सर्वोच्चमा आज जे-जे हुँदैछ

सर्वोच्चमा आज जे-जे हुँदैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गर्नुभएको प्रतिनिधि सभा बिघटनको मुध्दाउपर सर्वाेच्च अदालतको संवैधानिक इजलाशमा आज अन्तिम सुनुवाई हुँदैछ । रिट निवेदक,सरकारी वकिल,सभामुख पक्षधर अधिवक्ताहरुको बहस सकिएको छ । अब रिट निवेदकको तर्फबाट तीन जना वरिष्ठ अधिवक्ताहरुको जवाफी बहस र एमिकस क्युरीको तर्फबाट राय दिन मात्र बाँकी छ ।

आइतवारको इजलाशमा सभामुख पक्षधर अधिवक्ताहरु श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने,लवकुमार मैनाली,अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले २ घण्टा बहस गरेका थिए । हिजै रिट निवेदकको तर्फबाट पूर्व महान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले झण्डै १ घण्टा जवाफ दिएसँगै अब रिट निवेदकका तर्फका अधिवक्ताका लागि जबाफी बहस गर्ने समय २ घण्टा दुई मीनेट मात्र बाँकी छ ।

यो समयसीमाभित्र रहेर वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले आज जवाफी बहस गर्नेछन् । यसपछि आजै एमिकस क्युरीको तर्फबाट राय आउनेछ । सुनुवाइका लागि अब ४ घण्टा मात्र बहसको समय बाँकी हुँदा सम्भवत: आजै एमिकस क्युरीले राय पेश गर्नेछ ।

सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ। सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाइएको छ भने नेपाल बारबाट राघवलाल वैद्य र उषामल्ल पाठकले बहस गर्ने छन्।

यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ ।

अदालतबाट अब कस्तो निर्णय आउला ? भन्ने आम चासो छ । यद्यपि अदालत परिसरतिर भेटिने एकाध कानुन व्यवसायीहरु चाहिँ सर्वाेच्चले ७६(४)मा फर्केर सार्वभौम सांसदको अधिकार प्रयोग गर भन्न सक्ने लख काट्दैछन् ।

टिप्पणीहरू