फुट कोरोनाभन्दा डरलाग्दो रोग हो कमरेड !
-केशव थापा
प्रतिनिधिसभा विघटन दोस्रो संस्करणसम्बन्धी बहस समाप्त भएको छ । राजनीतिक दलहरु,सर्वसाधरण जनता र अन्तर्राष्ट्रिय जगत सबै संविधानको धारा ७६ (५) लगायतका विभिन्न उपधाराहरुको सुस्पष्ट व्याख्यासहितको फैसलाको व्यग्र प्रतिक्षामा छन् । व्याख्याको क्रममा सम्मानित अदालतले सरकार गठनको सुल्टोमार्ग के हो सो पनि देखाई दिनुपर्ने भएको छ । राष्ट्रिय एकताको प्रवर्धन,संविधानको पालना र संरक्षणको सिलसिलामा राष्ट्रपति संस्थाको गरिमा खण्डित नहुने गरी ऐजन मौकामा राष्ट्रपतिले उठाउनुपर्ने सम्भावित कदमतर्फ पनि संकेतको आवश्यकता देखिन्छ ।
राजनीतिक स्थायित्वसहितको आर्थिक सम्बृध्दिको पक्षमा जनतासँग मत मागेको नेकपा आन्तरिक विवादको समाधान गर्न नसकेर छिन्नभिन्न हुने अवस्थामा पुग्यो । आफ्नो केही हिस्सा धुम्बाराहीलाई छाडेर नेकपा माओवादी केन्द्र अदालतको फैसलाको सम्मान गर्दै पेरिसडाँडातर्फ लाग्यो । क.प्रचण्डसँगै रहेका नेकपा एमालेका केही नेताहरु पनि धुम्बाराही नै जाने अभिप्रायकासाथ अमिलो मन लिएर पेरिसडाँडाबाट बिदा भए ।
धुम्बाराहीमा अखडा जमाएर बसेकाले पेरिसडाँडाबाट निस्केर आएकालाई खुला दिलले स्वागत गर्न सकेनन् ।
इमान्दारितापूर्वक अलि प्रयत्न गरेका भए पार्टीभित्रै सहजै मिलाउन सकिने किचलो उकुच पल्टेर अहिले पार्टीविनाशक क्यान्सर बनिसकेको छ । एकातर्फ सत्तादम्भ र अर्कातर्फ ‘बहुमत’ को अहंकारले हिजो न्यूनतम शिष्टाचारसमेत भुलेर एक अर्कोलाई तल्लो तहमा उत्रिई सत्तोसराप गरेकाले धुम्बाराहीमा अखडा जमाएर बसेकाले पेरिसडाँडाबाट निस्केर आएकालाई खुला दिलले स्वागत गर्न सकेनन् । अनेक बहानाबाजीमा अल्झाउने मात्र काम भयो ।
धुम्बाराही गन्तव्य बनाएर आउनेहरु पनि आफ्नोसमेत पौरखले आर्जेको साझाघर भनेर छाति फर्काई सरासर त्यसतर्फ लम्कन सकेनन् । र,फर्कनका लागि शर्तका फेहरिस्त तयार गर्न तल्लिन रहे । नेताहरुबीचको बेमेल अब मेलमा परिणत हुने भयो,एमाले एमाले नै रहने भयो भन्ने आशाले खुशी भएका कार्यकर्ताहरु दिनदिनै थप निरास हुनुपर्ने दुर्भाग्यपूर्ण अवस्था उत्पन्न हुँदै गयो ।
धुम्बाराही गन्तव्य बनाएर आउनेहरु पनि आफ्नोसमेत पौरखले आर्जेको साझाघर भनेर छाति फर्काई सरासर त्यसतर्फ लम्कन सकेनन् ।
