परिस्थिति बिग्रियोस्, मनस्थिति नबिग्रियोस्

  • संकेत कोइराला

बाबु : हेर न छोरी खातापिता एउटा शाखा अधिकृतको कुरा आ’को थियो ।
छोरी : (फन्किँदै) के म यो घरका लागि धेर भाकी हुँ । मलाई गर्नु छैन बिहेसिहे । (दुई महिनापछि )
बाबु : छोरी, हेर त सरकारी अस्पतालको डाक्टर रे ! एमडी गर्दै गरेको, हेर्दै लायक केटा रहेछन् । के छ तिम्रो विचार ?
छोरी : (झोकिँदै) मलाई किन बारम्बार तनाव दिनुहुन्छ हँ ? म आफ्नै करियर भएकी मान्छे हुँ । अहिले बिहे गर्नु छैन । यस्तै दबाब दिनुभयो भने म जस्तोसुकै अप्रिय निर्णय लिन बाध्य हुनेछु । त्यसको जिम्मेवार तपार्इं हुनुहुनेछ ।
(छोरीको बिहेका लागि बाबुले इन्जिनियर, पाइलट, व्यापारी, वकिल सबै तह र तप्काका केटा खोज्दा नभएपछि दिक्क मानेर हरेश खाँदै फेरि सोधेछन् ।)
बुबा : अमेरिकाको डिभी परेको, बल्लबल्ल चिट चोरेर १२ पास गरेको एउटा डुकुलन्ठू माग्न आएको छ । बिहे गरेर महिनाभित्रै अमेरिका लाने भन्छ । मलाई त पटक्कै मन परेको छैन । तिमीलाई केही भन्नु छ कि छोरी ?
छोरी : (मसक्क मस्कँदै) मैले हजुरको कुरा कहिले काटेकी छु र ? ज्योतिषले मेरो भाग्यमा विदेश जाने नै लेखेको छ भन्थे । आखिर पुग्ने छाँट आयो । कुरा अगाडि बढाइस्योस् न त बाबा ।
सिमेन्ट, बालुवा र इँटाले बनेर निष्प्राण ठिङ्ग उभिएको संरचनावाहेक आस्था, विश्वास र भरको सम्मिश्रणलाई घर मान्ने हो भने नेपाली समाजमा खडेरी लाग्दै गएको छ । हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताबीच मतान्तरको सेतु पहिल्याउन नसक्दा हरेक परिवारमा शान्तिपूर्ण विद्रोहको लाभा उम्लिँदै छ । एकातिर प्रत्येक छानोमा तीनपुस्ताको मिलन दुर्लभ बन्दै गएको छ भने अर्कातिर घरलौरी तीनवटा टिभी सेटको जरुरी बढ्नुले पनि सामञ्जस्य, समन्वय, सल्लाह र सम्मानका डोरी चँुडिँदै गएका छन् । हरेक पुस्ता आफ्नो समयको बखानमा मस्त छ । पहिलो पुस्ता आफ्नै स्वाभिमान र पुर्खाको वर्चस्वमा घमण्ड गर्छ । नयाँपुस्ता जन्मभूमिलाई ट्रान्जिटका रूपमा हेर्छ । जनै लाउने र गुन्युचोलीबाहेक उसका हरेक योजना युरोप, अमेरिका केन्द्रित छन् । घरव्यवहार, पाहुनापासा, आफन्त उसका नजरमा आँखाका कसिंगर हुन् । दाँत देखाएर ङिच्च हाँस्नु तिनका लागि असभ्य कर्म हो । बरु मोबाइलको किबोर्ड थिच्दै अक्षरको निर्जीव हिहीमा रमाउँदै गएको छ टिनएज पुस्ता । हजुरबा, हजुरआमा पुस्तासँगको संगत यो उमेरलाई बिझाउँछ । यी दुई सम्बन्धमा फेबिकोल बन्नुपर्ने बा–आमा पुस्ता मरिच चाउरिएभैंm चाउरिएको छ । ७४ जिल्लामध्ये