चौथो ठूलो दल चोइटिन तयार

चौथो ठूलो दल चोइटिन तयार

संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको सन्निकट पुगेको छ । सहमति कायम गर्न निर्वाचन आयोग पुगेका दुवै पक्ष अलग-अलग पार्टी बनाएर जान सहमत भएपछि फुट निश्चित भएको हो ।

आधिकारिकतासम्बन्धी विवादमा छलफलका लागि बहादुर भवनस्थित आयोग कार्यालय पुगेका दुवै पक्षका नेताहरु जुटेर होइन फुटेर अघि बढ्न सहमत भएका हुन् । छलफलमा दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

‘दुवै पक्षको दाबी कायम रह्यो । त्यसैले अब मिलेर जाने सम्भावना रहेन’,उपेन्द्र यादव पक्षका कार्यालय प्रमुख प्रकाश अधिकारीले भने । आफूहरुले बहुमत सदस्यको हस्ताक्षरसहित आधिकारिकता मागेकाले त्यसबाट पछि नहट्ने उनले बताए । उनका अनुसार अर्को पक्षले पनि आधिकारिकता दाबी कायमै राखेपछि सहमति जुट्न नसकेको हो ।

ऐनको व्यवस्थाअनुसार सहमति कायम गर्न आयोगले मौका दिएपनि दुवै पक्षले आ-आफ्नो अडान नछोडेपछि जसपा विवाद अब इजलासबाट निरुपण हुने भएको छ । त्यसका लागि दुबै पक्षले दल दर्तासम्बन्धी ऐनबमोजिम दावी पेश गरेपछि आयोगले इजलास गठन गरेर विवाद निरुपण गर्नेछ ।

आयोगको छलफलमा यादव पक्षबाट अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र श्रेष्ठ,महेन्द्र राय यादव,मृगेन्द्र यादव,नवराज सुवेदीलगायतका नेताहरु सहभागी थिए । त्यस्तै,ठाकुर पक्षबाट अध्यक्ष महन्थ ठाकुर,वरिष्ठ नेता राजेन्द्र महतो,शरदसिंह भण्डारी, अनिल झालगायतका नेताहरु थिए ।

सत्ता समीकरणको विषयलाई लिएर विवाद बढिरहेका बेला अध्यक्ष महन्थ ठाकुर खेमा ओली सरकारमा सहभागी भएपछि जसपामा किचलो निम्तिएको हो । पार्टीको निर्णय विपरित ठाकुर पक्ष सरकारमा सहभागी भएपछि जसपा कार्यकारिणी समितिको बहुमतले ठाकुरसहित चार नेतालाई पार्टीबाट हटाएको थियो । त्यसको काउन्टरमा महन्थ खेमाले उपेन्द्र यादवलाई कारवाही गरेपछि दुवै पक्ष निर्वाचन आयोग पुगेका हुन् ।

आयोगले दुवै पक्षको कारवाहीलाई वैधानिकता नदिएपछि यादव पक्षले बहुमत सदस्यको हस्ताक्षरसहित आयोगमा आधिकारिकता दाबी गरेको छ । त्यसैको प्रक्रियाअनुसार आयोगले आज दुवै पक्षलाई छलफलमा झिकाएको हो ।

टिप्पणीहरू