कम्युनिष्ट पार्टी असंख्य नेता, कार्यकर्ताको बलिदानले स्थापित भएको बहत्तर वर्षभन्दा बढीको लामो इतिहास भएको गौरवशाली साझा दल हो । खास नेताहरुको तुष्टि पूरा गर्ने क्लब होइन । तर,अहिले नेकपा एमालेका नेताहरुले दर्शाएको व्यवहारले पार्टीको साख र गरिमा क्रमशः क्षयीकरण हुँदो क्रममा छ । र,पार्टी कम र क्लब बढी प्रतित हुँदैछ । बेला टर्न आँटिसकेकोले कम्युनिष्ट आन्दोलनलाई निस्वार्थ माया गर्ने कार्यकर्ताहरुले अब नेताहरुलाई सोध्नुपर्छ, ‘यो कसको र कस्तो पार्टी हो’ भनेर । हिम्मत गर्नुपर्छ खबरदारी गर्न, ‘अब पुग्यो अति नगर्नुहोस्’ भनेर । व्यक्तिगत रिसइबी र चरम अहङ्कारले भरिएका नेताहरुलाई भन्न सक्नुपर्छ, ‘तपाँईहरु मिल्नै नसक्ने हो भने पार्टीलाई नेतृत्व गर्ने नैतिक हक पनि राख्नुहुन्न’ ।
हामीलाई पार्टी विभाजन किञ्चित स्वीकार छैन र यहाँहरुले कसैगरी नमिल्ने कसम कतै खानु भएको छ भने कृपया, ‘सम्मानजनक बिदाई रोजेर सल्लाहकार भएर पछिल्लो पुस्तालाई मार्गनिर्देश गरेर आरामले बस्नुहोस्’ भन्न हिच्किचाउनु हुन्न । केही नेताको अहंतुष्टिको लागि पार्टीलाई बन्धक बनाई राख्नु हुँदैन । बनाइयो भने बाँकी अन्य नेताहरुको नामर्दीपना पनि छताछुल्ल भएर नेपालीजनले अब कम्युनिष्टलाई नपत्याउने अवस्था आउनेछ ।
यो पार्टी यहाँहरुकै मात्रै बिर्ता हो कि अलिकति हाम्रो पनि हक लाग्ने साझाघर हो ? भनेर सोध्नैपर्छ ।
कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कुनै नेता विशेष होइन नीति/सिध्दान्त,देश र जनताप्रति उत्तरदायी सशक्त एकीकृतदल प्रिय लाग्नुपर्छ । सकारात्मक वामपन्थी आन्दोलनको सतत निरन्तरताको अघिल्तिर नेता केही समयका अभ्यागत मात्र हुन् भन्ने सत्यबुझी असार २८ गते अगावै पार्टी एकताको लागि देशभर उभार सिर्जना गर्ने र नेतृत्वलाई मिल्न सशक्त दवाब दिनुपर्छ ।
मूल्यमान्यतासहित आन्दोलन बचाउन सकियो भने कुनै बिहान आवश्यक परे देश र जनताको लागि पद,प्रतिष्ठा हैन जीवन नै अर्पिन सक्ने क. मदनकुमार भण्डारी,क. मनमोहन अधिकारीजस्ता असल नेताको उदय हुने सम्भावना रहन्छ । पछिल्लो पुस्ताको कम्युनिष्ट आन्दोलनप्रतिको आकर्षण पनि बरकरार रहनेछ । तसर्थ,कम्युनिष्ट आन्दोलनलाई माया गर्ने सबै नेता,कार्यकर्ताले नेताको पछि बसेर ‘हो हजुर’ भन्दै झिँगा धपाउन छाडी पार्टी कमिटीको बैठक वा नेताहरुको निवासमा नै पुगेर भए पनि उचित अदबकासाथ नेताको अघिल्तिर ठाँटले उभिएर यो पार्टी यहाँहरुकै मात्रै बिर्ता हो कि अलिकति हाम्रो पनि हक लाग्ने साझाघर हो ? भनेर सोध्नैपर्छ । यति पनि हिम्मत जुट्दैन भने भावी दिनमा नेतृत्व लिने र शीर्षस्थ नेता बन्ने ख्वाब छाडेर सक्षमका लागि अहिले नै स्थान खालि गरिदिन सक्नुपर्छ । ठाउँमात्र ओगटेर बस्नु हुँदैन ।
