ओलीले बिशेष कदम चाल्ने राप्रपा नेताको जिकिर (भिडियाे सहित)

ओलीले बिशेष कदम चाल्ने राप्रपा नेताको जिकिर (भिडियाे सहित)

प्रतिनिधिसभा विघटनको मुध्दामा सर्वोच्च अदालतको फैसला आउनुअगावै मुलुक नयाँ राजनीतिक कोर्समा प्रवेश गर्ने पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दिलनाथ गिरीले खुलासा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउनुअगाडि नै अर्को कुनै कदम चाल्ने संकेत पाएको उहाँले दाबी गर्नुभयो ।

भारतीय योजनामा आफूलाई अपदस्थ गर्न खोजिएपछि ओलीले बाध्य भएर नयाँ कदम चाल्न लागेको र त्यसमा राप्रपाको समर्थन रहने पनि उहाँले बताउनुभयो । जनआस्थाका लागि साहस न्यौपानेसँगको भिडियो कुराकानीमा पूर्वमन्त्री गिरीले प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको ट्युनिङ मिलेको र त्यसैको आधारमा नयाँ राजनीतिक परिस्थिति पैदा हुन लागेको दाबी गर्नुभयो ।

नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई उहाँले भारतीय संस्थापन र त्यहाँको कांग्रेस आईबीचको शक्ति टकरावको परिणामका रुपमा विश्लेषण गर्नुभयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन काँग्रेस आईको भूमिका रहेको र त्यसप्रति भारतीय संस्थापन पक्ष असन्तुष्ट रहेका कारण अहिलेको शक्ति संघर्ष त्यसैमा केन्द्रित रहेको गिरीले बताउनुभयो ।

भारतीय योजनामा आफूलाई अपदस्थ गर्न खोजिएपछि ओलीले बाध्य भएर नयाँ कदम चाल्न लागेको र त्यसमा राप्रपाको समर्थन रहने पनि उहाँले बताउनुभयो ।

भारतको संस्थापन पक्ष गणतन्त्रको बिरुध्द र काँग्रेस आई गणतन्त्रको पक्षमा भएकाले त्यसैको प्रभावले नेपालमा राजनीतिक ध्रुवीकरण बढेको उहाँको दाबी छ । ‘जुन ढंगबाट नेपालमा गणतन्त्र आयो,ओली त्यसको विरुध्दमा हुनुहुन्छ,उहाँ संघीयताको पनि बिरोधी हो । यो श्यामशरणहरुले दिएको गणतन्त्र हो,त्यसैले ओलीजी यसको बिरुध्दमा उभिनुभएको छ । एउटा षड्यन्त्रबाट आएको गणतन्त्र भन्ने बुझेको भएर नै उहाँ त्यसका विरुध्दमा उभिनुभएको हो’, उहाँले भन्नुभयो ।

गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रधानमन्त्री ओलीबीच समान धारणा रहेकाले पछिल्लो समय आफूहरुको निकटता बढेको उहाँले बताउनुभयो । गणतन्त्रका पक्षमा उभिन भारतको एउटा पक्षको अपेक्षा पूरा नगरेका कारण पार्टीभित्रैबाट ओलीलाई हटाउन खोजिएको नेता गिरीको दाबी छ ।

पाँच जना पूर्वप्रधानमन्त्रीको वक्तव्यले पनि नेपालमा भारतीय हस्तक्षेपलाई स्वीकार गरेको उहाँले बताउनुभयो । काँग्रेस आईको रोडम्यापको गणतन्त्र जोगाउन श्यामशरणको सल्लाहमा पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य दिएको गिरीको आरोप छ । तर,भारतीय संस्थापन पक्ष हावी भएकाले प्रधानमन्त्री ओली बलियो बन्दै गएको र प्रतिनिधिसभा पुनर्स्थापित हुनु अगावै नयाँ कदम चालिए अचम्म मान्नु नपर्ने उहाँले बताउनुभयो ।

‘अब केपीजीका अगाडि एउटै विकल्प छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुअगावै जुन किसिमको रोडम्याप बनाउनु भएको छ त्यसको ल्याण्डिङ हुन्छ । त्यो मनोविज्ञानबाट काम गरिरहेको देखिन्छ । हिन्दुत्वको कुरा त उहाँले गरिसक्नुभयो । यो मुलुक हिन्दुराज्य हो र यहाँ राजा पनि छ भन्ने उहाँले संकेत गर्नुभएको छ । यो संविधानले मुलुकको हित गर्दैन भन्ने राष्ट्रपति र उहाँ (प्रधानमन्त्री) लाई लागेको हो भने विकल्पमा जान अदालतको फैसला आउनु पहिले नै नयाँ कदम चाल्नुहुन्छ भन्ने आम विश्लेषण छ’, गिरीले भन्नुभयो ।

भारतीय रोडम्यापमा नेपालको राजनीति चलिरहेकाले जो सरकारमा आए पनि परिणाम एउटै आउने गरेको भन्दै उहाँले त्यसमा राप्रपासमेत उत्तिकै दोषी रहेको स्वीकार गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विशेष कदम चाल्ने दाबी गर्नुभएका पूर्वमन्त्री गिरीले त्यसको थप खुलासा भने गर्नुभएन ।

टिप्पणीहरू