एनआरएनए अमेरिकामा भाँडभैलो, सभास्थलमा प्रहरीको पहरा

एनआरएनए अमेरिकामा भाँडभैलो, सभास्थलमा प्रहरीको पहरा

आप्रवासी नेपालीहरूको संगठन एनआरएनएको अमेरिकामा हालै सप्पन्न साधारणसभामा सहभागीहरूबीच कुटाकुट र मारमुङ्ग्री भएको छ । राजनीतिक गुट र उपगुटमा विभक्त नेतृत्व कसले हत्याउने भन्ने सम्बन्धमा लामो समयदेखि नेपालीहरूबीच शीतयुद्ध चलिरहेको थियो । शनिबार न्यूयोर्कको शेराटन लग्वार्डिया होटलमा भएको साधारणसभामा उक्त युध्दले व्यवहारिक रुप धारण गरेको हो ।

‘विधानमा व्यापक परिवर्तनको प्रस्ताव यी खुराफातीहरूलाई मन परेको थिएन । यिनले बिरोध गर्न सकेनन् र सक्ने कुरो पनि भएन । अब यो वा त्यो बहानामा विधान प्रस्तुत गर्न नदिने चाल खेलिँदै (अनावश्यक विषय उठान गरी विधान संशोधन प्रस्तावको समय अभाव गराउँदै) छ । दुर्भाग्य यस्तो हुनुपर्छ,उस्तो हुनुपर्छ भनी लेख्ने फेसबुके अभियन्ताहरू पनि उपस्थित हुने छाँटकाँट देखिदैन । एउटाले गफै त हो नि मितज्यू भन्थे, हो रहेछ, तर न म थाकेको छु, न गलेको, न मलाई लोभ छ न डर, हरेक दिन बिहान आधा घण्टा मृत्युको अभ्यास गर्छु । मलाई छु मतलब,पास गराएरै छाड्छु ।

एनआरएनए साधारणसभाको अघिल्लो दिन उपाध्यक्ष तथा आयोजक समितिका संयोजक बीआर लामाले फेसबुकमा यस्तो स्टाटस लेखेका थिए । त्यसबाट साधारणसभा मुठभेडउन्मुख थियो भन्ने स्पष्ट भएको अर्को पक्षको दाबी छ । त्यही श्रृङ्खलामा एनआरएनए अमेरिकामा स्थानीय समयअनुसार शनिबार सम्पन्न दशौं साधारणसभा तथा पदस्थापन समारोहमा भाँडभैलो मच्चिएको हो ।

बिहान १० बजे भनिए पनि उद्घाटन डेढ घण्टा ढिलो शुरु भएको थियो । झण्डै ५० जनाले भाषण दिएको उद्घाटन समारोहमा बोल्ने सबैले आफ्नो गुट र उपगुटको डम्फु बजाएका थिए । त्यसबाट पनि एकछिन पछि त्यहाँको स्थिति अप्रिय हुने सबैले अनुमान लगाएका थिए ।

विवाद केमा हुँदै आएकाे थियाे ?

विशेषगरी एनआरएनए अमेरिकाका हर्ताकर्ताहरूबीच मतदान र शपथ ग्रहणको विषयमा विवाद हुँदै आएको थियो । शपथ ग्रहण समारोह अगावै निर्वाचन समिति भंग गर्ने दाउमा आईसीसीका सचिव गौरी जोशी र निवर्तमान अध्यक्ष सुनिल शाह लागेको अर्को पक्षको आरोप थियो । जोशी र शाहको योजना थाहा पाएका नवनिर्वाचित अध्यक्ष बुध्दि सुवेदीको समूहले भने उद्घाटन सत्र सकिनु अगावै शपथ ग्रहण सकाएर बन्द सत्र आफूहरूको नियन्त्रणमा सञ्चालन गर्ने तयारी गरेको थियो ।

