दलाई लामाको ८६ औं जन्मदिन कतै पूजा, कतै केक

दलाई लामाको ८६ औं जन्मदिन कतै पूजा, कतै केक

आज तिब्बती धार्मिक नेता दलाई लामाको ८६ औं जन्म दिनको अवसर पारेर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका तिब्बती शरणार्थीहरूले कतै केक काटेका छन् भने कतै पूजापाठ गरेका छन् ।

ललितपुरको एकान्तकुनास्थित तिब्बती क्याम्पमा २० जना जति तिब्बतीले बिहान सवा ७ बजेदेखि पूजापाठ गरेका थिए ।

उता,नागार्जुन नगरपालिका–२ मा रहेको नाम्गेल स्कुलमा जन्म दिनको अवसरमा केक काट्ने कार्यक्रम तय भएअनुसार बा.२ ज ३५२९ नम्बरको ट्याक्सी केक लिएर बिहान साढे ७ बजे बौध्दबाट नाम्गेल स्कुल पुगेको थियो ।

लगत्तै बा.४ च १९९४ नम्बरको निजी कार स्कूलमा छिर्यो । यो गाडी भारतको पटना घर भई गाडीको कारोबार गर्ने तेजकरण जैनकी पत्नी मञ्जुकाे नाममा २०७२ माघ ८ गतेदेखि दर्ता छ । मञ्जुकाे मृत्यु भैसकेको छ भने तेजकरण जेलमा छन् । त्यसपछि छिरेको बा.४ च ७२३६ नम्बरको कार महादेवस्थान ४ काठमाडौं बस्ने विक्रम बानियाँको नाममा २०६६ साउन २५ देखि दर्ता छ । बा.१ च ९८६१ नम्बरको निजी प्लेटको कारमा केही मानिस पनि जन्म दिन मनाउन त्यहाँ पुगेका थिए ।

दलाई लामाको जन्मदिन मनाउँदा विद्यालयमा मुश्किलले एक दर्जन मानिसको उपस्थिति थियो । उनीहरूले लामाको ८६ औं जन्मदिन मनाउने क्रममा बिहान सवा ८ बजेबाट पूजापाठ शुरु गरेका थिए ।

पूजापाठमा दलाई लामाको प्रतिनिधि अफिसका प्रमुख छुलटिम ग्यात्सोलगायत तिब्बती क्याम्प स्वयम्भूका अध्यक्ष कर्माग्याल्चोको समेत उपस्थिति रहेको बताइन्छ ।

उता बौध्दस्थित साम्देलिङ गुम्बामा सो अवसरमा केक काटिएको थियो । पहिला पहिला तिब्बती शरणार्थीहरुले नेपालको एक चीन नीतिलाई अप्ठ्यारो पार्दै जन्मदिनका नाममा आत्मदाह, जुलुसजस्ता अप्रिय घटना गराउँथे । तर यसचोटी आफैँ संयमित भएर क्याम्पभित्रै पूजाआजा र केक काट्ने काममा सीमित भएका छन् ।

टिप्पणीहरू