अचम्म पो छ एमालेमा अचेल

एमालेमा अचम्म छ । एउटा सिंगो पुस्तालाई सनकको भरमा निस्क्रियताको शिकार बनाइएको छ । जिल्ला कमिटीमा पराजित भएकाहरुलाई प्रदेश कमिटीमा लैजाँदा केन्द्रीय कमिटीको चुनावमा एक भोटले हारेका पूर्वअञ्चल इञ्चार्जहरु विगत तीन वर्षदेखि ठण्डाराम हालतमा छन् ।

मेची इञ्चार्ज नरेश खरेल, कोशीका राजेन्द्र गौतम, सगरमाथाका धर्मनाथप्रसाद साह, गण्डकीका खगराज अधिकारी, भेरीका देवराज भार, महाकालीका उर्वादत्त पन्त, सेतीका भानुभक्त जैसीसहित आठ जनाको कन्तबिजोग भएको हो । अघिल्लो केन्द्रीय कमिटीमा रहेका र यसचोटि हारेका ३८ जना सल्लाहकारमा थन्क्याइएका छन्, कुनै परिभाषित जिम्मेवारी छैन ।

पूर्वकेन्द्रीय अध्यक्ष भएकै नाताले झलनाथ खनाललाई एक भोट पनि लिनु नपर्ने गरी दोस्रो वरियताको वरिष्ठ नेता बनाउने हुँदा एक भोटले केन्द्रीय सदस्य हुनबाट बञ्चित खगराज अधिकारी, तीन भोटका कारण पछि परेका पुरुषोत्तम पौडेलका सामु हात बाँधेर बस्नुको विकल्प छैन । चुनाव हारेका चार जना गोलाप्रथाबाट केन्द्रीय सदस्य भएका छन् । रामेश्वर फुयाँल, टुका हमाल, रामचन्द्र साह तेली, गणेश काङबाङ, विनोद श्रेष्ठ, टुकराज सिग्देल, एकबहादुर राना मगर, रघुवीर महासेठहरु क्षमता भएर पनि कथित लोकतान्त्रिक अभ्यासका नाममा जिम्मेवारीविहीन बनाइएका एमालेजन हुन् ।

सातौँ महाधिवेशनपछि अनुशासन आयोग प्रमुख बनाइएका बेदुराम भुषाललाई पनि कुनै जिम्मेवारी छैन । चौथो महाधिवेशनदेखिको हिसाब गर्ने हो भने यसरी पाखा लगाइएका नेताको संख्या पाँच सय नाघ्छ । यो स्थितिलाई हेर्दा कम्युनिष्टलाई अरुले सिध्याउनै पर्दैन, आफैँभित्रको तानाबानाले पछार्छ भन्ने कुराको सामान्य नमुना हो यो ।

टिप्पणीहरू