बतासिएर बोल्दाका बर्बादी

  • रमण पनेरु

‘नखुलेको आकाश खुलेर आयो
ऊ शायद यो बाटो भुलेर आयो
झ¥यो त के भो जाही र जुही
त्यो पलास मनमा फुलेर आयो’

बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्ति सुनाउँदा एकदमै भावुक बनेको थिएँ । उनले पति र छोरा इञ्जिनियर हुँदाहुँदै आफूलाई हेलाँ गरेको र सात वर्षसम्म पीडामा बाँचेको, चिताको आगो तापेर हिउँद काटेको, भनिरहँदा मान्छे सन्तान पाउनाको सास्ती अनि हुर्काउनका लागि गरिने अनेक दुःख–कष्ट किन गर्छन् होला जस्तै लाग्यो । त्यसको साटो वृद्धावस्थाको व्यवस्थापनका लागि केही जोरजाम गरे जीवन कति सहज हुन्थ्यो होला भन्ने पनि लाग्यो । आखिर न पति न छोरा, कोही आफ्नो हुँदो रहेनछ !

कञ्चन रेग्मीलाई फोहोरको थुप्रोबाट उद्धार गरेर पवित्र सेवा समाजमा लगी आश्रय दिइरहेकी दीक्षा चापागाईं एकपटक प्रत्यक्ष भेट भएकी व्यक्ति थिइन् । लाजिम्पाटस्थित सनराइज बोर्डिङ स्कुलमा पढाउँदा त्यहाँकी पूर्वप्रधानाध्यापिका सुजला कार्कीको स्मृतिमा आयोजित कार्यक्रममा उनको बालाश्रममा भएका बालबालिकालाई खुवाउने र कापी–कलम वितरण गर्ने कार्यक्रमका वेला हाम्रो सानो कुराकानी भएको थियो । त्यसपछि उनीबारे जति कुरा सुनिए, राम्रै सुनिए ।

सामाजिक सञ्जालले सूचनाको प्रवाहमा यति गति ल्याएको छ कि त्यो अन्तर्वार्ता एकाएक चर्चित भयो । सबैले त्यसबारे केही न केही भनाइ राख्न थाले । उनको पतिबारे पत्तो लाग्यो । मोहन रेग्मी र परिवारको तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन थाले । तिनमा मोहन र छोराप्रति गालीगलौजका शब्द प्रयोग हुन थाले । यतिसम्म कि मोहन रेग्मी र छोराको फेसबुकमा गाली–गलौजपूर्ण सन्देश पठाऔँ भन्ने अभियान नै चल्यो ।

कञ्चन रेग्मीको सो अन्तर्वार्ता हेरेपछि एक किसिमको आक्रोशपूर्ण अभिव्यक्ति आउनु अनपेक्षित त थिएन तर त्यसले एक हद पार गरेको थियो । त्यस्तैमा कञ्चन रेग्मीले मेरो भनी वाचन गरेको गजललाई रवि प्राञ्जलले आफ्नो रचना भएको र त्यो ०६० सालमा प्रकाशित ‘उही बाढी उही भेल’मा समेत समावेश भएको भन्दै फेसबुकमार्फत आपत्ति जनाए । यतिसम्म कि उनको सो गजल रेकर्डसमेत गरिएको रहेछ । सजल न्यौपानेको गायन र सागर न्यौपानेको संगीत रहेको सो गीतको आधिकारिक श्रव्य–दृश्य नबनेको भए पनि युट्युबमा ६ वर्षअघि अनधिकृत श्रव्य–दृश्य बनाएर राखिएको आफंैले हेरेपछि उनको कुरामा शंका गर्ने ठाउँ नै रहेन । यदि रवि प्राञ्जल सही छन् भने कञ्चन रेग्मीले के झुटो बोलेकी हुन् त ?

रवि प्राञ्जलको भनाइले पनि त्यही गीतमा चर्चा पायो जसमा कञ्चन रेग्मीको अन्तर्वार्ता चर्चित बन्न पुगेको थियो । कञ्चन रेग्मीका कुरामा शंका गर्ने ठाउँ भेटेपछि र उनका पति मोहन रेग्मीले फेसबुकमार्फत पनि सञ्चारमाध्यममा आफ्ना कुरा बाहिर ल्याउने जानकारी गराएपछि जनसामान्यको मत विभाजित भयो । अघिसम्म एकतर्फी रूपमा मोहन रेग्मी र उनका छोरालाई गलत देख्नेमध्ये केही कञ्चन रेग्मीले कसैको प्रभावमा आएर गलत बोलेको हुन सक्ने अनुमान गर्न थालेका थिए भने कतिले अझै पनि मोहन रेग्मीलाई नै दोषी देखिरहेका थिए ।
अहिले मोहन रेग्मीको पूर्ण अन्तर्वार्ता पनि युट्युबमार्फत सार्वजनिक भएको छ ।

