सजिलै फेरिन्न– नेचर, कल्चर, सिग्नेचर

  • संकेत कोइराला

एउटा गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘आज मलाई मान्छेको मासु खान मन लागेको छ ।’ गिद्ध भुर्रर्र उडेर गयो र बेलुका मासु लिएर आयो । बच्चाले सोध्यो– ‘यो के को मासु हो ?’ बाउ गिद्धले उत्तर दियो– ‘सुँगुरको ।’ बच्चाले बालहठ छाडेन । गिद्ध फेरि उड्यो । यसपटक गाईको मासु ल्याएर फकाउने प्रयास ग¥यो । अहँ, बच्चा चुप लागेन । उसले जुक्ति लगायो । आपूmले ल्याएमध्येको एक टुक्रा गाईको मासु मन्दिर र अर्को टुक्रा सुँगुरको मासु मस्जिदमा मिल्काइदियो ।

अनि त के थियो र केही छिनपछि मान्छेका लाश बग्रेल्ती लडेका देखिए । उसले छानी छानी मान्छेका मासु ल्याएर बच्चालाई तृप्त बनायो । बाउले बहादुरीसाथ आफ्नो इच्छा पूरा गरेको देखेर बच्चाले उत्सुकता जगाउँदै जिज्ञाशा राख्यो– ‘बा, यस्तो चमत्कार कसरी सम्भव भयो ?’ सन्तान सुखमा रमाएको गिद्धले सन्तोषी उत्तर दिँदै भन्यो– ‘छोरा, केही धूर्त मान्छेले आफ्नो स्वार्थको रोटी सेकाउन धर्म नामको भाइरस पैmलाएका छन् । यही धर्मका नाममा सजातीयलाई मार्न र मर्न तयार छन् । धन्य, हाम्रो कुनै धर्म छैन । आनन्दले मासु खा, बस् । अरू के के चाहिन्छ भन् ।’

यतिबेला हाम्रा नेतालाई संघीय गणतन्त्र र गिद्धको बच्चालाई मान्छेको मासु उस्तै भएको छ । धर्मलाई अफिम मान्ने कार्ल माक्र्सका वर्णशंकर सन्तानहरू संघीयताको बाँझो जमिनमा खादा, सलामी, मलामी, औंसी पूर्णिमा, छठ, दशैं–तिहार, उँधौली–उँभौली, क्रिसमस मान्ने, नमान्ने तर्क, कुतर्क र बहसमा दिन कटनी, मानो पचनी गरिरहेका छन् । अर्कातिर विश्वका विख्यात कम्युनिस्ट नेता फिडेल क्यास्ट्रो दिवंगत भएको खबरपछि सामाजिक सञ्जालमा यहाँका क्रान्तिकारी नेताका ‘ज्वालामुखी’ कार्यकर्ता आदर्श नेता गुमाएकोमा विक्षिप्त बनेको नाटक गरिरहेका छन् । यस्तो नाटक गरिरहँदा आफ्ना श्रद्धेय, बन्दनीय, पूजनीय नेता रामदेवको ‘औद्योगिक’ मेलामा बिन्तीपत्र लिएर प्रस्तुत भएको दृश्यले उनीहरूलाई कति पनि घोचेको छैन ।

बरु रामायणमा वर्णन गरिएको रामकथाजस्तो क्यास्ट्रोको कथा सुनेका तिनका लागि यो खबर पनि एउटा कागजी घोडाभन्दा पर केही होइन । हाम्रा नेताका लागि रामदेव सिक्काका ती पाटा हुन्– जसको एकातिर रामदेवको कालो दाह्री अर्कातिर नरेन्द्र मोदीको सेतो दाह्रीको तस्बिर छ । रामदेवलाई खुशी पार्न सकियो भने राजनीतिक सरुवा–बढुवा, घटुवा, निलम्बन, फुकुवा, तारेख, तामेलीका सम्पूर्ण छक्कापञ्जा, दाउपेच मिलाउन सकिने उनीहरूको विश्वास छ । पतञ्जलीले भोलि ‘सत्ता’ ब्राण्डको जिरा मसिनो, मनसुली चामल बजारमा ल्याउने हो भने यहाँको स्थानीय उत्पादन फालाफाल हुने निश्चित छ । दलका झोले, हुक्के, बैठके, चण्डमुण्डहरूको यो चामल किन्न भीड लाग्ने छ ।