‘पेरिसडाँडाबाट भित्र्याएकाले अनेक बखेडा झिकेकाले सरकारले चाहेजस्तो काम गर्न पाएन । पार्टीमा पनि समस्या आयो भनियो । अहिले उनीहरु छैनन् र पनि भाँडभैलो रत्तिभर कम भएको छैन ।‘
विषय उठान भएको कैयन दशकपछि संविधानसभाले अनेकानेक सम्भावनाहरुको पूर्वानुमानकासाथ बुध्दिमत्तापूर्णतवरले बनाएको देशको मूल कानुन ‘संविधान’ नेताहरुको बेमेलको कारणले असहाय बन्न पुगेको छ । संविधानको स्वामित्व लिनुपर्नेहरुको अपरिपक्व व्यवहारले संविधान घोषणा हुँदा बत्ती निभाउनेहरु र विदेशीभूमिको आश्रय लिएर नेपालतर्फ ढुङ्गा हान्नेहरु अहिले नेपाली जनतालाई संविधानवादको प्रवचन दिन थालेका छन् । पुग नपुग दुई दर्जन पनि प्रतिनिधिसभाको सदस्य नभएकाहरु ठूला भनिने दलहरुलाई आफ्नो अघिपछि फेरो लाउने बनाउन सफल भएका छन् । उनीहरुको निमित्त यो सफलता भए पनि नेकपा एमालेको निमित्त लाजमर्दो अवस्था हो ।
नेताहरुको बेमेलको पराकम्पले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महत्वपूर्ण खम्बामध्येको प्रदेश सरकारहरु डोलायमान छन् । स्थानीय तहमा पनि प्रतिपक्षीको व्यवस्था रहेको भए ती पनि यस्तै अकर्मण्यताले थङ्थिलो हुने थिए । र,नेपाली जनताले धिक्कार राजनीति,धिक्कार नेता भनेर थक्थकाउनुपर्ने अवस्था आउने थियो ।
पार्टी पार्टी जस्तो भइरहेको छैन है भनेर जिज्ञासा राख्दा हिजो पेरिसडाँडाबाट भित्र्याएकाले अनेक बखेडा झिकेकाले सरकारले चाहेजस्तो काम गर्न पाएन । पार्टीमा पनि समस्या आयो भनियो । अहिले उनीहरु छैनन् र पनि भाँडभैलो रत्तिभर कम भएको छैन । ‘पार्टी एकता’ भन्दा अघिसम्म चुस्तदुरुस्त रहेको पार्टी अहिले जीर्ण अवस्थामा पुगेको छ । यो अप्रिय अवस्था मध्यवर्ती नेता तथा कार्यकर्ताहरुको कारणले नभएर सिर्फ शीर्षस्थ भनिएका नेताहरुकै कारणले आएको हो ।
पराईलाई आफ्नो र आफ्नोलाई घचेटीघचेटी पराई बनाउने ताजुबलाग्दो नाटक मञ्चन भइरहेछ नेकपा एमालेमा ।
जिम्मेवार र दूरदर्शी नेताले आफ्नो अहंको जीतको लागि देश,जनता र निर्दोष कार्यकर्तालाई दाउमा लाउन सुहाउँदैन । बरु,निर्मम आत्म–मूल्याङ्कन गरेर अघि बढ्ने कोशिस गर्नुपर्छ । बेतुकका तर्कले तथ्य/सत्यलाई थिचेर दोष अरुमाथि थोपर्ने गोरखधन्दा बिगतमा झैँ अब बजारमा खपत नहुने तथ्यलाई ध्यानमा राख्नुपर्छ । नायक बन्न भनेर निस्केकाहरु बन्दैचाहिँ के छौं भनेर गहन आत्मचिन्तनमा डुब्नुपर्छ । प्रत्येक कदमका पछाडिको अभिष्ट के थिए र हात लाग्यो के ? छातिमा हात राखेर आत्ममन्थन गर्नुपर्छ ।
