रमिता छ अचेल राजधानीमा

रमिता चलेको छ, कृषि मन्त्रालयमा । तामाङ समुदायबाट पहिलोपटक एउटी चेली राज्यमन्त्री बनेकी छन्, राधिका । तर, त्यहीँका कर्मचारी अहिले कहिल्यै नदेखिएको अर्को दृश्य देखेर आजित छन् । मन्त्रीभन्दा पति बढी जान्ने हुँदा कर्मचारी हैरान भएका हुन् ।

फुलमन्त्री भएको मन्त्रालयमा राज्यमन्त्रीको कामै कति हुन्छ र ? राज्यमन्त्री आफैँ भूमिकाविहीन हुनुपर्ने स्थितिमा बचेखुचेको भूमिका पनि पति दलबहादुर स्याङ्तानले निभाइदिँदा राज्यमन्त्री लगभग बेरोजगार छिन् । कतिसम्म भने, मन्त्रालयका कतिपय गोप्य छलफल मन्त्री÷राज्यमन्त्रीबाहेक अरूसँग गरिँदैन । तर, दलबहादुर पत्नीसँगै आएर ‘ठस्स’ बसेपछि बिचरा सचिव, सहसचिवहरूले गरून् पनि के नै ! नुवाकोट, लिखु– ४, पोखरेकी बासिन्दा राधिका र सिन्धुलीका दलबहादुरबीच वैवाहिक सम्बन्ध कायम भएको लामै समय बित्यो ।

पत्नी मन्त्री भएपछि आफैँ मन्त्री भएजस्तो कर्मचारीलाई पनि अह्राई–कराई गर्छन् । स्वकीय सचिवसम्म भए पनि ‘ठीकै छ’ भन्ने हुन्थ्यो । बिनाहैसियत मन्त्रालयका अधिकारीसँग ठाडठाडै कुरा गर्दा समस्या भएको गुनासो मन्त्रीसँग गरिसकेका छन् । तर, जहाँ, जति गुनासो गरे पनि कुरा उस्तै छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ठूलै प्रतिष्ठाको विषय बनाउँदै उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेलाई काजमा मन्त्रालय त ताने । तर, त्यो अडानमा एक दिन पनि टिक्न सकेनन् । अर्थात्, भोलिपल्टै काज बदर गराएर उतै हाजिर गर्न पठाउनुप¥यो ।

मन्त्री र महानिर्देशकबीचको यस्तो समस्याका कारण औद्योगिक प्रबद्र्धन बोर्डको बैठक अहिलेसम्म बस्न सकेको छैन । उक्त बैठक नबस्दा मन्त्रालयले गर्नुपर्ने अनगिन्ती नीतिगत कामहरू अस्तव्यस्त बनेका छन् । नवीन्द्रचाहिँ यस्तो विरक्तिमा बसिरहनुभन्दा विदेश शयर गर्नुमा कल्याण हुने ठानेर हप्तादिनका लागि आएको निम्तो मान्न आधा महिनाभन्दा बढी उतै बस्ने गरी हिँडेका छन् । अहिले अष्ट्रेलिया पुगेका छन् । मन्त्री हिँडेसँगै कर्मचारी प्रशासन सम्हालेकी सहसचिव यामकुमारी खतिवडा पनि डेढ महिनाका लागि अष्ट्रेलिया पुगेकी छन् । मन्त्री र यामकुमारी गएको कार्यक्रम एउटै होइन । यामकुमारी अर्कै सेमिनारको कागजात पेश गरेर हिँडेकी हुन् । यी दुबैको अनुपस्थितिका कारण मन्त्रालय झन्झन् अस्तव्यस्त भएको बताइन्छ ।

उता, सोमबार घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झा पदावधि सकिएर घर गएका छन् । त्यहाँ नियुक्त गर्नुपर्ने अर्को कार्यकारी निर्देशक मन्त्री र कप्रकी सहसचिवको अनुपस्थितिका कारण प्रभावित भएको छ । नेपाल औषधी लिमिटेडको महाप्रबन्धक नियुक्तिका लागि पत्रिकामा सूचना त छापियो, तर प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रालयले एउटा सिन्को पनि भाँच्न सकेको छैन ।

