कसरी बग्छ उल्टो गंगा ?

दशैं सकियो, तिहार सकियो, छठ सकियो । खुशी खुशीमै नेपाली सेनाका लेखा अधिकृत र विभिन्न तहका कमाण्डर पृतनापति, बाहिनीपति, गणपति र जिल्ला हाँकेर बस्ने गुल्मपतिलाई चाहिँ अर्को विशेष खुशियाली छाएको छ । त्यो हो ०७३ माघ १ गतेदेखि ०७४ पुस मसान्तसम्म रसद पानीको व्यवस्था गर्ने ठेक्कापट्टा । यसमा ठेकेदार र हाकिमको सानोतिनो चलखेल नै हुन्छ । घटाघटलाई ठेक्का दिनुपर्ने नियम हँुदाहँुदै पनि पल्टनका कमाण्डरले आर्थिक प्रलोभनमा परी बढी रकमको दररेटलाई स्वीकृतिको सिफारिस गर्ने गरेका छन् । दररेट जति बढे पनि जवानको रासन खाद्य सामग्रीको स्तर कहिल्यै सुधार हुन सकेको छैन । यस्तो कार्यमा लेखा अधिकृतले सजिलै माध्यम बनेर आर्थिक लाभ गर्ने र कमाण्डरसमक्ष नगद नोटले भरिएको ब्रिफकेस पु¥याउने गर्छन् ।

लेखामा काम गर्ने कर्मचारीलाई भाग्यमानी मानिन्छ । कारण हो, आर्थिक कारोबार । पैसा भएपछि शिवजी भगवान्समेत तेस्रो आँखा बाल्छन् भन्ने उखान त्यत्तिकै आएको होइन रहेछ । लेखा कर्मचारीलाई कमाण्डरले मन पराउने कारण पनि यही हो । पैसामा तालमेल नमिलाउने लेखा कर्मचारीलाई कमाण्डरले विभिन्न बहानामा सरुवा गरेरै छाड्छन् । सँगसँगै भर्ना भएर लेखा विभाग र इन्फेन्ट्रीमा परेका अफिसर हुन् वा पदिक, उनीहरूबीच आकाश–जमिन जत्तिकै जीवनस्तर फरक रहेको हुन्छ । इन्फेन्ट्री पल्टनमा कर्णेलसम्मको पदमा रहेकाहरू काठमाडांैमा घर बनाउन सकेका हुन्नन् र भाडा तिरेर डेरामा बस्छन् । उनीहरू पल्टनबाट डेरा वा यताउता हिँडडुल गर्दा प्रायःजसो बस वा मोटरसाइकलमा हिँड्छन् भने लेखाका अधिकांश कप्तान, मेजरको काठमाडांैमा १–२ वटा महल हुन्छ, कार चढ्छन् । कसरी सम्पत्ति आयो ? कर तिरेको छ÷छैन ? कुनै जाँच हँुदैन । कारण विभिन्न तहका कमाण्डर आफ्नो पोल खोलिने डरले चुप हुन्छन् ।

रकम कलम चलाउने प्रमुखमा सहायक रथी भुवनप्रसाद अधिकारी छन् । उनी नन स्टाफ कलेज र सैनिक पर्यवेक्षकबाट युएनको प्रवेश परीक्षामा फेल भई नेपाल फर्काइएका हुन् । उनीबराबर एउटै ब्याचका अमेरिका स्टाफ कलेज तालिम गरेका जर्नेलको समेत हैसियत पुग्दैन । उनको पदोन्नतिका बेला तत्कालीन रक्षासचिवले बहुविवाह गरी महिलालाई बिगारेको हँुदा फाइल रोकिदिएका थिए । यति मात्र होइन, आफ्नै स्टाफ महिला क्याप्टेनसँग जंगी अड्डाको आफ्नै अफिसमा दिउँसै रातो बत्ती बालेर बिल क्लिन्टन र मोनिकालाई बिर्साउने काण्ड चर्चित थियो । तर, पछि अर्का रक्षासचिव आए जर्नेलमा बढुवा भए । उनको चर्तिकला पहिला यसै जनआस्थाले धेरै पटक प्रकाशन गरिसकेको थियो । अथाह रूपमा सेनामा भर्ना भई जोडेको जायजेथा नेपाल सरकारले छानबिन गरोस् ।

सेनाको अर्को आर्थिक अनियमितता र भ्रष्टाचार मौलाइरहेको ठाउँ हो, विकास निर्माण । विकास निर्माणबाट विनायोजना अपारदर्शी रूपमा पल्टनको स्तरोन्नति गर्ने नाममा चिनेजानेको भरमा पल्टनका हाकिमलाई बजेट वितरण गर्ने र पल्टनले निर्माण कार्यमा जवानलाई प्रयोग गर्ने, ब्यारेकभित्र रहेका साल–सिसौजस्ता अति महँगो र मूल्यवान रूख रातारात काटेर निर्माणमा प्रयोग गर्ने, उम्रिएका काठ बाहिर मिल तथा फर्निचरलाई बिक्री गर्ने, निर्माणलाई चाहिने रड, सिमेन्ट, पुराना जस्तापाता स्थानीय व्यापारी, प्रशासनसँग माग्ने, नपाए पुराना कबाडीसँग कमसल खरिद गर्ने गर्छन् । भवन बन्छ तर नक्साअनुसार हँुदैन । स्तरयुक्त हँुदैन । बिल भर्पाई बजेटअनुसार तयार गर्छ, लेखा कर्मचारीले । निर्माण सकेपछि निर्माण हेर्ने जिम्मा लिएका अधिकृत र टोलीलाई खाममा केही नगद दिन्छ लेखाले र बिल भर्पाईमा बनावटी व्यापारी ठेकेदारको नाममा सही गर्न लगाई पूरा बजेट हाकिमले ६०५ र लेखाले ४०५ झ्वाम पार्ने चलन चलिआएको छ । यस्तो निर्माणकार्यका लागि पृतना हेडक्वार्टरले बाहिनी अड्डा र पृतना हाताभित्रका पल्टनबाट कम्तीमा सय जनासम्म तल्लो तहको जवान झिकाई प्रयोग गर्ने गरेको छ ।

पृतना र बाहिनीमा चलाख र आर्थिक लोभ भएका पदिक कमिसनका अधिकृतलाई निर्माण हेर्ने जिम्मा दिइन्छ । सेनालाई पेशागत तालिम दिएर युद्धका लागि तयार पार्ने कि अनावश्यक निर्माण काममा लगाई कुल्ली बनाउने ? निर्माण नै गराउने भए टेण्डर आह्वान गरी नियमअनुसार ठेकेदारबाट गराइयोस् । सिपाही प्रयोग नगरियोस् । हाकिमले निर्माण गर्दा, खाना बनाउँदा मट्टीतेल, इन्धन बचाई ठेकेदारबाट पैसा झ्वाम पार्न, खाट फर्निचर बनाई घर लैजाने गरेका हुँदा ब्यारेक हाताको रूख चेक गरियोस् । गाडी स्टार्ट फ्युल बापतको रकम गाडीमा नलगाई रकम झ्वाम पार्ने, रासन ठेकेदारलाई भुक्तानीमा झुलाई पैसा असुल गरेपछि चेक काटिदिने, बंगला र अधिकृत पदिक मेसमा बढी मेस खर्च राख्ने गरेका छन् । टिएडिए रकम नक्कली कागजात बनाई झ्वाम पार्ने गरेका छन् ।

स्टेशनरी, भइपरी, इन्टरनेट, मर्मतजस्ता शीर्षकका रकमसमेत पृतनापति, बाहिनीपति, गणपति र गुल्मपतिले लेखासँग मिलेर झ्वाम पार्ने गरेको हँुदा चिफसाबले कडा निगरानी गरी कालिकोटको गुल्मपतिलाई छत्रमान चिफ साबले जेल हालेजसरी हालियोस् । निजामती र प्रहरी सेवामा रहेका उच्च पदाधिकारीउपर नेपाल सरकारले सम्पत्ति छानबिन गरेजस्तै नेपाली सेनाका केही अकुत सम्पत्ति कमाउने हाकिम र लेखामा काम गर्ने कर्मचारीमाथि यथाशीघ्र छानबिन प्रक्रिया शुरु होस् । यस्ता व्यक्तिको नाम चाहिएमा हामी प्रमाणसहित गोप्य रूपमा उपलब्ध गराउन तयार छौं ।

– रमिते तथा पीडित बिल्लादारवर्ग, नेपाली सेना

टिप्पणीहरू