उता युरोकप र कोपा अमेरिका खेलिँदा यता सट्टेबाजी आतंक

उता युरोकप र कोपा अमेरिका खेलिँदा यता सट्टेबाजी आतंक

युरोप र दक्षिण अमेरिकामा जारी युरोकप–२०२० र कोपा अमेरिका कप फुटबलमा सट्टेबाजी गर्न लगाउने आठ जना पक्राउ परेका छन् । अनलाइनमार्फत् ठूलो रकमको बाजी राख्न लगाउने ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका सूचना अधिकारी कृष्णप्रसाद कोइरालाले बताउनुभएको छ ।

कोइरालाका अनुसार सट्टेबाजी खेलाउने गरेको विशेष सुराकीको आधारमा खटिएको टोलीले आज काठमाडौको इन्द्रचोक,मरुटोल, न्यूरोड,क्षेत्रपाटी र गौरीघाटलगायतका स्थानबाट अनलाइन बाजी लगाएर नगद कारोबार गरिरहेको अवस्थामा आठ जनालाई नगद र त्यसमा प्रयोग गरिएको मोबाइलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुकेधाराका ५७ वर्षका राजेन्द्र श्रेष्ठ,ढोकाटोलका ४७ वर्षे जीवन लामा,वीरगञ्ज घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षका सुरज टिवडेवाल,भारतको बिहार पूर्वी चम्पारण घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षे अशोककुमार गुप्ता रहेका छन् ।त्यसैगरी चितवनको खैरहनी घर भई हाल धापासी बस्ने ४५ वर्षका गोविन्दप्रसाद आचार्य,भारतको हरियाणा विवरनी घर भई हाल इन्द्रचोक बस्ने वर्ष ४९ का राजेशकुमार अग्रवाल, राजस्थान झुनझु सुरजगढ घर भई हाल क्षेत्रपाटी बस्ने ३३ वर्षे सुचित डालमिया अग्रवाल र मोरङ विराटनगर घर भई मरुटोल बस्ने ४६ वर्षका अमरनाथ गुप्ता समेत सोही आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको कोइरालाले बताउनुभयो ।

सट्टेबाजीमा प्रयोग भएको पैसा रेमिट्यान्स कम्पनीहरुमार्फत् प्रयोग हुने गरेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू