चिनियाँ नेता विश्वसँग जोडिँदै

चिनियाँ नेता विश्वसँग जोडिँदै

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि जिन फिङले विश्वका राजनीतिक दलहरुसँग आज भर्चुअल शिखर सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ ।

राजनीतिक दलहरुको शिखर सम्मेलनमार्फत चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका राजनीतिक दलहरुसँग अन्तरपार्टी आदानप्रदान र एउटा उत्कृष्ट विश्वको निर्माण गर्ने उद्देश्य राखेको बताइएको छ । सम्मेलनमा चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले महत्वपूर्ण विषयमा सम्बोधन गर्नुहुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा १ सय ६० देशका ५ सयभन्दा बढी राजनीतिक दल र संगठन, १० हजारभन्दा बढी पार्टी प्रतिनिधिहरूको सहभागिता रहने चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाओओमिङले जानकारी दिनुभएको छ ।

शिखर सम्मेलनको शीर्षक ‘जनताको हितका खातिर : राजनीतिक दलहरूको उत्तरदायित्व’ तय गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा आयोजित उक्त सम्मेलन समसामयिक विश्व राजनीतिमा एउट महत्वपूर्ण बहुपक्षीय कूटनीतिक कार्यक्रम हुने चीनले विश्वास लिएको छ ।

उक्त सम्मेलनमा नेपालको तर्फबाट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेता डा. बाबुराम भट्टराईले भर्चुअल माध्यमबाट सहभागिता जनाउँदै हुनुहुन्छ ।

टिप्पणीहरू