नेकपा एमालेका ‘परिपक्व’ नेताहरु आफ्ना नेता,कार्यकर्तासँग अन्तरङ्ग गरेर निष्कर्षमा पुग्नुको सट्टा अन्य दलको विभाजन वा अन्य दलसँगको मधुमासमा बढी नै उद्यत रहेको पनि पटक्कै सुहाएको छैन । आफ्नोतर्फ भने एकले अर्कालाई मज्जाले खुइल्याएर आमलाई दिग्भ्रमित पार्ने (कु) चेष्टामात्र भइरहेको छ । एउटा सन्केर दावानल बनी दन्किरहेको बखत अर्को त्योभन्दा उग्र चैतको डढेलो बनेर जाइलाग्ने हो भने जल्ने क्रममा रहेको घर स्वाहा हुन कतिबेर लाग्ला ? अग्रज,उहाँहरुसहितको समकालीन र पछिल्लो पिँढीको बहत्तर वर्षभन्दा बढीको मिहिनेतले आर्जेको पार्टीलाई केही नेताको अहंतुष्टीको लागि निमेषभरमा नै सखाप हुने क्रमलाई टुलुटुलु हेरिरहनेहरु पनि कम्युनिष्ट नेता र कार्यकर्ता कहलाउन योग्य हुन्छन् र ?
कस्तै मूल्यमा पराईलाई आफ्नो र आफ्नोलाई घचेटीघचेटी पराई बनाउने ताजुबलाग्दो नाटक मञ्चन भइरहेछ नेकपा एमालेमा । यसबिरुद्ध आवाज उठाउने साहस कसैमा छैन । पार्टीले बुध्दिजीवीको पगरी गुथिदिएका,बेलाबेलमा शानदार अवसर र सुविधा उपलब्ध गराएका हरुको मौनता झनै बुझी नसक्नुको छ । उनीहरुको कलम वा वाणीले नेताहरुको यस प्रवृत्तिकोविरुध्द खबरदारी गर्न सकेको छैन । पार्टी समस्याको दलदलमा फस्दा पनि उध्दारको पहल र प्रयत्न नगर्दासमेत बुध्दिजीवीको कल्की ढल्काई राख्न अलिअलि भए पनि सरम लाग्नुपर्ने होइन र ?
पार्टीमा असहजता देखिएदेखि नै केही नेताहरु रातबिहान नभनी विवाद समाधानको उपायमा अकण्टक जुटिरहनु भएको छ । जब मिलनबिन्दु पहिल्याइयो भन्ने खबर सार्वजनिक हुन्छ अनि उच्च ‘नेतृत्व’ नयाँ बखेडा झिकेर एकपछि अर्को अत्तो थाप्न थाल्छ । यदि मान्नु छैन भने ती नेताहरुलाई गृहकार्यको लागि किन खटाएको ? यदि सफा मनले नै खटाएको हो भने उहाँहरुको अथक मिहिनेत र परिश्रमको किन सम्मान नगरिएको,अब प्रश्न गर्ने बेला भएन र ?
विवाद समाधान गरी पार्टी एकता जीवन्त राख्न खटिएका नेताहरुले आफू कतैबाट खटिएको मानसिकताबाट माथि उठी हामीले यति दुःख गर्दा पनि यहाँहरु मिल्ने छाँटछन्दै देखाउनुहुन्न भने हामीले साँचोसत्य कुरा उल्लेख गरेर श्वेतपत्र जारी गर्छौं र, स्वत्व नै गुमाएर केवल खेताला झैँ यहाँहरुको पछि लाग्न सक्दैनौं भन्न अबेला भएन ? कथम्, पार्टी फुट्यो भने एकताको लागि पहल गरेजस्तो गर्ने तर त्यसलाई निष्कर्षमा पुर्याउन सम्भाव्य सबै ताकत नलगाउने नेताहरु पनि शीर्षस्थ नेतासरह नै दोषी ठहरिने निश्चित छ ।
सीधै नभने पनि एकथरि नेता आफूबिना नेपालको राजपाठ एक इञ्च पनि अघि नबढ्ने र अर्काथरि नेता पनि आफूबिना कम्युनिष्ट पार्टी नै नरहने भ्रम बाँडिरहनु भएको छ । यदि यस्तै हो भने नेकपा एमालेलाई अन्य तहका नेता र लाखौं कार्यकर्ताहरुले सोच्नु पर्यो त्यहाँ आफ्नो उपादेयता के हो भनेर ?
