कसरी हुन पुग्यो यस्तो मिलन ?

केही समयअघि काठमाडौं भ्रमण सकेर फर्कन लाग्दा भारतीय प्राध्यापक एसडी मुनीले एउटा सुझाव दिए, ‘अब नेपालमा पहिचानवादीबीच एउटा मोर्चाबन्दी हुनु आवश्यक छ ।’ अरूले त उनको यो भनाइलाई खास महत्व दिएनन् तर डाक्टर बाबुरामचाहिँ गुरुमन्त्र कार्यान्वयनतर्फ लागे । त्यसैको परिणामस्वरूप अस्ति सोमबार उपेन्द्र यादव र बाबुराम भट्टराईको संयुक्त हस्ताक्षरमा एउटा विज्ञप्ति जारी भयो । रूपमा सरकारलाई संविधान संशोधनमा असहयोग पुग्नेजस्तो देखिने त्यो विज्ञप्तिको अन्तर्यमा चाहिँ अर्कै कुरा रहेछ ।

यदि, संविधान संशोधन भएन भने मुलुक अन्योलको एउटा गहिरो खाडलमा फस्छ । युद्धको अवस्थामा बाबुरामको नयाँ शक्ति र उपेद्रको पहाडे–मधेसी एकै ठाउँ राख्ने सोच दुवै असफल हुने विश्लेषणसहित नयाँ शक्तिले संविधान संशोधनमा मध्यस्थकर्ताको भूमिका खोजेको देखिन्छ । त्यसैले मधेसको सबैभन्दा ठूलो र निर्णायक नेताका रूपमा उपेन्द्रसँग सहकार्य गरी समदृष्टि राखेर अगाडि बढ्न खोजिएको रहेछ ।

जनजाति र मधेसी मिलाएर आफ्नो खेती चलाउन नयाँ ढंगले प्रयत्न गरेको रूपमा पनि उपेन्द्र–बाबुराम गठबन्धनलाई धेरैले बुझ्ने गरेका छन् । त्यसो त उपेन्द्रका पनि आफ्नै पीडा थिए । तराई जाऊँ पहाडेलाई पार्टी बुझाइस् भन्ने आरोप । पहाड जाँदा मधेसीको पार्टी भन्दै गरिने छिछि र दुरदुर । त्यही भएर ‘हिजो नेता मानेकै हुँ । अहिले पनि मलाई बाबुरामको छत्रछायामा बस्न कुनै आपत्ति छैन ।’ भन्दै पार्टी एकताको समेत बाटो खोल्ने गरेको मधेसी कार्यकर्ता बताउँछन् । त्यसो त बाबुरामसँग मिल्ने मामलामा राजेन्द्र श्रेष्ठलगायत जनजाति नेता पनि सकारात्मक रहेको बताइन्छ ।

नयाँ शक्ति स्रोतका अनुसार उपेन्द्रसँगको पार्टी एकताबारे चर्चा गर्दा बाबुरामको पछि लागेका गैरवामपन्थीले चाहिँ नाक खुम्च्याउने गरेका छन् । यसअघि पनि मुमाराम खनाललाई कारबाहीस्वरूप राजनीतिक संवाद समितिको संयोजकका रूपमा दिइएको जिम्मेवारी फिर्ता लिने भनी पार्टीले गरेको निर्णयलाई नयाँ शक्तिकै केही गैरराजनीतिक पृष्ठभूमिका नेताले नबुझेर ‘तपाईंलाई त कारबाही भयो नि !’ भन्दै खबर गरिदिएकाले उनले सामाजिक सञ्जालमार्फत पार्टी त्यागेको घोषणा गर्ने मौका पाएका थिए ।

मुमारामको बहिर्गमनको विषयले नयाँ शक्ति पार्टीलाई दुई खेमामा बाँडेको बताइन्छ । यसबीच बाबुरामका पुराना महारथी देवेन्द्र पौडेल र नयाँ शक्ति पार्टीमा डाइनामिक नेताका रूपमा चिनिएका केशव दाहालबीच अन्तरद्वन्द्व बढेको चर्चासमेत सुनिन थालेको छ । तर, नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाचाहिँ दुई नेताबीचको सम्बन्धमा तिक्तता आएको कुरा ठाडै इन्कार गर्छन् । बरु, उपेन्द्र यादवसँगको सहकार्य पार्टी एकतासम्म पुग्ने आधारचाहिँ आफूले देखेको उनको दाबी छ ।
– सीताराम भट्टराई

टिप्पणीहरू