पत्नी कसैले फेला पारिदिए !

सुन्दर परिवार बनाउने सपना सजाएर बिदेसिएका धेरै नेपाली श्रीमतीका कारण घरबारविहीन हुने क्रम बढिरहेका बेला उत्तरी मोरङमा अर्को श्रृंखला थपिएको छ । सिंहदेवी–९ ङका जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले पारिवारिक भुइँचालो आएको हो ।

पहिलो छुट्टीमा घर आउँदा ३० वर्षीया श्रीमती सोनु दुई छोरा लालनपालन गरी राम्रै घरबार सम्हालेर बसेकी थिइन् । त्यसैले जसमान पुनः विदेश गए । तर, विदेश गएको १८ महिना नपुग्दै नाबालक छोरालाई छाडी भएभरको सम्पत्ति लिएर सोनु बेपत्ता भएपछि छाँगाबाट खसेझैं भएका छन् । ३० कात्तिकमा श्रीमती बेपत्ता भएको खबर सुन्नेबित्तिकै जसमान हान्निएर नेपाल आए । घरमा साना दुई छोरा मात्रै पाएपछि श्रीमतीको खोजीमा विभिन्न ठाउँमा भौंतारिए र इलाका प्रहरी चौकी केराबारीमा पनि रिपोर्ट लेखाए तर आजसम्म श्रीमती भेट्टाएका छैनन् ।
१४ वर्ष बुबाआमासँग छुट्टिएर आफ्नै घरबार सम्हालेका जसमानको परिवारमा कुनै खटपट थिएन ।

आफू विदेशमा रहँदा पनि सम्बन्ध राम्रै रहेकाले श्रीमतीको विश्वासले उनकै नाममा पैसा पठाउने गरेका थिए । तर, आज आफ्नो विश्वासमा आगो लगाएर ३÷४ लाख रुपैयाँ र भएभरको सम्पत्ति लिई बेपत्ता भएकाले सञ्चारमाध्यमबाट पनि खोजिदिन आग्रह गरेका छन् । दुई नाबालक छोरा छाडेर भएभरको सम्पत्ति लिएर हिँड्नु र छिमेकी युवा पनि त्यसैवेला हराउनुले अर्कै केटासँग भागेकी हुन् भन्ने गाउँघरमा चलेको हल्लाले पनि आफ्नो विश्वास र प्रेममा आगो लागेको उनी बताउँछन् ।

आखिर जहाँ, जसरी बेपत्ता भए पनि एकपटक पत्ता लगाएर सबै भ्रम हटाउन पाए हुन्थ्यो भन्ने जसमानलाई लागेको छ । त्यसैले सबैसँग फोटोमा भएकी आइमाई (सोनु राई) लाई भेटे खबर गरिदिन आग्रह गरेका छन् ।

टिप्पणीहरू