पुलिसको डण्डा, पानीको फोहोरा त्यो भीड नियन्त्रणका लागि काममा आउने छ । गाईको गहुँतसमेत बेचेर विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने रामदेव र सत्ताको आयु लम्ब्याउन उस्तै परे कोमा पुगेका घरका सदस्य त्यागेर उनको शिविरमा जान सक्ने नेपाली कामदेवहरूको तुलनै हुन सक्दैन । न रामदेव बन्न सजिलो छ, न फिडेल क्यास्ट्रो नै । संसारको सबैभन्दा बढी चिनी उत्पादन गर्ने क्युबाको व्यापारमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाउँदासमेत कतैबाट धागोसमेत अनुदान नलिने फिडेल क्यास्ट्रो, मीठो बोलेर नेपालका सबै तीता जडिबुटी भारत लैजाने रामदेव दुवै देशभक्त नागरिक हुन् । यिनीहरूले आ–आफ्नो आदर्श बेचेर देशको इज्जत धरहराजस्तै उच्च राखेका छन् ।

हामी भने घर पोलेर आएको रापमा रमाइरहेका छौं । समाधानमाथि समस्या खोज्ने बौद्धिक जगत्, भोक हडताल गरेर चर्चित बन्ने डाक्टर, सबै उद्योग ठप्प गराएर राजनीतिक उद्योग चलाउने नेता, राजश्व मारेर देशभक्त ठहरिएका कर्मचारी–व्यापारी, नेताको अनुमति लिएर समाचार बनाउने पत्रकार, थुन्दा र छोड्दा नै घुस खाने पुलिस प्रतिनिधि राष्ट्रवादको प्रमुख पात्र बनेर देखा परेका छन् । यिनीहरू दशैं, तिहार, परिवारको जन्मोत्सव मात्र हैन, आपूmले पालेको कुकुरको बर्थ डेसमेत नेताका घरमा मनाउन शोख राख्छन् । दशैंमा जन्म दिने बा–आमा भड्खालामा परुन, नेतासंग एकमाना अक्षता लाएको फोटो फेसबुकमा टाँसेर छातीको आयतन बढेको ढाँचा देखाउँछन् ।

देशका हरेक क्षेत्रमा पजनी गर्छन् । यिनीहरूको नजरमा शौचालय, बाचनालय, मदिरालयको भेद छुट्टिँदैन । आफ्नो स्वार्थका लागि नेतालाई नाङ्गै सडक घुमाएर जवाहरातको पोशाक पहि¥याएको हास्यास्पद अकवर वीरवल कथाको रिमिक्स नाटक मञ्चन गर्न पछि पर्दैनन् । अन्त्यमा यिनीहरू पहाडको टुप्पोमा हिँडेको उँटभन्दा माथिको हैसियतमा पुग्दैनन् । पुगे पनि टिक्दैनन् । टुप्पोबाट फेदीतिर झर्न थालेपछि त आखिर उँटको हैसियत पनि स्पष्ट हुँदै जान्छ । गुणरत्नमालाको यो हरफ पनि यस्तै मानिससँग वाक्क, दिक्क भएर रचिएको हुनुपर्छ ।

आगाको जल, घामको र जलको छाता, लुगा शीतको
तीखो अंकुश हात्तीको र लहुरो भैंसी गधा गोरुको
गर्मीको जल–वायु, मन्त्र विषको, बत्ती अंधियारको
सबको औषधि दैवले रचिदियो, बिर्सेछ कि मूर्खको ।

जिन्दगी दुई दिनको हुन्छ । एकदिन तपाईंको हितमा हुन्छ, एक दिन विरुद्धमा । जुन दिन हितमा हुन्छ, त्यो दिन घमण्ड गर्नु हुँदैन । र, जुन दिन विरुद्ध हुन्छ, त्यो दिन संयम गुमाउनु हुँदैन । गाली सुन्न नचाहनु व्यक्तित्व पतनको पूर्वाभ्यास हो ।

निर्धन ब्राम्हण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यको प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य नीति विज्ञान बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । कुटीबाटै सत्ता सम्हाले । चाणक्यको स्वाभिमानी जीवनबाट प्रभावित भएर चिनियाँ यात्री फाह्यानले यसरी लेखेका छन्– ‘जहाँका प्रधानमन्त्री साधारण कुटीमा आप्mनो जीवनको इहलीला समाप्त गर्छन, त्यहाँका जनता भव्य महलमा ऐयासीसाथ आप्mनो जीवन भोग गर्छन् । जहाँका प्रधानमन्त्री राजदरवारमा नानाथरि सुखभोगका सामग्रीसाथ जीवन गुजारा गर्नमा तल्लिन हुन्छन्, त्यहाँका जनता साधारण झुपडीमा दुःखसाथ जीवन गुजारा गरिरहेका हुन्छन् ।’ घोडा जतिसुकै पाइनदार भएपनि जोत्न सिङ नभएको पुँडे गोरु नै काम लागेजस्तै देशका डाक्टर त यहीँका नेता नै हुन् ।

