पति/पत्नीका अँध्यारा उज्याला पाटा

  • वैकुण्ठ ढकाल

नियमित किनमेल गर्ने पसलमै सहकर्मीले एक प्याकेट दूध किने । फ्रिजबाट निकालेको प्याकेट निकै चिसो रहेछ । सहकर्मीले भने, ‘कति चिसो ।’ साहुनीले बडा रसिक जवाफ फर्काइन्, ‘भर्खरै नुहाएर आएको अनि चिसो हुँदैन त ?’ महिनावारी तिर्ने भएकाले पैसा निकाल्नुपरेन । मुर्छा परेर हाँस्दै अघि लागे, मैले पछ्याएँ । प्याकेटको दूध फ्रिजमा हालेर चिसो भएको हो । साहुनीले नुहाएर के चिसो हुन्थ्यो र ? म र साहुनीका लोग्ने पनि नभएका भए सायद ग्राहक र पसलेबीच अझै रसिक कुराकानी हुन्थ्यो होला कि ! नहुन पनि सक्थ्यो । कामको समयमा कसलाई कुरा गरेर बस्ने फुर्सद होस् !

मेरा साथीहरू भन्थे, ‘महिला दोहोरो अर्थ लाग्ने संवाद बोलेर हैरान पार्छन् । त्यस्तै लाग्यो, साहुनीको कुरा सुनेर ।

बाबा घर नआएकै बेस

प्रश्न सोध्न सहज, उत्तर दिन कठिन । त्यही भएर बालबालिकासँग धेरैभन्दा धेरै प्रश्न सोध्न रमाउँछु । एक कक्षामा पढ्ने बालिकासँग कुराकानी गर्दै थिएँ । बाबा आर्मी रहेछन् । वर्षको दुई पटक जति घर आउने, माया पनि साह्रै गर्ने । तर उनलाई बाबा घर नआएको रमाइलो लाग्दो रहेछ । मैले सोचें घरमा पनि बाबाले फौजी रवाफ देखाउँदा हुन्, बन्दुक र बारुदको कुरा गरेर बालिकाको मनमा डर नै डर घोलिदिँदा हुन् र त छोरी डराउँछिन् । तर, मैले सोचेजस्तो केही होइन रहेछ । बाबा घर आउँदा मामुको गाली र पिटाइ खानु नपर्ने रहेछ । बाबाले ठूलो स्वरले बोलेको समेत अहिलेसम्म थाहा रहेनछ । तैपनि, बाबा घर नआएकै रमाइलो । झन् छक्क पर्दै गएँ । आखिर किन ? धेरै प्रयासपछि मात्रै ती बालिकाले भनिन्, ‘बाबा आएपछि, म मामुसँग सुत्न पाउँदिनँ, आमा (हजुरआमा)सँग सुत्नुपर्छ ।

‘किन, आमाले माया गर्नुहुन्न हो ?’

‘हैन आमाले मलाई बाबा र मामुले गर्ने भन्दा पनि बढी माया गर्नुहुन्छ ।’

‘अनि किन त आमासँग सुत्न मन नभएको’

‘यो अंकलले पनि कस्तो कुरा नबुझेको भन्या, मलाई सधैं मामुसँग सुत्न मन लाग्छ, तर बाबा आएपछि मामु बाबासँग मात्रै सुत्नुहुन्छ ।’

बाबा, मामु र छोरी सँगै सुत्दाचाहिँ ती बालिकाले के सोच्छिन् होला ? एक कक्षा पढ्ने ६ वर्षकी बालिकाले मामुु र बाबा सँगै सुत्नुको अर्थ बुझ्लिन् कि, आफू मामुसँग सुत्न नपाएकोमा गुनासो मात्रै गर्दिहुन् !
 

पहिला रहर अहिले कर

हामी दिदी–बहिनी ठूला भइसकेका छौं । ठूलै बनौं कि नभनौं, टिनएजमा हिंडिरहेका छौं । एक्लाएक्लै सुत्न मन पराउँछौं । म मामुसँग लामो समय सुत्नै पाइनँ । डेढ वर्ष हुँदा नहुँदै बहिनी जन्मिहाली । जो सानो हो, उसकै हक हो मामुसँग सुत्ने, यसमा मेरो कुनै गुनासो रहेन । आजचाहिँ मामु मसँग सुत्न नआइदिए हुन्थ्यो जस्तो लाग्छ, त्यही दिनचाहिँ आइदिने । न साथीहरूसँग कुराकानी गर्न पाइने न त मोबाइलमा साथीहरूसँग च्याट गर्न नै पाइने । इयरफोन लगाएर फिल्म पनि हेर्न नपाइने भन्या । दिक्क लाग्छ ।

