१४६ जनालाई मुध्दा चलाउन सरकारलाई चुनौती

१४६ जनालाई मुध्दा चलाउन सरकारलाई चुनौती

संवैधानिक इजलाशबाटै वरिष्ठ अधिवक्ता हरिहर दाहालले अहिले महान्यायाधिवक्ता रमेश बडाललाई ठाडो चुनौती दिएका छन् । अस्ति बहसको क्रममा शेरबहादुर देउवा पक्षधर १४६ सांसदको हस्ताक्षरलाई कीर्ते भएको,टिपेक्स लगाइएको,नाम सच्चाइएको र अर्कै अभियोजनका लागि बटुलिएको हस्ताक्षर बुझाइएको भन्दै बहस गरेका बडाललाई यदि त्यो हस्ताक्षर कीर्ते भए मुद्दा चलाउन चुनौती दिएका हुन् ।

रिट निवेदकको तर्फबाट जवाफी बहसका क्रममा दाहाललले भने-महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार हो,जोसङ्ग मुद्दा चलाउने अधिकार हुन्छ,उहाँलाई किर्ते हस्ताक्षर गर्नेमाथि मुध्दा चलाउन के ले रोक्यो ? यदि कीर्ते हो भने मुद्दा चलाउन छाडेर किन आरोप मात्र लगाउँदै हुनुहुन्छ ?

“देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४६ जनामध्ये मेरो हस्ताक्षर दुरुपयोग भयो भनेर अहिलेसम्म कसले भनेको छ ?”

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४६ जनामध्ये मेरो हस्ताक्षर दुरुपयोग भयो भनेर अहिलेसम्म कसले भनेको छ ? उनले इजलाशबाट प्रश्न गरे ।

उता सरकारी वकिलहरुले १४६ जना उपस्थित भएर दर्ता गरेको रिटलाई ५ जनाको मात्र हस्ताक्षर रहेको भन्दै बहस गरेका थिए । त्यसको जवाफमा दाहालले,सर्वोच्च अदालतले नै लाइन लगाएर दर्ता गरेको छ,यसकारण १४६ होइन कि भनेर आएको प्रश्न प्रश्नै नभएको जवाफ फर्काएका छन् ।

“यदि किर्ते हो भने मुद्दा चलाउन छाडेर किन आरोप मात्र लगाउँदै हुनुहुन्छ ?”

अस्तिको इजलाशमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अदालतले परमादेश जारी गरे पनि राष्ट्रपतिले नमाने के हुन्छ भन्ने प्रश्न उठाएका थिए ।

उनको सो प्रश्नको जवाफमा अधिवक्ता दाहालले कानुन व्यवसायीले यस्तो ठाडो बोल्न मिल्छ ? भन्दै इजलाशतिर प्रश्न गरेका छन् ।
उनले विद्या भण्डारीमात्र होइन,कसैले उन्मुक्ति नपाउने तर्क गरे ।

“उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? अहिले एमाले वाहेकको वैकल्पिक सरकार बन्ने अवस्था छ ?”

जवाफी बहसकै क्रममा प्रधानन्यायाधीश राणाले दाहाललाई धारा ७६ को उपधारा ५ वारे प्रष्ट हुन खोज्दै प्रश्न गर्नुभयो, उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? अहिले एमाले वाहेकको वैकल्पिक सरकार बन्ने अवस्था छ ?

जवाफमा दाहालले भने-उपधारा ५ ले सांसद भनेको छ,दल भनेको छैन । उपधारा ५ मा जाँदा निर्दलीयता हुन्छ भन्ने प्रश्न पनि आयो । अहिले कांग्रेस मात्र हैन,माओवादी,जसपा,जनमोर्चा पनि छन् । एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् । अदालतले संविधान बचाउने कुरा अहिले सोच्ने हो श्रीमान भन्दै जवाफ फर्काए ।

टिप्पणीहरू