विश्वविख्यात हलिउड अभिनेत्री मर्लिन मुनरोले भनेकी थिइन्– ‘आत्मा साक्षी राखेर भन्ने हो भने म कयौं फिल्मी निर्माताहरूसंग सुतेकी छु । यदि मैले त्यो कुरा इन्कार गरें भने भूmटो हुनेछ । अभिनेत्री बन्न अभिनय, कौशल, प्रतिभा र परिश्रम त हुनैपर्छ तर निर्माताहरूसंग रात बिताउनाले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत मिल्नेछ । जब मोडलिङको काम शुरु गरें, यौनसम्बन्ध पेशाको अभिन्न अंग बन्यो । सबै केटीले त्यो गर्नुपथ्र्यो । नत्र अन्य पच्चीसौं केटी त्यो ठाउँ लिन तयार हुन्थे । निर्माताले फिल्मको कुरा गर्न बोलाउँदा फिल्मबाहेक अरू पनि स्वार्थ हुन्छ ।’ बिरालो कुन रंगको छ भन्नुको कुनै तूक छैन् । उसको पौरख त ऊ कति मुसा मार्न सक्षम छ भन्ने हो । नेताको हकमा देश विकासमा उसको अडान, दृष्टिकोण र तदारुकता हो ।

भनिन्छ ईश्वरले सवैका लागि समान ढंगले रोटी मिल्काएका हुन्छन् रे । कसले, कसरी कुन रूपमा ग्रहण गर्छ भन्ने कर्मको खेल हो । कसैले आँशुलाई सितन पारेर रोटी निल्छन् त कसैले हाँसाको फोहोरामा रोटी मिल्काउँछन् । आस्था विनाको जीवनले आफ्नो मूल्यवोध गर्न सक्दैन । त्यो जीवन निरर्थक हुन्छ । आस्था हृदयभित्र पाक्ने बाली हो । यसलाई आपैmले भित्र्याउन सक्नुपर्छ । आस्थाविनाको हृदय पत्रे चटानको अर्को रूप हो । यस्तो हृदयमा न कसैसित प्रेम हुन्छ । न ममता, न दया न श्रद्धा । देउरालीमा अबिर घसिएको रातो ढुंगालाई देखेर शीर झुकाउनुको उर्जा के हुनसक्छ ? सम्पूर्ण मानव जीवन भाव, भक्ति र समर्पणको खेती हो । समय नामको लगाममा हामीले यी तमाम कर्तव्यलाई मंसिरे खलो रित्याएभैmँ रित्याएका हुन्छौं ।

भनिन्छ नि– नेचर , कल्चर र सिग्नेचर सजिलै बदलिँदैन । हिंस्रक, पापी र असत्यवादी मानिस बुद्धको अनुहार लिएर जन्मिएपनि शान्तिकामी हुन सक्दैन । बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैं सधैं बाँचेका छन् । फिडेल क्यास्ट्रोका नाममा विमानस्थल, विश्वविद्यालय, कारखाना, अस्पताल खुलेका छैनन तर उनको नाम नसुन्ने कोही छैन । मानिसका १८ परीक्षा हुन्छन् । सवैमा सर्वोत्कृष्ट दरिएको व्यक्ति अर्थ परीक्षामा चिप्लिन सक्छ ।

श्रीमती पाल्ने हुति नभएर बहलाउन तराई झरेका जंगबहादुरले सन्काहा शैलीका राजा राजेन्द्रको कमजोरी पत्ता लगाए । हात्तीलाई जालमा पार्नेदेखि उनको स्वभावजन्य क्रियाकलाप सुहाउने कर्म सवै गरिदिए । आखिर सियो भएर पसेका जंगबहादुर राजनीतिक बाघचालमा फाली भएर निस्किए । उनले छोराहरूको साइनो राजपरिवारमा गाँसेर समान कदको परिचय मात्र दिएनन्, श्री ३ लेखेर आपैंmलाई राजामहाराजाको कोटीमा पु¥याए । अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तात्कालिन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिट्ठीको खाम थुक लगाएर बन्द गर्थे । अरू देशमा पनि राजनीति अस्थिर छ । मान्छे मारिएका छन् । श्रीलंकामा डेढ लाख मारिए । अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन् । भिडन्त भएका छन् । तर त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन ।

भोग विलास र सुख सुविधामा हैन, नेताको उचाई इमान्दारी र निष्ठामा चहकिलो बन्दै जान्छ । त्याग नेतालाई खार्ने अचुक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुःखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका छन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्सन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन । म्याक्सिम गोर्की आपूm भात खान नपाएर मरे तर उनले आफ्नो ख्याति आमा कृतिमार्पmत संसारका हरेकको जीब्रो स्थापित गराए । लोभ अपराधको जननी हो । यदि अम्लेट खानेले अण्डाको माया ग¥यो भने के हुन्छ ? सम्पत्तिसँगको साइनो र राजनीतिक ब्रतबीचको अन्तर पनि यही नै हो ।

टिप्पणीहरू