‘बैठकै बसेको छैन,के को सहमति ?’-एमाले नेता रघु पन्त

‘बैठकै बसेको छैन,के को सहमति ?’-एमाले नेता रघु पन्त

नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलले पार्टी एकताको सहमति जुटाएको चर्चा चलिरहेका बेला कार्यदलका एक सदस्यले त्यसको खण्डन गरेका छन् । एमाले स्थायी समिति सदस्यसमेत रहेका रघुजी पन्तले बैठक नै नबसेको कार्यदलले सहमति गर्यो भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभयो ।

‘कार्यदलको बैठक बसेकै छैन, कसरी सहमति जुटाएको भन्ने कुरा आयो ?,पन्तले प्रश्न गर्नुभयो, विषयमा प्रवेश नै नगरी निष्कर्ष आउँछ र ?’ यद्यपि उहाँले आज बस्ने बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने जानकारी दिनुभयो ।

यसअघि विभिन्न सञ्चारमाध्यममा कार्यदलले सहमतिको ड्राफ्ट तयार पारेको र आजै अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले हस्ताक्षर गरेर सार्वजनिक गर्ने समाचार आएका थिए । पन्तले त्यस्ता समाचारमा कुनै सत्यता नरहेको समेत दाबी गर्नुभयो ।

विवादका धेरै विषय मिल्न बाँकी रहेकाले अहिले नै भन्न सक्ने अवस्था नरहेको पन्तले बताउनुभयो । उहाँले जेठ २ मा फर्किने पूर्वशर्तलाई आधार बनाएर छलफललाई अगाडि बढाउने पनि बताउनुभयो । हिजो साँझ बसेको कार्यदल बैठकले सहमतिको ड्राफ्ट तयार गरेको भन्ने चर्चाबारे राखिएको जिज्ञासामा उहाँले आज बैठक बस्ने समझदारीबाहेक अन्य कुनै निर्णय नभएको बताउनुभयो ।

कार्यदलका सदस्यहरुको अनौपचारिक छलफल जारी रहेकै बेला शुक्रबार ओलीपक्षले एकतर्फी रुपमा केन्द्रीय कमिटीको बैठक राखेपछि चर्किएको विवाद मिलाउन निष्क्रिय रहेको कार्यदल पुनः सक्रिय भएको हो ।

शुक्रवार र शनिवार बालुवाटारमा बसेको संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाइएको रिटमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधव नेपाल पक्षका २३ जना सांसदलाई सोमबार साँझसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । नेपाल समूहले हस्ताक्षर फिर्ता लिन अस्वीकार गरेपछि अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको चेतावनी दिनुभएको थियो ।

हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने चेतावनीपछि ओलीपक्षका कार्यदल सदस्यहरु नेता नेपाललाई मनाउन आइतबार कोटेश्वर पुगेका थिए । हस्ताक्षर फिर्ता गर्न आग्रह गर्दै आफ्नै निवासमा आएका नेताहरुलाई नेपालले कार्यदलबाटै सहमति जुटाएर ल्याउन सुझाव दिएपछि कार्यदल सक्रिय भएको बताइन्छ ।

ओलीले लगत्तै त्यहि दिन साँझ यसअघि आफैंले कारबाही गरेका उपाध्यक्ष भीम रावललाई बालुवाटार बोलाएर लामो छलफल गर्नुभएको थियो । नेपाल पक्षका कार्यदल संयोजक रहनुभएका रावल कारबाहीमा परेपछि निस्क्रिय रहेको कार्यदल हिजोदेखि सक्रिय भएको हो ।

कार्यदलको बैठक आज बस्ने बताइएको छ । आज कार्यदलले सहमतिको खाका प्रतुत गर्ने र अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले अन्तिम रुप दिएपछि वक्तव्यका रुपमा सार्वजनिक गर्ने तयारी गरिएको कार्यदल स्रोतले बताएको छ ।

टिप्पणीहरू