मान्छे हेर्दा मक्ख, दुनियाँ साह्रै छक्क « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

मान्छे हेर्दा मक्ख, दुनियाँ साह्रै छक्क

प्रकाशित मिति :  १८ मंसिर २०७३, शनिबार ०७:३८


तत्कालीन नेकपा माओवादीको खरिपाटी भेलाबाट प्रचण्डले देशभित्र नेपाली कांग्रेस र बाहिर भारतीय विस्तारवादलाई प्रधानशत्रु किटान गरे । पछि पालुङटारको विस्तारित बैठकले पनि त्यसैलाई सदर ग¥यो । तर, त्यो निर्णय अझैसम्म सच्चिएको छैन जबकि प्रचण्डका लागि भारत अनन्यमित्र भइसक्यो अनि नेपाली कांग्रेस सत्ता सहयात्री । कम्युनिष्टको सनातन धर्म नै हो, प्रधानशत्रु किटान गर्नु ।

अनि विश्व शक्तिको विश्लेषण गर्नु । त्यसै भएर माओवादीले चीनलाई पनि दक्षिणपन्थी संशोधनवादी भन्ने गरेको थियो । तर, तिनै दक्षिणपन्थी अहिले प्रचण्डका लागि ‘रोल मोडेल’ बनेका छन् । हात्तीका देखाउने र चपाउने बेग्लाबेग्लै दाँत भएजस्तै माओवादीको पनि दोहोरो रूप नै हो त ? नत्र जनजाति भेट्दा म तिम्रै मान्छे हुँ भन्ने, बाहुनवादको चर्को खोइरो खन्ने अनि खसहरूलाई देख्नेबित्तिकै खसान राज्य त आफ्नो पार्टीको प्रमुख माग नै रहेको बताउने द्वैध चरित्र किन ? प्रचण्डको त्यस्तो दुईजीब्रे चरित्रकै कारण डा. बाबुराम भट्टराईको पालामा हप्तौंसम्म भाला, खुकुरी र शंख बोकेका बाहुन र धनुष–काँडधारी जनजातिबीच भिडन्तको त्रास बानेश्वरमा रहिरह्यो । धन्न प्रहरी प्रशासनको सक्रियताले संविधानसभा भवनबाहिर रक्तपात मच्चिन पाएन तर कपिलवस्तुको चन्द्रौटामा भने पहाडे–मधेसी, हिन्दू–मुस्लिम दंगा भड्किएरै छाड्यो ।

प्रहरीले हिरासतमा राखेको मान्छेलाई समेत वाइसिएलको जत्थाले थुतेर हत्या ग¥यो । ०६४ सालको भदौ ३० गते बिहानै स्थानीय मुस्लिमहरू नेता अब्दुल मोइद खाँको गोली हानी हत्या गरिएको थियो । ढाकाटोपी लगाएका बन्दुकधारीले आक्रमण गरेका कारण मधेसी र मुस्लिम पहाडे समुदायविरुद्ध खनिए । कपिवस्तुका ९ वटा गाविसमा फैलिएको हिंसामा प्रहरीसहित १४ जनाले ज्यान गुमाए । दुई हजारभन्दा बढी घर जले, करिब ५ हजार परिवार विस्थापित भए । घटनाको न्यायिक जाँचका लागि आयोग बन्यो । हिंसामा संलग्न भनेर १ सय १८ जना किटान भए तर पक्राउ परेकालाई छाड्नुप¥यो भन्दै महन्थ ठाकुरहरू बालुवाटारमा प्रचण्डलाई कराउन गए । तिनका कुरा सुनेर प्रधानमन्त्रीले तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई अह्राए– ‘थुनामा रहेका सबैलाई छाडिदिनू । मुद्दा फिर्ता लिइदिनू ।’

तर, भनेजति सजिलो कहाँ हुन्छ र ? पुलिसमा परेको जाहेरी मात्र भए पो यता–उता पार्न मिल्थ्यो । अदालतमा पेश भएको मुद्दा फिर्ता लिने त एउटा प्रक्रिया हुन्छ । त्यसको २÷३ दिनमा माओवादी र एमालेका स्थानीय कार्यकर्ता गृह मन्त्रालयमा डेलिगेशन आए । तिनीहरूको माग थियो– अपराधी नछुटुन्, निर्दोषले थप दुःख नपाउन् । एकातिर हृदयेश त्रिपाठीले गृहमन्त्रीसँग आफ्ना मान्छे छाडिदिन गनगन गरिरहने । अर्कातिर लोकल कम्युनिस्ट कार्यकर्ता खबरदार छोड्लाऊ भन्दै धर्ना दिन आइरहने । त्यसपछि वामदेव ती सबै हुल लिएर प्रधानमन्त्री भेट्न बालुवाटार गए र कुरा राखे– उहाँहरू नछाड्नुस्, हामीलाई फेरि दुःख दिन्छन् भन्नुहुन्छ । तपाईं तुरुन्त छाड भन्नुहुन्छ । अब मै के गरौं ? सबैको कुरा सुनेपछि रुँला–रुँलाजस्तो गर्दै भावविह्वल स्वरमा प्रचण्ड बोले, ‘म कुनै अपराधीलाई छाड्दिनँ । ढुक्क हुनुहोस् ।’

तमलोपा उपाध्यक्ष हृदयेश भने, ‘के भो प्रधानमन्त्रीको आदेश ?’ भनेर गौतमलाई सोधिरहन्थे । उनको एउटै जवाफ हुन्थ्यो– प्रधानमन्त्रीलाई नै सोध्नुहोस् । यत्तिकैमा सरकार ढल्यो तर अनुहार हेरेर बोल्ने प्रचण्डको पिपलपाते बानीचाहिँ अझैसम्म छुटेको छैन ।


प्रतिक्रिया दिनुहोस !