नेपाली जनताले केही अपेक्षा र आकाँक्षाका साथ एकताको अभियानमा रहेको कम्युनिष्टको पक्षमा खनाएको भारी मतको पटक्कै सम्मान हुन सकेको छैन । जनअपेक्षा अनुसारका लोककल्याणकारी काम र आम कार्यकर्ताको चाहनाअनुसारको पार्टी एकताको अभियानलाई फत्ते नगरी पद र प्रतिष्ठाको लडाईंमा मात्र अल्झेर कलहमा रमाइने रहने हो भने अहिलेको अग्रता आगामी निर्वाचनमा पछिल्लो हारमा सर्ने निश्चित छ ।
अझ पार्टी विभाजन नै भयो भने त दुईदशक अघिको अप्रिय इतिहास दोहोरिने प्रवल सम्भावना छ । त्यसपछि कोही बल्लबल्ल प्रतिपक्षी दलको नेतासम्म बन्लान् । कसैको दल जसोतसो राष्ट्रिय दलसम्म बन्ला वा नबन्ला । सम्बन्धितले हेक्का राख्नुपर्ने महत्वपूर्ण विषय यो हो । काम गरेर देखाउनुपर्ने सत्तामा बस्नुभन्दा लामो अनुभवको हवाला दिँदै गाली गरे मात्र पुग्ने प्रतिपक्षमा नै बस्न रमाउने हो भने शुभकामना छ भन्नुबाहेक के नै पो गर्न सकिन्छ र ?
नेपालका अन्य राजनीतिक दलहरुले पनि कलहमा फसेका एमालेको कमजोरीलाई आफ्नो शक्ति ठान्ने र ती फुटे बाक्लो दाल खाउँला भनेर जीब्रो तिखार्ने मृगतृष्णा राख्नुहुन्न । फुट,कोभिड–१९ भन्दा पनि खतरनाक ढङ्गले विभिन्न भेरियन्टमा छिटोछिटो संक्रमण हुने डरलाग्दो रोग हो भन्ने बुझ्नुपर्छ । अतः नेकपा एमालेको एकता अन्य दलको पनि एकताको आधार भएको तथ्य सबैले मनन् गर्न सक्नुपर्छ ।
नेकपा एमालेको सम्बन्धमा पनि ख्याल राख्नुपर्छ आर्थिक सम्पन्नताले मात्र कम्युनिष्ट पार्टी टिक्ने भए अमेरिकासरहको शक्तिमा उदाएको सोभियत रुसको कम्युनिष्ट पार्टी उठ्नै नसक्ने गरी बिजोगले थला पर्ने थिएन । अहिले विश्वशक्तिको रुपमा उदाउँदै गरेको चीनले राजकीय काम सरह पार्टी कामलाई महत्व दिने थिएन । यिनै तथ्य र परिवेशको आधारमा नेताहरुले सम्बन्धितको ध्यान अन्यत्र मोड्न सुविचारित ढङ्गले अगाडि सारेको फन्दामा नपरी असार २८ अगावै पार्टी एकताको लागि आवाज बुलन्द गर्नु नै नेकपा एमालेका नेता र कार्यकर्ताको पहिलो कर्तव्य हो । तपसिलका विषय त्यसपछि क्रमशः अघि बढ्ने नै छन् । अहिलेको पहिलो आवश्यकता:पार्टीको सुदृढ एकता ।
टिप्पणीहरू