जेलको डरलाग्दो जञ्जाल

कारागारलाई नेपाल सरकारले सुधार गृह बनाउने विभिन्न कार्ययोजना ल्याए पनि आन्तरिक प्रशासनमा नाइके कैदीको दमन, शोषणबाट अन्य साधारण कैदीबन्दी यातना सहन बाध्य हुँदै आएका छन् ।

सिन्धुली कारागार शाखामा नाइकेहरूको कुटाइबाट दैनिकजसो बन्दीहरू बिरामी भई स्थानान्तरण हुन बाध्य भएका छन् । त्यहाँका नाइके चौकीदार कर्तव्य ज्यान मुद्दाका मित्रलाल श्रेष्ठ, विदुर कार्की, गणेश श्रेष्ठ र जबर्जस्तीकरणी मुद्दाका यम्बर तामाङले बन्दीलाई शोषण गर्ने, अनावश्यक रकम माग्ने, सरकारले दिएको पैसा पनि अन्य बन्दीलाई नदिने गर्दै आएका छन् ।

उनीहरूले दशैंमा आएको भत्ता पनि वितरण नगरी भोज खाने, अन्य बन्दीलाई भोजमा सरिक गराएको जस्तो गरे पनि छुट्टै दाल र भात मात्र दिने गरेका छन् । उनीहरूले कैदीबन्दीलाई निर्मम तरिकाले कुटपिट गर्ने गरेको घटना बाहिर सार्वजनिक हुने गरेका छैनन् । प्रशासनले पनि नाइके–चौकीदारकै मात्र कुरा सुन्छ । तिनले केही दिनअघि मात्र त्यहाँबाट कैद भुक्तान भई निस्केका पूर्व नेपाली सेनाका कर्मचारीलाई असोज ९ गते निर्घात तरिकाले कुटेर बाहिर कसैलाई भने गुण्डा लगाउने धम्की दिएका थिए । घटनाबारेमा कारागार कार्यालय प्रमुखलाई जानकारी गराउँदा यो सामान्य हो भन्छन् र उल्टै पीडितलाई नै धम्क्याउँछन् ।

कारागार कार्यालय प्रमुख मात्रिकाप्रसाद पहाडी हुन् । उनी पनि आर्थिक चलखेलमा सामेल हुन्छन् । नाइकेबाहेक अन्य कसैको कुरो सुन्दैनन् । उनले मोटो रकम लिएर रामेछाप कारागारमा अनैतिक गतिविधि, शोषण गर्न पूर्व चौकीदार खड्ग नेपालीलाई सिन्धुली कारागार स्थानान्तरण गरे । उनलाई फेरि रामेछाप नै स्थानान्तरण गर्नका लागि कारागार व्यवस्थापन विभागमा सिफारिस गर्दैछन् । कुनै पनि मुद्दाका व्यक्तिलाई फैसला नभई कारागार आन्तरिक प्रशासनको नाइकेमा नियुक्त गर्न नमिल्ने व्यवस्था कारागार ऐनमा हुँदाहुँदै पनि सिन्धुली कारागारका जेलरले मुद्दा फैसला नभएका व्यक्तिलाई मुलनाइकेको जिम्मेवारी दिएका छन् ।

– पीडित कैदीबन्दीको तर्फबाट

टिप्पणीहरू