कुनै जिल्लामा भएको आफ्नो भौतिक सम्पत्ति ऐश्वर्य नठान्ने तर जसरी हुन्छ, काठमाडौंमा एउटा टहरो ठड्याउन र सन्तान विदेश पठाउन सके जीवन सार्थक ठान्ने यो पुस्ता न बाउआमा, न सन्तानको प्यारो हुन सकेको छ । बरु घरव्यवहारको भ्वाङ टाल्दाटाल्दै शरीरमा रोगले राष्ट्रिय सहमति गरिसक्दा पनि दुख्न पाएको छैन । घरजग्गा जोड्ने र सन्तानको सपना पूरा गर्नेतिर लाग्दा माखामुन्द्रो, कमाइ सबै बैंकमा बुझाउन बाध्य यो पुस्ता भीरको फर्सी बन्न बाध्य छ । सबैलाई थाहा छ– बैंक भनेको त्यस्तो ठाउँ हो, जहाँ बादल लागेका बेला छाता दिइन्छ र पानी पर्दा फिर्ता मागिन्छ ।
धनी र अरूभन्दा पृथक् बन्न खोज्दा संसारको सबैभन्दा निर्धन र निर्वल मानिस बन्नुपरेको दृष्टान्त समाजमा छताछुल्ल देखिन्छ । एकादेशको मिथकजस्तै गाउँमा गरिबले खाने ढिंडोरोटो, च्याँख्ला, सिस्नोजस्ता अखाद्य पदार्थ अहिले सहरमा धनीले खाने महँगा ‘अर्गानिक भुजा’ भएका छन् । अरूका अगाडि छोराछोरी युरोप अमेरिकामा भएको भाषण गर्नेहरू नातिनातिनाको निरास मेट्न टमी नामको कुकुरलाई मोर्निङवाकको साथी बनाउन बाध्य छन् । युरोप, अमेरिका टेक्नुप¥यो भने छोरीबुहारीको सुत्केरी, सन्तानको दीक्षान्त समारोह जुर्नुपर्ने अवस्था छ । छोराछोरीका नजरमा जन्म दिने बाबुआमा कि कर्म दिने आमाबा प्राथमिकतामा पर्छन् त्यसको निक्र्योल डिभी चिाजस्तै कठोर र अदृश्य छ । पारिवारिक सन्तुलन मिलाउन सरकारको मुखियालाई सरकार चलाउन भ्यागुताको धार्नी नपुगेजस्तै हम्मे–हम्मे छ ।
यत्रतत्र देखिने दृश्यले यतिबेला देशलाई गरिखानेभन्दा मागिखाने बनाउनमा सबैको मिलेमतो छ भन्ने निष्कर्ष निकालियो भने अन्यथा हुँदैन । आपूmलाई निरपेक्ष राखेर बनाइने नियम, कानुनका कारण धोकामाथि धोका थपिएका छन् । एउटालाई खुसी पार्न र अर्कालाई सिध्याउन दफाका व्याख्या अपव्याख्या हुने गरेका छन् । एउटा प्रधानमन्त्री आफ्नो राजनीतिक सल्लाहकारको योग्यता स्नातकोत्तर तोकेर कानुनी व्यवस्था मिलाउँछ । अर्को प्रधानमन्त्री आउँछ उसले जागिर दिने मानिस स्नातक मात्र भएकाले निर्धारित योग्यतालाई स्नातकमा झार्छ । पछिल्लो प्रधानमन्त्री प्रचण्ड आए, उनका सहयोगी विना योग्यताका थिए, अन्ततः त्यो योग्यतालाई पनि शून्यमा बदलिदिए । यो आरोप नभएर यथार्थ हो । अघिल्ला अर्थमन्त्रीले सिएफल चिमको महत्वलाई प्राथमिकता दिएर सरकारको नीति तथा कार्यक्रम ल्याए । अर्का अर्थमन्त्री लिड चिमको पक्षमा उर्लिए । आखिर लिड र सिएफएल चिमप्रति मन्त्रीको बेग्लाबेग्लै मायापिरेम बसेको रहस्यबारे