर्वमन्त्रीविरुद्ध ठगीमा जाहेरी दिन भन्यो र उनीहरु त्यहाँबाट तीनकुने प्रहरी बृत्त पुगे । प्रभुले पैसा दिन आनाकानी गरेपछि महिलाहरुले उनकी पत्नी तथा रौतहटस्थित मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारीलाई फोन गरे । उनले पनि ‘मेरो सरले त्यस्तो गर्नै सक्नुहुन्नँ’ भन्दै फोन काटिन् । त्यसपछि त्यहाँ पुगेका महिलाले प्रभुको मुखमा कालोमोसो दल्न खोज्दै थिए तर प्रहरीले रोक्यो ।

प्रभुले ०७४ सालमा दिनेश नामक आफ्ना सहयोगीसँगै दीपाको घरमा पुगेर पैसा लिएका छन् । प्रहरीमा दिइएको जाहेरीमा ९८४१३९७३३१ नम्बरको मोबाइल चलाउने साक्षी दिनेशलाई सोधखोज गर्दा पनि पैसा लिएको प्रमाणित हुने व्यहोरा उल्लेख छ । दीपाले आफूबाट १० लाख ३० हजार रुपैयाँ लगेको उल्लेख गरेकी छन् ।

प्रभु गत फागुनमा सहरी विकास मन्त्री हुनासाथ सचिव रमेश सिंहमार्फत दीपाले प्रभुलाई भेटेकी थिइन् । सचिव सिंह र दीपा बाँसबारीका छिमेकी हुन् । दीपाले मन्त्रालयमै होहल्ला गर्न थालेपछि सचिव सिंहले पैसा फर्काउने कुरामा आफू जिम्मा भएको भन्दै फर्काइदिएका थिए । तर, प्रभुले पैसा दिन आनाकानी गरे । मन्त्रीबाट हटेपछि दीपाले धेरैपटक फोन गरिन् तर उठेन ।

टिप्पणीहरू