२६ करोडको सडक महिना दिनमै ध्वस्त,पत्रकार पुगे ठाउँमै

२६ करोडको सडक महिना दिनमै ध्वस्त,पत्रकार पुगे ठाउँमै

सिन्धुलीको दुधौली नगरपालिका १०,लखिमाबाट वडा नं. १३ को ठाकुर दमारसम्म गरिएको कालोपत्रे महिना दिन नपुग्दै क्षतविक्षत भएको छ । गत बुधबार रातिको मुसलधारे वर्षापछि बाँदरे खोलादेखि कामीटारसम्मको झण्डै ४ सय मीटर कालोपत्रे सबै डरलाग्दो तरिकाले उप्किएको हो ।

कालोपत्रे तोकिएको मापदण्डभन्दा कम मोटाइको गरिएको र त्यसअघिको सडक सतह राम्रोसँग नपेलिएको (कम्प्रेस्ड) हुँदा एक झर पानीले बगाएको विज्ञहरू बताउँछन् । ठेकेदारले ढुंगा र माटोमाथि थुपुथुपु अलकत्रा हालेको कारण माटोसहित पिच उप्किएको स्थानीयले बताए । उक्त सडकमा तीन सेन्टिमिटर बाक्लो कालोपत्रे हुनुपर्नेमा आधा मात्रै गरिएको बताइन्छ ।सडक निर्माणको जिम्मा सिन्धुलीको इमानुएल कम्पनीले लिएको हो । निर्माण कार्यको गुणस्तरमाथि प्रश्नचिन्ह उठिरहँदा कम्पनीका सञ्चालक छत्र बम्जनको प्रायोजनमा महामारीको बेला हिजो बिहान एक गाडी सिन्धुलीका सञ्चारकर्मी निरीक्षणको लागि गएका छन् ।

सामाजिक सञ्जालमा भत्किएको सडक र ठेकेदारको पिकनिक तस्बिर भाइरल भएको छ । पत्रकारहरूलाई बिहानै ठेकेदारले जबर्जस्ती आफ्नो सवारी साधनमा लोड गरेर लगेका थिए । ठेक्का सम्झौताअनुसार ठेकेदारले तीन वर्षसम्म उक्त बाटोको पुनर्निर्माण गर्नुपर्ने हो ।

नेपाल सरकार र एसियाली विकास बैंकको २५ करोड ८० लाख रुपैयाँ लगानीमा इ.सि.आई कन्काई जेभीको रोहबरमा सिन्धुलीकै इमानुएल निर्माण कम्पनीले सडक कालोपत्रे गरेको हो । सवा ६ मीटर चौंडाईको सडकमा साढे ४ मीटर कालोपत्रे गर्ने ठेक्का उक्त कम्पनीले पाएको थियो ।

टिप्पणीहरू