उपत्यकामा आज कहाँ के हुँदैछ ?

उपत्यकामा आज कहाँ के हुँदैछ ?

काठमाडौं उपत्यकामा आज विरोध प्रदर्शनदेखि रक्तदान र पूर्वराजाको जन्मदिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम हुँदैछन् । पाटनका दुई वटा क्याम्पसमा लगाइएको तालाबन्दीलाई समेत निरन्तरता दिइने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

नेवाः एकता नागरिक समितिले आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मोत्सवको अवसर पारेर बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने लागेको हो । ललितपुरको चापागाउँमा बिहान ८ बजेबाट रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

त्यस्तै, स्वतन्त्र नागरिक समाजले शाहवंशीय राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापना, हिन्दू अधिराज्य पुनःस्थापना, निषेधको राजनीति अन्त्य, राष्ट्रिय मेलमिलाप कायम, सैनिक हस्तक्षेप मार्फत नागरिक सरकार गठनलगायतका माग राखि आज पनि धर्ना दिँदैछ । अघिल्लो सातादेखि माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना कार्यक्रम गर्दै आएको समितिले आज बिहान ११ बजेबाट उक्त कार्यक्रम गर्न लागेको हो ।

आजै किर्तिपुर नगरपालिकाको शिक्षा समितिले शिक्षक अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगल माध्यमिक विद्यालयमा आज बिहान ११ बजे उक्त कार्यक्रमको उद्घाटन हुँदैछ ।

उता, राष्ट्रवादी नागरिक समितिले पूर्वराजा ज्ञानेन्द्र शाहको शुभजन्मोत्सवको अवसरमा नारायणगोपाल चोक (चक्रपथ), महाराजगञ्जमा भेला भइ बिहान साढे ११ बजेको समयमा निर्मल निवास पुगेर शुभकामना अर्पण गर्ने जनाएको छ । समितिले देशलाई राजा चाहिसक्यो भन्ने सन्देश प्रवाह गर्न नेपालको राष्ट्रिय झण्डा र पूर्वराजाको तस्बिर बोकेर नारायण गोपाल चोकदेखि दिउँसो १ बजे निर्मल निवास पैदल जाने बताईएको हो ।

त्यतिनै बेला वसन्तपुरको हनुमानढोकास्थित शिव पार्वती डबलीमा राखिएको पूर्वराजा शाहको तस्बिरमा माल्यार्पण गरि शुभ जन्मोत्सव नागरिक समितिले शाहको ७५ औं जन्मोत्सव मनाउने बताइएको छ ।

नेपाली काँग्रेस (वी.पी) सनातन संस्कृति समाज नेपालको महिला विभागले पूर्वराजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मोत्सवको अवसरमा दीप प्रज्वलन गर्ने भएको छ । दिउँसो साढे ४ बजे माइतीघरमा महिला विभागले दीप प्रज्वलन गर्ने भएको हो ।

त्यस्तै, आज राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने छ ।

यता नेकपा (एमाले) भित्रका समस्या समाधान गर्न गठित कार्यदलको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको बताइएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान २०७८ ले पनि आज बिरोध कार्यक्रम गर्दै छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनितीकरण र भ्रष्टाचारविरुद्धमा आज माइती घर मण्डलामा दिउँसो ४ बजे विरोध प्रदर्शन गर्ने बताइएको छ ।

उता नेविसंघले नेता अर्वत खड़्काको स्वर्गारोहणको १३ औं दिनमा आज दिउँसो ५ बजे दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ । कार्यक्रम शान्तिवाटिकामा हुने जनाइएको छ ।

नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै डिनको कार्यकक्षमा गत चैत्र ३१ गते देखि गर्दै आएको तलाबन्दीलाई अझै जारी राख्ने बताएको छ ।

अनेरास्ववियू, अखिल (क्रान्तिकारी) र नेविसंघ पाटन संयुक्त क्याम्पस कमिटीहरू (संयुक्त विद्यार्थी संगठनहरू) ले विभिन्न माग राखि क्यापस प्रशासनमा आसार १४ गते लगाएको ताला पनि नखोल्ने बताएका छन् । उनीहरुले पनि तालाबन्दी कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

टिप्पणीहरू