जनता बेखबर भइरहे । यसरी मुलुकलाई अन्तिम भोज बनाउने प्रतिस्पर्धा दिन दुईगुना रात चारगुनाका दरले बढ्दो छ । कच्चा पदार्थको भन्सार शुल्क कसिन्छ, तयारी सामानको खुकुलो पारिन्छ, अनि आत्मनिर्भरका भाषण फिँज काढेर गरिन्छ । दाल, चामललगायत खाद्यान्न आयातलाई भन्सार दरमा कसिलो पारेर एक महिनापछि त्यसको रिजल्ट हेरौं त देशको कुन भूभाग बाँझो बस्छ ? मुलुकका योजनाविद् जँड्याहालाई बाख्रो अनुदान दिने कामबाट गरिबी निवारणको ओखती खोज्छन् । उनीहरूको खाकामा बाख्रो दिएको, त्यसले सन्तान पैmल्याएको आँकडा त हुन्छ तर उसले हप्ता दिनमा बोतलको पानी रित्याउन त्यही बाख्री सितनका खातिर ढालेको यथार्थ हुँदैन । समस्याको जड पढे÷लेखेका सभ्य, शिक्षित मानिसबीच छ तर हामी राउटे र चेपाङ बस्तीमा कुद्न छाड्दैनौं । विद्यमान नियम–कानुन, आर्थिक प्रशासन, हाकिमका तजबिजी अधिकारले निम्त्याएका अपराधको लेखाजोखा गर्ने फुर्सद कसैलाई छैन । देशका मेरुदण्ड न्यायालय, पुलिस, भूमिसुधार, यातायात, राजस्व र भन्सार प्रशासन पूरै दलालको कब्जामा छ । यी ठाउँमा विशुद्ध सेवाग्राही काम लिएर जाँदा पहिलो गेटमै अस्वीकृत हुन्छ तर दलालमार्पmत गएको काम एकछिनमा तमाम हुन्छ । राजस्व बुझाउन पनि घुस ख्वाउनुपर्ने संसारको एक मात्र अजीव मुलुकको कोटिमा हाम्रो उपस्थिति दर्विलो छ । कुनचाहिँ माइकलाल हाकिम छन्, जसले आफ्नै कार्यालयको लेखा अडिट गराउँदा अर्को सरकारी संयन्त्र महालेखापरीक्षकका अडिटरलाई घुस ख्वाएको नहोस् । कुन हाकिम छन् नगरपालिकामा नक्सा पास गराउँदा अतिरिक्त शुल्क नतिरेका होऊन् । कुनचाहिँ देश बनाउँछु भनेर छाती फुलाउनेले भन्न सक्छ– ‘मैले मालपोत र नापीमा जग्गाको काम गर्दा एक पैसा पनि घुस ख्वाएको छैन ।’ भला आफ्नो हातले नभए पनि दोस्रो मान्छेका माध्यमबाट यी काम तमाम भएकै छन् । आदर्शको महाभारत वाचन गर्दा कर्तव्यको धरातल बिर्सने यो कस्तो पाखण्ड ? सबै जागिरेलाई ‘राम्रो’ ठाउँ चाहिएको छ । राम्रो भनेको आमा, श्रीमतीले भात पकाएर खान दिने ठाउँ नभएर घुस खाने ठाउँ भन्ने पुरानो नेपालको बुझाइ नयाँ नेपालमा झन् प्रगाढ बन्दै गएको छ । मेनपावर, जग्गा दलाल, बालुवागिटीका खेलाडी, राजस्वमारा व्यापारी, तस्करले राजनीतिक दल र तिनका सयौं भ्रातृसंस्थाको महाधिवेशनको जिम्मेवारी लिनुपरेपछि सुशासन कुन चरीको नाम हो आपैंm अन्दाज गर्न सकिन्छ । सरकारी कर्मचारीको सन्तान बाउको पेसा किन रोज्दैन ? किनकि सरकारी जागिरको अलोकप्रिय, अपारदर्शी र संकीर्ण कार्यशैलीबाट ऊ कायल छ । ०४० को