भाखा ननाघ्दै अघिल्लै दिन भीम रावललाई यसकारण बालुवाटार बोलाइयो

भाखा ननाघ्दै अघिल्लै दिन भीम रावललाई यसकारण बालुवाटार बोलाइयो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिट निवेदनमा हस्ताक्षर गरेका एमालेका २३ जना माननीयलाई अविलम्ब हस्ताक्षर फिर्ता लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सोमबार बेलुका पाँच बजेसम्मको भाखा दिनुभएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल समर्थक भनेर चिनिनुभएका उहाँहरूले उक्त भाखालाई माखाको हैसियत दिएपछि प्रधानमन्त्रीले एमाले उपाध्यक्ष भीम रावललाई आइतबार साँझ बालुवाटार बोलाउनुभयो ।

आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष रावलबीचको भेटघाटको विस्तृत विवरण बाहिर नआए पनि कार्यदललाई जगाउने र छलफल गरेर धारणा बनाउने सहमति भएको बताइन्छ । त्यहि बमोजिम हिजो बालुवाटारमा यसअघि बनाएर नेताहरूलाई कारबाही गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक बसेको छ । अहिले डेढ बजे फेरि बस्दैछ ।

नेता नेपाल र उहाँको पक्षलाई सकेसम्म लतारेर,नसके बोकेर भएपनि आफू अनुकूल पार्टीमा ल्याउने योजना पटक पटक सफल नबनेपछि कार्यदलको आवरणमा ‘फेस सेभिङ’ गर्न दुबै पक्षका कार्यदल सदस्यहरूले चासो देखाएको बालुवाटारको दाबी छ । उहाँहरूबीच कम्तिमा दुई जना शीर्ष नेताबीच पार्टी एकता गर्ने सहमति भएको व्यहोरासहितको वक्तव्य निकाल्न सकिएमा अहिलेको अवस्थामा ठूलो उपलब्धि हुने निश्कर्ष हो ।

वक्तव्य जारी गर्न सकिएको अवस्थामा पार्टी विवाद हल भएको सन्देश जाने र त्यसले २३ जनाको हस्ताक्षरसमेत कमजोर भएको मनोविज्ञान पैदा हुने भएकाले आइतबार जसरी पनि कार्यदलको बैठकलाई निरन्तरता दिएर संयुक्त वक्तव्य जारी गर्नेसम्मको योजनामा प्रधानमन्त्री तथा एमाले अध्यक्षले छलफल केन्द्रित गर्नुभएको बताइन्छ ।

यसबीच जति प्रयास गर्दा पनि हस्ताक्षरकर्ता २३ जनाको बीचमा विभाजन हुन नसकेपछि बालुवाटारले पछिल्लो रणनीति अपनाएको बुझ्न कुनै गाह्रो छैन । स्वयम् नेता नेपालद्वारा टेलिफोन वार्ताको क्रममा केन्द्रीय कमिटीको बैठक रोकेर आपसी सल्लाह गरौं भनिएको अवस्थामा समेत प्रधानमन्त्रीले चासो नदेखाउनुभएको,हस्ताक्षर फिर्ता लिन ४८ घण्टाको समय दिइएको सन्दर्भमा अहिले भएको कार्यदलको बैठकले ठोस उपलब्धी हात पार्नेमा शंकै छ ।

यसबीच नेता नेपालले आइतबार आफू निकट सबै सांसदसँग भेटेर आवश्यक रणनीति र योजनाका कुरा गर्नुभएको छ । त्यसक्रममा सबै सांसदले हस्ताक्षर फिर्ता लिन नहुने भन्दै खबरदारी गर्नुभएको बताइन्छ । २३ जनामध्ये अलि नरम सुरेन्द्र पाण्डे देखिनुभएको छ । उहाँले दस्तखत सनाखत गर्नुभएको छैन । योगेश भट्टराई र गोकर्ण विष्टले भने हस्ताक्षर नै गर्नुभएको छैन ।

टिप्पणीहरू