बहिनी मोबाइल चलाउन रातभरि फ्रि हुन्छे, आफूचाहिं…कहिलेकाहीँ चाहिँ आनन्द हुन्छ, त्यो आनन्द आउन बाबा घर आउनुपर्छ । जब बाबा जागिरबाट घर आउनुहुन्छ, मलाई मामुसँग सुत्नु पर्दैन । मामुसँग सुुत्नु झ्यालखानामा थुनिनुजस्तै लाग्छ । बाबा जागिरबाट पेन्सन भएर घरै बस्ने गरी आउनुभयो, त्यसपछि फेरि बोरिङ सुरु भयो । खै किन हो, अब त बाबा घरै हुँदा पनि मामु बाबाको कोठामा पस्नै छाड्नुभयो । गर्मीको बेलामा त झन् दुई जना सुत्दा हैरान हुन्थें । महिनाको केही दिन मात्रै आनन्द हुन्थ्यो, जुन दिन मामुु बाबाको कोठामै रहनुहुन्थ्यो । सानामा मामुसँग सुत्न रहर भयो । अहिले कर भइरहेको छ ।

यसमा पनि यौनकै कारण हुन सक्ला । श्रीमान्लाई अति यौन चाहना र श्रीमतीलाई कम चाहना हुँदा त्यसबाट मुक्ति खोजेको पनि हुन सक्छ । छोरीसँग सुत्न गएपछि पक्कै पनि श्रीमान् आफूलाई तान्न आउँदैनन् भन्ने सोचेको हुन सक्छिन् श्रीमतीले । यौनसँग भागेर समस्या समाधान होला ? जीवनको उत्तरार्धतिर पुग्दै गर्दा वैैवाहिक सम्बन्ध खल्बलिएला कि ?
 

विदेशमा शरीर जोड्छन्, यहाँ नाम

समाजमा मानिसका अनेकौं भूमिका हुन्छ । कसैले बेदाग आफ्ना भूमिका निर्वाह गर्छन् । कसैलाई आर्थिक दाग लागेको हुन्छ, कसैलाई महिलाको बात लाग्छ । कतिपयको सामाजिक, आर्थिक जीवन दागैदागले भरिएको पनि हुन सक्छ । यथार्थ बाहिर रहेर पनि कतिपय कुरा बाहिर आउँछन् । ४० नाघेकी एक पत्रकार महिलासँग अनलाइनमा कुराकानी भयो । काम विशेषले टेलिफोनमै कुराकानी गर्नुपर्ने भयो, पहिलो पटकको संवादमै पनि खुलेर कुरा गर्ने बानी मन प¥यो । मैले केही पत्रकारको नाम लिएर फलानो–फलानोसँग जोडिएर आएको छ, के रहेछ भनी प्रश्न गरें ।

उनले यसलाई स्वाभाविक भनिन् । ‘हामीले व्यक्तिगत कुराभन्दा पनि नेतृत्वले, अगुवाले समाजका लागि के दियो भनेर हेर्नुपर्छ । घरपरिवारबाट बाहिर निस्किसकेपछि जरुर कोही न कोहीसँग नाम जोडिन्छ । घरभित्रैै बसिरहे मात्रै हो कोहीसँग नाम नजोडिने । विदेशतिर यस्ता कुराको कुनै मतलब हुँदैन, मन मिल्दा शरीर नै जोड्छन्, नेपालमा चाहिँ हुँदै नभए पनि नाम जोडेर बदनाम गर्छन् । समाजको काममा हिँडेको भन्दैमा सबैले सबै जैविक आवश्यकता मार्नुपर्छ भन्ने पनि नहोला नि ?’

यसमा जवाफ दिनु उचित ठानिनँ र दिइन । मनमा चाहिँ धेरै दिनसम्म कुरा खेलिरह्यो जैविक आवश्यकता पूरा गर्ने नाममा घरपरिवारचाहिँ छिन्न–भिन्न भयो भने नि ?
 

र यो पनि

‘हामी बूढाबूढी एउटै ओछ्यानमा सुते पनि, एक्लै–एक्लै हुन्छौं । जस्तो सुत्यो, त्यस्तै ब्यूँझन्छौं । सँगै सुत्दा पनि कहिलेकाहीँ त दुई महिनासम्म एकले अर्कोलाई छुँदैनौं । न उनले पहल गर्छिन् न मैले नै गर्छु । हामी त मिलेछौं ।’ विवाह भएको केही वर्ष मात्रै भएको एक साथीको यो अनुभव सुन्दा अचम्म लाग्यो, अविश्वसनीय पनि । यत्ति हुँदाहुँदै पनि म बेखुसी भइनँ । किनकि एउटालाई अति चाहना वा अर्कोलाई अति कम चाहना भएको भए त सम्बन्ध टुक्रिन्थ्यो होला । साथीले भनेको अन्तिम वाक्य ‘हामी त मिलेका छौं’ भन्नेले खुसी बनायो । मनमन मिलेर मात्रै पनि वैवाहिक जीवन नचलेका कैयौं उदाहरण भेटिएका छन् ।

टिप्पणीहरू