जनताको सुविधा बढ्यो है

सांसदको सुविधा बढ्यो । सांसद सुविधा ह्वात्तै । आफ्नो सुविधा आफैं बढाए । सांसदको भत्ता एक लाख ।

यो साता केही दैनिक पत्रिकाका शीर्षक हुन् यी । सुविधा बढेलगत्तै पत्रिकाले लेखिहाले । सुविधा बढेकोमा किन यति ठूलो रडाको ? सांसद भनेका जनताका प्रतिनिधि । अतः तिनको सुविधा बढ्नु जनताकै सुविधा बढ्नु हो । के जनताको सुविधा बढाउनु अपराध हो ? जनताले राज्यमाथि आफ्नो अधिकार जमाउने भनेको सांसदमार्फत हो । र, राज्यले पनि जनतालाई संबोधन गर्ने भनेको सांसदमार्फत नै हो ।

यदि, सांसदलाई हामी व्यक्ति ठान्छौं भने व्यक्तिको सुविधा पनि त बढाउनै प¥यो नि ! सांसद हुन कम गाह्रो छ ? हामीले देखिरहेकै छौँ, सांसदले रात–रातभरि जागा बस्नुपरेको छ । संसद बोलाएपछि टाइममा पुग्नु परिहाल्यो । नेताबाट यो गर वा त्यो नगर भन्ने आदेश नआउँदासम्म त्यहीँ बसिरहनुप¥यो । कहीँ जान मिलेन । मानिस घरमा मजाले सुत्छन् ।

तर, बिचरा सांसदले सुत्नसम्म पनि संसद् भवन नै आउनुपर्छ । भात खान जाऊँ भने क्यान्टिनको हालत त्यस्तो छ । बासी भात ख्वाइन्छ । बिचरा सांसदले ताजा–ताजा खान पाउने त मतदाताको गाली मात्रै हो । यस्तो स्थिति छ । अनि नबढाई भयो त सुविधा ?

टिप्पणीहरू