चेलीबेटी काण्डमा पत्रकार चलान

‘इण्डिया गयौ भने तिमीहरूले धेरैजनासँग सम्पर्क राख्नुपर्छ र थोरै पैसा हुन्छ । त्यसैले यहीँ बस, सब काम गोप्यमा गरौँला । तिमीहरूले भनेजति पैसा दिउँला । हामी यहाँको मन्त्रीजस्तै पावरफुल मान्छे हो ।’

सोझा चेलीसँग यसरी सौदाबाजी गर्ने यी ‘पत्रकार’ लाई तपाईंले अगाडि देख्नुभयो भने पक्कै पनि गाला रन्किने गरी चड्काउनुहोला । तर, पत्रकारलाई यस्ता काममा उकास्ने प्रहरी पनि कमका रहेनन् ।

यसरी प्रहरीले ‘लोकमानशैली’ मा ज्यादती गर्ने, एकथरि पत्रकार उनैसँग मिलेर दलाली धन्दा चलाउने र अर्काथरी पत्रकारले चिसो छिँडीमा रात बिताउनुपर्ने ! पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवले यस्तो हर्कत देखाए । तर, यही घटनामा समाचार संकलन गर्न गएबापत कान्तिपुर संवाददाता देवनारायण यादवको जागिर संकटमा परेको छ, अर्का पत्रकार अर्जुनकुमार थपलियाले सात दिन प्रहरीको हिरासतमा बसेर हिजोमात्रै मुक्ति पाएका छन् ।

घटना, सिरहाको भारतीय सीमावर्ती क्षेत्र माडरको हो । तिहारको किनमेल गर्न घरकी काकीसँग यमुना विक, मल्लिका परियार माडर नाका हुँदै भारतीय बजार जाँदै थिए, कात्तिक १० गते । त्यहाँ ‘साना हातहरू’ नामक संस्था चलाएर बस्ने केही महिलाले उनीहरूलाई रोके । भने, ‘सशस्त्र प्रहरीसँगको मिलेमतोमा चेलीबेटी बेचबिखन हुन लाग्यो †’ ती महिलाले यसरी प्रतिवाद गर्नासाथ जिल्ला प्रहरी कार्यालयबाट एसपी श्यामलाल ज्ञवालीले टोली पठाए । कान्तिपुर संवाददाता देवनारायण यादवले खबर पाए, युवती नियन्त्रणमा लिइए, उनका पैसा र गहना प्रहरीले छिनमै गायब पारिदियो । स्वाभाविक थियो, पत्रकारले यति सूचना पाएपछि रिपोर्टिङ गर्ने नै भयो । देवनारायण घटनास्थल नपुग्दै भतिजीहरूलाई तिहारको किनमेल गराउन बजार लैजाँदै गरेकी काकी चेलीबेटी बेच्ने गिरोहकी ‘नाइके’ भनिँदै प्रहरी हिरासतमा राखिइन् ।

भतिजीहरू त्यहीँको एउटा क्रिस्चियन मिसनरीका रूपमा सञ्चालित ‘सेफ हाउस’ मा राख्न भनी पठाइए । यसपछि बल्ल देवनारायण पुगे, पीडित भनिएका युवती भेट्न । उनले पीडितसँग घटनाबारे सोध्न पनि पाएका थिएनन्, के भएको हो भनेर । उल्टै प्रहरीले पत्रकारलाई नियन्त्रणमा लियो । तुरुन्तै उनको मोबाइल खोसेर त्यहाँ पुगेका प्रहरीले एसपी ज्ञवालीलाई फोन गरे । अनि भने, ‘एसपी सा’बले बोलाउनुभएको छ ।’ देवनारायणले आफूसँग मोटरसाइकल भएका कारण प्रहरीको गाडीमा नजाने बताए ।

प्रहरीले उनको मोटरसाइकलपछाडि एकजना प्रहरी साथ लगाइदियो र जिल्ला प्रहरी कार्यालय पुगे । जिप्रकामा देवनारायणमाथि सोधपुछ भयो । त्यसपछि जिम्मा, जमानी बस्ने मान्छे बोलाउन लगायो । सप्तरी घर भएका देवनारायणले आफूसँग अहिल्यै आइपुग्ने मान्छे कोही नभएको भन्दै एसपीलाई नै जिम्मा बस्न भने । तर, एसपीले मानेनन् । एकैछिनमा पत्रकार महासंघ, सिरहाका अध्यक्ष देवकुमार यादव पुगे । प्रहरीले देवनारायणलाई उनको जिम्मामा जान भने । देवनारायणले मानेनन् । ‘जसको विश्वासै छैन, उसको जिम्मामा किन जाने ?’ भन्दै अस्वीकार गरे । केही समयपछि स्थानीय कांग्रेस अगुवा नरेश यादव पुगे, देवनारायणलाई छुटाए । देवनारायण त्यहाँबाट हिँड्नुअघि नै महासंघका सचिव जिवच्छ उदासीले ‘दुई जना बहिनीलाई उद्धार, पत्रकार पनि समातिए’ भनेर फेसबुकमा एउटा स्ट्याटस लेखे । त्यो स्ट्याटसमा अध्यक्ष देवकुमारले कमेन्ट लेखे, ‘नाम सार्वजनिक गर्नु पत्रकारको धर्म हो, त्यो मान्छे कान्तिपुरको संवाददाता देवनारायण यादव हो ।’

भोलिपल्ट ‘उद्धार गरिएका’ भनिएका चेलीहरूले लाहानमा पत्रकार सम्मेलन गरेर एउटा भिजुअल रेकर्ड सार्वजनिक गरे । भएको के रहेछ भने, रिपोर्टिङ गर्न घटनास्थल पुगेका देवनारायणलाई प्रहरी नियन्त्रणमा राख्न लगाई अध्यक्ष देवकुमार त्यहाँ पुगे । सेफ हाउसबाट युवतीहरूलाई निकालेर नजिकैको होटलमा पु¥याए । र, भने, ‘इण्डिया गयौ भने तिमीहरूले धेरैजनासँग सम्पर्क राख्नुपर्छ र थोरै पैसा हुन्छ । त्यसैले यहीँ बस, सब काम गोप्यमा गरौँला । तिमीहरूले भनेजति पैसा दिउँला । हामी यहाँको मन्त्रीजस्तै पावरफुल मान्छे हो ।’ युवतीले सप्रमाण यो संवाद पेश गरेपछि सिरहामा ठूलै हंगामा मच्चियो । अनुकल्प दैनिकका सम्पादक अर्जुनकुमार थपलियाले प्रहरी र पत्रकारका यी साझा धन्दा, अनैतिक मिलेमतोबारे लेखे । ती कुरा पत्रकार सन्तोष यादवले फेसबुकमा अपलोड पनि गरे ।

सिरहा, सप्तरीतिर यो कुरा भाइरलझैँ फैलियो । यसबाट प्रहरी पनि बद्नाम भयो । प्रहरीकै डिजाइनमा अध्यक्ष देवकुमारले अर्जुनलाई प्रतिवादी बनाएर विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी लेख्न लगाए । प्रहरी नै मिलेपछि कुरा सकिइहाल्यो, जाहेरी आरामसँग दर्ता भयो । त्यहाँबाट काठमाडौं चलान गरिएका पत्रकार थपलिया हिजो जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । पत्रकार देवनारायण यादवलाई कान्तिपुरले ‘कारवाहीस्वरूप’ काठमाडौंमा तानेको छ ।

टिप्पणीहरू