राम्रो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव

राम्रो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले हिजो आफूहरूले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा पुनर्कर्जा,ऋण तालिका पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिन सुझाव दिएको बताउनुभएको हो ।

महासंघले ब्याजदरलाई दुई अंकमा नबढाउन पनि सुझाव दिएको छ । हालको विषम परिस्थितिका कारण ब्याजदरलाई एक अंकमा कायम गराउनसमेत आग्रह गरिएको छ ।

अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला व्यवसायीले धानेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले साना तथा मझौला व्यवसायलाई कर्जाको प्रक्रिया सहज गराउन समेत माग गर्नुभएको छ । कूल कर्जाको १० प्रतिशत साना तथा मझौला उद्योगी व्यवसायीलाई दिने व्यवस्था मिलाउनसमेत उहाँले सुझाव दिनुभएको छ ।

महासंघले दुई वर्षसम्म कसैलाई पनि कालोसूचीमा नराखिदिन अनुरोध गरेको छ । साथै,राष्ट्र बैंकले बनाएको अति प्रभावित क्षेत्रको सूचीलाई परिमार्जित गरी अन्य पेशा,व्यवसायलाई समेत समेट्न उद्योगी तथा व्यवसायीहरूले माग गरेका छन् ।

टिप्पणीहरू