दशकसम्म जग्गा र सरकारी जागिरमा काठमाडौंका नेवार समुदायको वर्चस्व थियो । अहिले दुवै क्षेत्रमा तिनीहरूको पकड हराएको छ । किनभने अर्को पुस्ताले विरासत धान्ने छाँट नै ल्याएन । अहिले अतिवादको नाराले यत्र, तत्र, सर्वत्र बिटुल्याएको छ । जात, क्षेत्र, सम्प्रदाय र धर्मका नाममा स्वार्थको रोटी सेकाउने प्रतिस्पर्धा बढ्दो छ । मर्न आँटेको बेस्याहार गाईको लाम्टो चुस्न झुत्ती खेलेभैंm देशसँग ब्याज असुल्नेको भीड छिचोली साध्य छैन । नेपाली संवत्, नेपाली भाषा, नेपाली मुद्राको चीरहरण भएको अवस्थामा जातीय, क्षेत्रीय, धार्मिक दुन्दुभि बजाउनेहरूको आवाज चर्को बन्दो छ । एक किलो नेपाली पैसा दिँदा एक तोला डलर किन्ने हैसियत नभएका हामी देशको हितमा नभएर जातीय मुद्दामा पेचिला बन्दै छौं । एक्काइसौं शताब्दीमा जन्मिएको सन्तानलाई जात, सम्प्रदाय, धर्मका नाममा विभक्त गर्दा उसको दाल, भात, डुकु सुरक्षित हुन सक्ला कि नसक्ला ? यतातर्पm कसैको सोच गएको देखिन्न । भोलि उसको भात र जीवनयात्रामा कठिनाइ आयो भने उसले आफ्नै बाउको घाँटी ठुन्क्याउने निश्चित छ । चाणक्यले भनेका छन्, ‘जुन देशमा आफ्नो सम्मान छैन, अनि जहाँ जीविका चलाउने साधन छैन, जहाँ बन्धुवान्धव छैनन् । जहाँ विद्याध्ययन गर्ने उपाय, दण्डको भय, लाज, चातुर्य र त्यागभाव छैन, त्यस्ता ठाउँमा बस्नु हुँदैन । त्यस्तो स्थान छाडेर अन्यत्र गई यी विषयको खोजी गर्नु उपयुक्त हुन्छ ।’ बिदेसिएकाहरूले चाणक्यका यही नीति–सन्देशलाई शिरमा राखिरहे भने के हुन्छ ?
ज्ञान, धन र विश्वास तीन ज्यादै मिल्ने साथी थिए । तिनीहरूको प्रेम पनि अगाध थियो । एकदिन परिस्थितिवश एकअर्कासँग छुटिनुपर्ने दिन आयो । उनीहरूले आपसमा सल्लाह गरे– अब हाम्रो भेट कहिले र कहाँ हुन्छ ?
ज्ञानः म मन्दिर, मस्जिद र विद्यालयमा भेटिन्छु ।
धन ः मेरो बास धनी साहु, महाजनको घरमा हुन्छ ।
विश्वास चुप थियो । दुवैले चुप रहनुको कारण सोध्दा उसले आँसु खसाल्दै जवाफ दियो– म एकपल्ट गएँ भने कहिल्यै पनि फर्कन्न ।
परिस्थिति प्रतिकूल भए पनि मनस्थिति अनुकूल बनाउनुपर्छ । मलामी र जन्ती हिँड्ने बाटो किमार्थ अलग हुन्न । मरेपछि धनी र गरिबको खरानी अलग भएको दृश्य कसैले खुट्याएको छैन । त्यसैले जीवनका पारखी सुझाउँछन्– अध्ययन गर्दा कहिल्यै मर्दिनँ भन्ने भावना राख र व्यवहार गर्दा भोलि मर्छु भन्ने सत्य सम्झ ।
शास्त्रले खबरदारी लगाउँदै भनेको छ– अन्याय गरेर कमाएको धन १० वर्षसम्म टिक्छ । एघारौं वर्ष लागेपछि मूलधनसहित स्वाहा हुन्छ ।

टिप्पणीहरू