बिहानै ‘विशेष बात’

जापान भ्रमणमा निस्कनुअघि आइतबार बिहानै बालुवाटार पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझबुझपूर्ण कार्यशैली अपनाउन सुझाव दिएका छन् ।

उनको राय थियो, ‘चुनावको तयारी र संविधान कार्यान्वयनलाई सँगै लैजानुपर्छ । त्यसनिम्ति पहाड र तराईमा सहज वातावरण हुनु जरुरी छ । हतार गर्दा कुरा बिग्रिएला ।’ हौसिएर बोल्ने प्रचण्डको बानीले समस्या ल्याउला भन्नेमा रामचन्द्र एकदम सजग रहेछन् । यसैले भने, ‘एमालेसँग निहुँ खोज्नु भा’छैन । मधेसमा सिके राउत र गोइतको गतिविधि बढेको देखियो । त्यसैले सबैतिर विचार गरेरमात्र अघि बढ्नुपर्छ ।’ रामचन्द्रका कुरा सुनेपछि प्रचण्डले मधेसी दलहरुबारे केही असहमति प्रकट गरे । ‘संविधानको संशोधन प्रस्ताव ल्याउने कुरामा मधेसी दलले खुलेर समर्थन गर्दैनन् भने किन प्रस्ताव लैजान हतार गर्ने ?’ उनले प्रश्न गरे ।

रामचन्द्रलाई लागेको रहेछ, यो सबै विमलेन्द्रको कारणले भएको  हो । भने, ‘स्थानीय पार्टीपंक्ति संशोधनको विरोधमा छन् । जनता विपक्षमा उत्रिने र त्यसको नेतृत्व एमालेले गर्ने देखियो । त्यसले चुनावमा असर गर्छ । मधेसीलाई चित्त बुझाउने नाममा एमालेसहित स्थानीय जनता भड्किन्छन् ।’ रामचन्द्रको सुझाव थियो, ‘तराईका कतिपय सिमानालाई महेन्द्र राजमार्गले चिरे पनि त्योभन्दा सात आठ किलोमिटर दक्षिणसम्म पनि पहाडे बस्ती छ । मधेस भनिए पनि पहाडबाट झरेका बासिन्दाको बाहुल्यता छ । ती बिच्किने खतरा छ ।’

टिप्पणीहरू