बच्चा र पत्नी मारेर आफू खोरतिर

बच्चा र पत्नी मारेर आफू खोरतिर

कोरोना कहरबीच बनेपामा श्रीमानले श्रीमती र बच्चालाई कोठाभित्रै ओछ्यानमा सुतिरहेको अवस्थामा सिरकले मुख थुनेर मारेको शव २४ घण्टापछि फेला परेको छ । श्रीमान् आफैले पनि औषधि धेरै सेवन गरेकाले अस्पतालको उपचारपछि प्रहरी हिरासतमा छन् ।

चौरीदेउराली गाउँपालिकामा ससुरा र श्रीमान् मिलेर श्रीमतीलाई जिउँदै खाडल खनी पुरेको अवस्थामा ३ दिनपछि फेला परेको छ । कसैले थाहा नपाओस् भनेर मकैबारीभित्र पुरिएको उनीहरूले बयान दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा २०७८ वैशाख १९ गतेदेखि जारी निषेधाज्ञाबीच पनि आपराधिक घटनामा कमी आएका छैनन् ।

डेढ महिनाको अवधिमा कोभिडबाहेक विभिन्न अपराधमा संलग्न १५ व्यक्ति पक्राउ परेका छन् भने ३७ जनाको निधन भएको छ । प्रहरीले अपराधमा संलग्न फरार केही व्यक्तिको खोजी गरिरहेको बताएको छ ।

‘निषेधाज्ञाको अवधिमा जिल्लामा कर्तव्य ज्यान, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती करणी, अभद्र व्यवहार, चोरी, बालयौन दुरुपयोगका घटना भएका छन्’, प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले भन्नुभयो, ‘सवारी दुर्घटनाबाट अंगभंग, सवारी ज्यान, सवारी भवितव्य ज्यान, गौवधलगायत घटना भए ।’ अधिकांश घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेका छन् । सवारी दुर्घटनाबाट अंगभंग गराउने एक र गौवध अभियोगमा संलग्न एक गरी दुई जना फरार छन् ।

यो अवधिमा ४५ वटा घटना दर्ता भएका छन् । प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले निषेधाज्ञा अपराधमा संलग्न व्यक्ति पहिचान गरी नियन्त्रणमा लिइएको बताउनुभयो । जस्तोसुकै परिस्थितिमा पनि नागरिकलाई जिउधनको सुरक्षाका लागि प्रहरीले शान्ति सुरक्षा कायम राख्न नियमित गस्ती, अनुसन्धान र परिचालन गरिरहेको डिएसपी खतिवडाले बताउनुभयो ।

निषेधाज्ञा अवधिमा दर्ता भएका सबैभन्दा धेरै घटना झुण्डिएर मृत्यु भएकाहरूको हो । जिल्लामा सबैभन्दा धेरै घटना आत्महत्याका छन् । झुण्डिएर १० जनाले ज्यान गुमाए भने विषादी सेवन गरेर ५ जना खेर गए । लडेर निधन हुनेहरूको संख्या ३ छ । विषालु च्याउ खाएर ३ जनाको निधन भएको छ । आगोले जलेर दुई जनाले ज्यान गुमाए । खोलामा पौडी खेल्दा डुबेर चार जनाको मृत्यु भएको छ । अन्य कारणबाट ५ जनाले ज्यान गुमाएका छन् ।

जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगमा एक–एक जना पक्राउ परेका छन् । निषेधाज्ञाको अवधिमा अवसर छोपी बालयौन दुरूपयोग गर्ने, जबर्जस्ती करणी गर्न खोज्ने र जबर्जस्ती करणी गर्नेहरूलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । कर्तव्य ज्यान मुद्दाका दुई घटनामा १ पुरुष र १ महिलाको निधन भएको छ ।

श्रीमतीलाई खाडल खनेर पुर्ने श्रीमान्, ससुरा २ जना पक्राउ परेका छन् भने एक जना महिला श्रीमान् मारेको अभियोगमा समातिएकी छन् । चोरीका दुईवटा घटना भए । प्रहरीको सक्रियता रहँदा रहँदै रातको समय पारी पसल तथा घरमा चोरी भएको छ । जसमा संलग्न एक व्यक्ति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

अभद्र व्यवहारमा सबैभन्दा धेरै ८ जना पक्राउ परेका छन् । बनेपाको तरकारी बजारमा ठक्कर दिएर भाग्ने सवारी साधन र चालकको खोजी भइरहेको छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू