किन बाटो बिराउँछन् कामरेड « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

किन बाटो बिराउँछन् कामरेड

प्रकाशित मिति :  १० मंसिर २०७३, शुक्रबार ०८:४०


  • नारायण नेपाल

संसारका धेरै मुलुकमध्ये नेपाल गाउँ र सहरमा वामपन्थी जनमत व्यापक भएको विरलै देशमध्येको एक देश हो हाम्रो नेपाल । नेपाली जनताले तिनै कम्युनिस्टबाट देश र जनताको समृद्धिका लागि निकै आशा र भरोसा राख्दै आएका छन् । हजारौं दुःख कष्टका बाबजुत जनताको आँसु–रगत र पसिनाको भेलमा स्थापित भएका हुन् नेपालका कम्युनिस्ट । तर, आज–भोलि नेपालका सरकारी कम्युनिष्ट भन्नेहरूको चर्तिकला पनि अचम्मको छ । कसलाई केको धन्दा घर ज्वाइँलाई खानाको धन्दा भनेझैं आफ्नै तलब बढाउन हतार छ । देश र जनताभन्दा आफ्नै पेट भर्ने हतारो छ । कम्युनिस्टको मूलबाटो भनेको देश र जनताको उन्नति र प्रगतिको हो । नेपालमा किन बाटो बिराउँदै छन् कम्युनिस्ट भनिनेहरू ?

सिंहदरबारमा शासन गर्ने मान्छे फेरिएका छन् । शासकको नाम, थर फेरिएको छ । लुटको शृंखला जारी छ । जनताको हालत उस्तै छ । भर्खर नेपाली संसद्मा अघि–पछि नमिलेकाहरू एकमत भएर सेवा–सुविधा बढाएका छन् । मिलेर खाने प्रतिज्ञा जनाएका छन् ।
भियतनाममा युद्धपछि देशको बागडोर सम्हाल्दा कमरेड होचिमिन्ह साधारण लबज र चप्पलमा देखिन्थे । आजकलका हाम्रा नेपाली कम्युनिस्ट नेता करोडपति, अर्बपति बिलासी देखिन्छन् । गोल्छा र खेतानहरूभन्दा नेतामाथि कसरी हो यिनका जीवन ? अनि नेपाली जनताले यिनी नेतालाई हेरेर कति सराप्दा हुन् माक्र्स, लेनिन र माओलाई । जनताको मनोभावना र चाहनाभन्दा फरक किन बोल्छन् नेता ? आज मान्छे घरबाट आँगन र चोकमा निस्कन्छन् र कुन पार्टीमा लाग्दा तत्काल के लाभ हुन्छ ।

लेखाजोखा गरेर मात्र हिँड्ने गरेका छन् । आज समाजमा कम्युनिस्ट, कांग्रेस, पञ्च को हुन् छुट्याउन नसकिने अवस्था छ । किन धुमिल हुँदै छ आदर्श राजनीतिक मूल्य–मान्यता । राजनीतिमा राष्ट्रघात र जनघातको शृंखला निरन्तर जारी छ । पञ्चायत हो, बहुदल या लोकतन्त्र सबैतिर उस्तै प्रवृत्ति किन देखिन्छ सत्तामा ? हिजो समाज देश र जनताका लागि भएको राजनीति आज नाफाका लागि राजनीति छ । वाद, विचार र आस्थालाई पर राखेर पजेरो र महलमा रम्दै जनताको पसिना लुट्ने क्या काइदा † संसारको सबै विचारभन्दा उन्नत विचार समाजवादी सोच र विचार हो । तर, त्यही विचारको नारामा राजनीति गरेर माननीय र सम्माननीय भएकाहरूले किन सधंै जनता र देश लुटमा रम्दै छन् ।

कांग्रेस र कम्युनिस्ट मिलेको लोकतन्त्र संसारमा कही पनि छैन । बेलायतमा लेभर पार्टी र कन्जरभेटिभ पार्टी मिले बेलायती प्रजातन्त्र हुन्छ । अमेरिकामा डेमोक्र्याट र रिपब्लिकन मिले अमेरिकी प्रजातन्त्र के होला ? भारतमा कांग्रेस र भाजपा त मिल्न सक्दैनन् । तर, नेपालमा किन कसरी केले कांग्रेस र कम्युनिस्टको लगनगाँठो जोडिन्छ ? घाँटी जोडिन्छ, मन–मुटु जोडिन्छ ? यो अराजनीतिक गठबन्धन केले बन्छ होला ? त्यसको एक मात्र स्वार्थ भनेको नाफाको लुटको र स्वार्थको मोर्चा हो देश र जनताभन्दा अलग नेता र नेताबीचको लुट साझेदारी हो । दलबीचको लुट बन्डा हो । काले–काले मिलेर खाऊँ भाले भनेझैं न हो आखिर । हालको सदनमा एमाले ८४ समानुपातिक, ९१ प्रत्यक्ष गरी कुल १ सय ७५ माओवादी केन्द्र ५४ समानुपातिक, २६ प्रत्यक्ष गरी कुल ८०, माले ५ नेकपा संयुक्तको ३, नेमकिपाको ३ समानुपातिक, १ प्रत्यक्ष गरी कुल ४ जनाको सहभागिता छ । कुल जम्मा २ सय ६७ सदस्य भनेको ४४ दशमलव ४३ प्रतिशत हो । आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरूको यत्रो सदस्य किन जनताको जल्दाबल्दा समस्याबारे कुरा गर्दैन ।

आज नेपालमा महँगी दक्षिण एसियामै चरम छ । जनजीवन कलाबजारी भ्रष्टाचार पाइलैपिच्छे लुट छ । बाढी–पहिरो, भूकम्पपीडितको दर्दनाक अवस्था छ । तराई–मधेसमा शीतलहरले आक्रमणको तयारी गर्दै छ । एउटा बर्को ओढ्न नपाएर कत्तिको प्राण जाने हो ठेगान छैन । काभ्रे, नुवाकोट र धादिङको तरकारी किसानले बेचेको भन्दा राजधानी काठमाडौंमा दोब्बर–तेब्बर मूल्य किन हुन्छ ? त्यसबीचको रकम कहाँ जान्छ भन्न मिल्दैन र ? सरकारले ४२.२३ रुपैयाँमा पेट्रोल किनेर जनतालाई ९७ रुपैयाँमा बेच्न मिल्छ ? महँगो भए जनतालाई सहुलियत दिने कि १३०.९५ प्रतिशत नाफा खाएर बेच्ने ? यो सरकार हो कि व्यापारी ? किन बोल्न सक्दैनन् त आफूलाई जनताको प्रतिनिधि भन्ने माननीयहरू ? रोम सहर जल्दा बाँसुरीमा रम्ने निरोझैं देश र जनताको संकटमा तलब–भत्ता बढाउनमै मस्त छन् हाम्रा कामरेड माननीय ।

नेपाली सांसदले मासिक तलब–भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ भने दैनिक बैठक भत्ता हजार रूपैयाँ पाउनेछन् । कतिपय सांसदले चाहिँ आफूलाई अहिलेको तलब–भत्ताले जीविकोपार्जन गर्न गाह्रो भइरहेको बताउँदै आएका थिए । तर, जनताको समस्या दैनिकीको जर्जरताबारे सदनमा बहस गर्ने फुर्सद कुनै माननीयलाई भएन । उपचार नपाएर मर्ने जनताको मर्म र मानवीय संवेदनाले किन छँुदैन नेतालाई ? अलिकति पनि नैतिकता छ भने नेपालमै सम्भव हुने उपचार गर्न राज्यकोषको लुट गरेर विदेश किन जान्छन् नेपाली नेता ? डा. रामवरण यादव र सुजाता कोइरालाले राज्यकोषको भीख माग्ने माओवादी सुप्रिमो प्रचण्ड महादानी भएर दिने क्या गज्जबको काइदा !

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अहिलेको सांसदको सुविधा अपुग रहेको भन्दै उनले भने, ‘जसलाई आवश्यक छैन, नलिन सक्नुहुन्छ भने ।’ के कोही होलान् त नैतिकवान नेपाली माननीय बानेश्बरको सम्मेलन केन्द्रभित्र मनकारी नैतिकवान मनुवा जसले काठमाडौंको निजी घर भाडामा लगाएर बानेश्वरमा घरभाडा नबुझ्ने ? पाएको तलब धेरै भयो भन्दै राज्यलाई फिर्ता गर्ने । तर, कर तिर्नलाई सम्पत्ति विवरण लुकाउनेहरूले के गर्लान् ?

व्यवस्थापिका संसद्ले पारित गरेको विधेयकअनुसार सांसदको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ छ । आवास सुविधा १८ हजार छ भने टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार छ । त्यस्तै, धारा–बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक÷एक हजार पाउनेछन् । यो सबै गर्दा एक जना सांसदले मासिक ८० हजार २ सय ३० लिनेछन् । यसबाहेक दैनिक बैठक–भत्ता दिनको १ हजार पाउनेछन् । सरकारले ५ सय प्रस्ताव गरेको थियो । तर, प्रमुख दलको सहमतिमा यसलाई संशोधन गरेर एक हजार रुपैयाँ पु¥याइएको छ । यसबाहेक सांसदको दैनिक भ्रमण–भत्ता २५ सय तोकिएको छ । जनता खान नपाएर कुपोषणले मर्ने नेता धेरै खाएर अजिर्ण भएर मर्ने हाम्रो नेपालमा ? कांग्रेस र अन्य दल त त्यस्तै हुन् । किन कम्युनिस्टसमेत चुइँक्क बोलेनन् । निष्ठा कम भएका कम निष्ठ हुन्जस्तो देखिन्छन् उनीहरू ।

तलेजु मन्दिरबाट सबै घरमा चुलो बले÷नबलेको अवलोकन गर्न धँुवा अवलोकन गरेपछि मात्र खाने काठमाडांैका राजा महेन्द्र मल्लले सबै जनताले खाएपछि मात्र खान्थे भन्ने कुरा सुन्न पाइन्छ के नेपालका जननेता भन्नेहरूले जनतामाथि यस्तै भाव राख्लान् त † सत्तामाथिको वर्गीय दृष्टिको प्रश्न हेर्दा भने संसद्वादी दल सुनको जलप लगाएको पित्तल हुन् । त्यो व्यवहारबाटै प्रस्ट देखिन्छ । लेलिनले भन्नुभएझैं संसद् भनेको बोकाको टाउको देखाएर कुुकुरको मासु बेच्ने थलो हो । यसको व्यावहारिक पक्ष सिद्धान्तमा होइन, हाम्रै आँखाअगाडि छर्लंगै छ । यस्तो लाग्छ, नेपाली सांसद भनेका बगरे हुन् जसले भोट माग्दा आफैंले देखाएका जनताको सपनाको हत्या गर्छन् र उनै जनतालाई लुट्ने र बेच्ने गरिरहन्छ । नेपाली प्रजातन्त्र या नेपाली लोकतन्त्र भनेको नेताले नेताका लागि देश र जनता लुट्ने विधिद्वारा गरिने शासनप्रणाली भन्ने सिद्ध भएको छ । जनताको शासन व्यवस्था स्थापन गर्ने नयाँ बहसको थालनी गरौं । नयाँ विकल्पका लागि केही न केही सोच्ने कि ?


प्रतिक्रिया दिनुहोस !