अन्तर्वार्तामा रेग्मीले कञ्चन रेग्मी रक्सीको अम्मली भएको र अनेक अवाञ्छित क्रियाकलापमा समेत संलग्न रहनुका साथै आमा हुनुको दायित्व र पत्नीको कर्तव्यबाट विमुख भएपछि पारिवारिक सुझाव अनि सहमतिमा पारपाचुके गरेको भनेका छन् । रेग्मीले आफ्नी पूर्वपत्नीले बिएस्सी नर्सिङ नगरेको र त्यसको साटो ६ महिने अनमी तालिम लिएको, पछि बिएस्सी गर्ने क्रममा निश्कासनमा परेर पढाइ पूरा नगरेको बताए । इन्जिनियर छोरो टक्सन गाडी चढेर छेवैबाट जाँदा पनि आफूलाई नहेरेको भन्ने कुरामा रेग्मीले छोरो अझै अध्ययनकै क्रममा रहेको र बीचमा दुव्र्यसनका कारण पढाइ बिग्रिएकाले पढाइ लम्बिएको बताए । एसएलसीको प्रमाण पत्र च्यातेको (थोरै च्यातिएको भनेका छन्) तर पछि प्रतिलिपि मगाएर कञ्चन रेग्मीलाई बुझाएको बताएका छन् । परिवार कोही बाँकी नभएको भनेर कञ्चन रेग्मीले भनेकी भए पनि मोहन रेग्मीले नालीबेली खोलिदिएका छन् ।

यसो हेर्दा कञ्चन रेग्मीले लगाएका धेरैजसो आरोप झुटा देखिन्छन् । उनका पति मोहन रेग्मीले पति÷पत्नीबीच हुने झगडा आफूहरूबीच पनि हुने र आफू देवता नभएकाले भूल भएको स्विकारेका छन् । त्यसका साथै पारपाचुकेपछि कञ्चन रेग्मीले पाउनुपर्ने सम्पत्ति दिन आफू हरदम तयार रहेको कुरा व्यक्त गरेका छन् । माइती पक्षबाट हर्जानाको रकममा सहमति नभएपछि पछि हटेको भन्ने देखिन्छ ।

यति खबरले सबैलाई दोमन पारेकै बेला कञ्चन रेग्मीलाई उद्धार गर्ने चन्दा थापाको तस्बिरसहितको लेख सार्वजनिक भयो । कञ्चनलाई भेट्दा थापाले उनको शरीरबाट पिसाब गन्हाएको र मुखमा रक्सीको गन्धसमेत भएको भनेबाट उनी मद्यपानकी अम्मली थिइन् भन्ने संकेत मिल्छ । उनलाई पनि कञ्चन रेग्मीले सुमन खरेललाई जस्तै कुरा सुनाएकी रहिछन् । त्यसपछि उनैले दीक्षा चापागाईंलाई सम्पर्क गरेर आजभन्दा ४ महिनाअघि मात्र (२१ जुलाई २०१६) पवित्र सेवा समाजमा सुम्पेकी रहिछन् । चन्दा थापाले लेखमार्फत नै कञ्चन रेग्मीले उनको उद्धार फोहोरको थुप्रोबाट गरिएको भनेको कुरा गलत भएको बताएकी छन् । लेखसँगै राखिएका तस्बिर हेर्दा पनि कहीँ–कतै त्यस्तो देखिँदैन ।

यी सबै कुरालाई एक ठाउँमा राख्दा कञ्चन शर्माका धेरै कुरा झुटो सावित भइसकेका छन् । कञ्चनले दीक्षा चापागाईंलाई भेट्नुपूर्वको भनाइ नै सुमन खरेलका कार्यक्रममा पनि व्यक्त गरेकाले कतिपयले अनुमान गरेजस्तो दीक्षा बहकाएर ती कुरा भन्न लगाएको नहुन सक्छ । कञ्चनले आफूप्रतिको सहानुभूति कायम राख्न पहिले र अहिले पनि एकै कुरा गरेको हुन सक्छ ।

जे होस्, यस घटनाले हामी नेपालीलाई एक पाठ भने सिकाएर गएको छ । भावावेशमा आएर कुनै एक पक्षको कुरा सुनेको आधारमा अर्को पक्षलाई तथानाम गर्नु मूर्खतासिवाय केही होइन । हामीले पद्धतिको सम्मान गर्न सिक्नुपर्छ । यदि, कञ्चन रेग्मीका कुरा साँचा छन् भने पनि उनलाई कानुनी उपचार दिलाउन प्रयास गर्नु बुद्धिमानी हुन्थ्यो । त्यसो गर्दा निर्दोषले सजाय पाउने थिएन ।

त्यस्तै, हाम्रो सञ्चारमाध्यमले यस प्रकरणबाट केही सजग हुनु आवश्यक छ । यसअघि पनि यस किसिमका घटना हुने गरेका हुन् । तर, ती घटना सेलाए पनि अर्को घटनाले कता–कताबाट जन्म लिइहाल्छ । आखिर जे गरे पनि गलत गर्नेले अन्तमा उन्मुक्ति पाउने भएकाले यस्तो भएको हुन सक्छ ।

हामीले कञ्चन रेग्मीबारे अनेकानेक समाचार पछ्याउँदै गर्दा सांसदले आफ्नो तलब–भत्ता बढाएका छन् । प्रतिसांसद एक लाखभन्दा बढी मासिक तलब हुनुले अबका दिनमा हरेक महिना ६ सय १ लाख सांसदको तलब–भत्तामा खर्च हुनेछ । सुजाता कोइरालाले एक पटकलाई ५० लाख लिएकोमा गाली गर्नेहरूले हरेक महिना लाखभन्दा बढी रकम तलब–भत्ता वितरण हुने कुराको विरोध गर्न नबिर्सिउन् । सकेसम्म सभ्य र शिष्ट शैलीमा विरोध गर्ने वा आफ्नो भनाइ राख्ने संस्कार बसोस् । जय देश !

टिप्पणीहरू