अरूको जस्तो प्रतिशोधमा वा बनावटी शैलीमा होइन, अनियमितताका अनगिन्ती प्रमाणका कारण अख्तियारले १३ पाने भराई छानवीन चलाइरहेका एकजना सहसचिवलाई महानिर्देशक बनाउनै पर्ने प्रचण्डको दबाब छ । खानेपानी तथा ढल निकास विभागको महानिर्देशकका लागि उनै सहसचिव तेजराज भट्टको दौड चलेको हो । अर्बौैं बजेट र धेरै परियोजना भएको विभागका वर्तमान महानिर्देशक रामचन्द्र देवकोटा थमौती हुन र खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव भट्ट महानिर्देशक हुन प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका निकटस्थलाई प्रभावमा पार्ने दौडमा रातदिन लागेका छन् । यसका लागि व्यापक चलखेल सुरु भएको बताइन्छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा र लेखराज भट्टमार्फत् प्रधानमन्त्रीलाई प्रभावमा पारी भट्ट आजभोलि नै महानिर्देशक हुने दौडमा छन् । उनीविरुद्ध आयोजना कार्यान्वयन इकाई (पीआइडी) को तीन बर्ष प्रमुख हुँदा अकूत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । अख्तियारले छानबिनका क्रममा १३ पाने सम्पत्ति विवरण भर्न लगाइसकेको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउनुअघि पाइपदेखि सबै ब्यवस्थापन गर्ने काम पीआइडीले गर्दै आएको छ । यो परियोजना एसियाली विकास बैंकको सहयोगमा सञ्चालित छ । प्रचण्डले नै सम्हाल्दैआएको खानेपानी मन्त्रालयसँग प्रचण्डकै दबाबमा उनलाई नियुक्त गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर उनको नियुक्ति प्रक्रियामा सामेल भएबापत भोलि हुनसक्ने कारवाहीबाट जोगिन मन्त्रालयका हाकिमहरू टक्टकिन थालिसकेका छन् ।

भुटानी राजाले दिएको पाँच किलो सुन र दुई करोड नगद कहाँ छ ? भूटान सरकारले समेत चासो दिन थालेपछि बौद्धमा तनाव शुरु भएको छ । पोहोरको भूकम्पले क्षतिग्रस्त बौद्ध स्तुपा उद्घाटन त भयो । तर, बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीले भूटानी राजाको सहयोग आफैँ हजम पारेपछि यस्तो समस्या आएको हो ।

विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा र कार्यकारी निर्देशक फुबुयाङ्जी लामामाथि यस्तो आरोपसहिमत जिल्ला प्रशासनमा उजुरी परेको छ । बौद्ध घ्याङ गुठीका चिनियाँ लामा औतारी भूपतिबज्र लामा र उनका समर्थकले म्यानमारदेखि ताइवान र विश्वका बौद्ध धर्मावलम्बीले दिएको सुन र नगद नै पारदर्शी रूपमा नदेखाएको आरोप क्षेत्र विकासका सम्पूर्ण र फुबुयाङजीमाथि लागेको हो ।

ठूलो परिमाणमा सुन र नगद गोलमाल गरेका बौद्धनाथ क्षेत्रका अध्यक्ष र कार्यकारी निर्देशकले धर्मशाला बनाउने भन्दै अर्को चन्दा उठाउने अभियान थालेका छन् । जसमा बौद्ध स्तुपाको विकासमा लामो समयदेखि क्रियाशील घ्याङ गुठीलाई अवमूल्यन गरिएको छ । समितिले कुनै छलफल नगरेको पाल्देन लामाहरूको भनाइ छ । ताइसितु रिम्पोछेले दिएको सुनसमेत नदेखाएको आरोप उनीहरूले लगाएका छन् । अध्यक्ष सम्पूर्णको व्यक्तिगत स्वामित्वमा रहेको होटल हर्निकामा कार्यक्रम गर्ने नाममा पनि घोटालाबाजी भएको उजुरी प्रशासनमा छ ।

प्रधानमन्त्री प्रचण्डले मंसिर ७ गते उद्घाटन गरेको बौद्धस्तुपा निर्माणमा क्षेत्र विकासका सम्पूर्ण र फुबुयाङजीले घ्याङगुुठीलाई उपेक्षा गरेकोमा भूपतिबज्र रुष्ट छन् । मंसिर ३ गतेदेखि ५ गतेसम्म भएको पूजा र ७ गते भएको उद्घाटनमा बौद्ध स्तुपामा प्रवेश गर्नका लागि पास नै ५ हजारदेखि २५ हजारमा सम्पूर्ण र फुबुयाङजीले फ्री तिब्बतीलाई बिक्री गरेको आरोप लगाइएको छ ।

टिप्पणीहरू