राष्ट्रियसभामा गुन्जियो असन्तुष्टिको आवाज

राष्ट्रियसभामा गुन्जियो असन्तुष्टिको आवाज

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै श्रेष्ठले अध्यक्ष तिमिल्सिनाले निष्पक्ष भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको हो ।

यसअघि आफूले सदनमा ३० मीनेट बोल्ने गरेकोमा अहिले १५ मीनेटमात्र दिएको भन्दै उहाँले सदनमा प्रतिगमनको बाछिटाको आभाष भैरहेको बताउनुभयो । ‘कता कता निरंकुशताको बाछिटा, प्रतिगमनको बाछिटा सदनमा पनि आउन थालेको महसुस भएको छ । यहि सदनमा मैले आधा घण्टा बोलेको छु,अध्यक्ष महोदय । आज २० मीनेट समय हुँदाहुँदै नदिने भनेर हुकुम जारी गरियो १५ मीनेटको रुपमा’,श्रेष्ठले भन्नुभयो ।

“उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो ?”

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री ओलीको स्वार्थमा काम गरेको भन्दै श्रेष्ठले राष्ट्रियसभालाई कुनै पार्टीको गुटको थलो बनाउन नहुनेमा जोड दिनुभयो । पहिला कुन पार्टी र कुन गुटको थिएँ भन्ने सोचबाट माथि उठेर राष्ट्रियसभाको अविभावकको भूमिकामा प्रस्तुत हुन उहाँले अध्यक्ष तिमिल्सिनालाई सुझाव समेत दिनुभयो ।

नेता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले मुलुकमा विदेशी हस्तक्षेप आमन्त्रण गरेको भन्दै आपत्ति पनि जनाउनुभयो । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको श्रेष्ठको आरोप छ ।

आफ्नो सम्बोधनका क्रममा उहाँले संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन सांसदहरू स्वतन्त्र रहने दाबी पनि गर्नुभयो । ‘उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो ?’, उहाँले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओली संविधान र लोकतन्त्र मास्न लागेको आरोप लगाउँदै श्रेष्ठले विगतमाजस्तै अदालतले संविधान जोगाउने विश्वास व्यक्त गर्नुभयो ।

टिप्पणीहरू