तर त्यसबीच कन्भेनर तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष बीआर लामाले निर्वाचन समितिलाई आफनो काम अघि बढाउन माइकबाट उद्घोष गरिदिए । लामाले त्यसो भनेपछि सभापतित्व समेत गरिरहेका एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह जुरुक्क उठेर आफूलाई जानकारी नै नदिई लामाले प्रक्रिया मिचेको भन्दै स्टेजबाटै आपत्ति जनाए ।

त्यसपछि सुवेदी पक्षधर नवनिर्वाचित बोर्ड सदस्य,केही पदाधिकारीले होहल्ला गर्दे त्यहिँ नाराबाजी शुरु गरे । होहल्ला र नाराबाजीबीच टेक्सासबाट आएका कृष्ण लामिछाने पक्षधरहरूले सुनिललाई देखिने गरी सहयोग गरेका थिए । त्यसमा जनसम्पर्क समितिका केही सदस्य समेत थपिएपछि परिस्थिति गम्भीर बनेको बताइन्छ ।

साधारणसभा स्थलको अवस्था सहभागीहरूबीच हात हालाहाल र गालिगलौजमा उत्रनेसम्मको बन्दै गयो । त्यसपछि माहौल धकेला धकेलमा परिणत भएको थियो । त्यसको नेतृत्व कृष्ण लामिछाने समूहबाट जितेका कृष्णजीवी पन्तले गरेको अर्को पक्षले आरोप लगाएको छ । त्यत्तिनै बेला ती सबै दृश्य कैद गरिरहेका प्रवासी मञ्चका अध्यक्ष प्रभु थापामाथि आईसीसीका उपाध्यक्ष सोनाम लामा एक्कासी खनिए । त्यसपछि साधारणसभा एकाएक रणभूमिमा परिणत भएको हो

लगत्तै आईसीसीका सचिव गौरी जोशी र केशव पौडेलबीच कार्यक्रमस्थलमा कठालो समातेर तानातान समेत भएको थियो । उनीहरूले मुठी कसेर एकले अर्कोको अनुहारमा ठोक्न खोजेको तस्बिर एकैछिनमा सामाजिक सञ्जालमा भाइरल भएपछि एनआरएन अमेरिकाको साधारणसभाको वास्तविकता विश्वभर फैलिएको थियो ।

मुक्कामुक्की प्रहारपछि माहौल नियन्त्रणभन्दा बाहिर गएको सहभागी एक जनाले जनआस्थालाई बताए । सहभागीहरू पक्ष विपक्षमा विभक्त भएपछि साधारणसभा स्थलमा रहेका होटलका सेक्युरिटी पर्सनलले परिस्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यतिले नपुगेपछि स्थानीय प्रहरी नै बोलाउनुपर्यो । बोलाइएको १० मीनेटमा न्यूयोर्क प्रहरी सभाहलमा प्रवेश गरेर मुख्य झगडालुलाई ‘वाच’ गरेको बताइन्छ ।

सभास्थलका सुरक्षाकर्मी र न्यूयोर्क प्रहरीको कडा सुरक्षापछि परिस्थिति साम्य भएको हो । त्यहिबेला एनआरएन पूर्वअध्यक्ष खगेन्द्र जिसीले सबैलाई मञ्चबाट बाहिर जान आग्रह गरेका हुन् । पटक पटकको प्रयास र सुरक्षाकर्मीहरूको हस्तक्षेपपछि मञ्चमा रहेका सबै पक्षका सहभागीहरू उठेर गएका थिए ।

मञ्च खाली भएपछि निर्वाचन समितिका संयोजक विश्व बरालले होहल्लाबीच अध्यक्ष बुध्दि सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराइदिए । त्यसपछि सुवेदीले पदाधिकारी र च्याप्टरका निर्वाचित व्यक्तिहरूलाई शपथ खुवाएपछि अमेरिकामा बस्ने नेपालीले गरेको साधारणसभा र नेतृत्व चयनको प्रक्रिया सकिएको थियो ।

-न्यूयोर्कबाट पी देवकोटा

टिप्पणीहरू