खालभित्र खतराका खेलाडी

कान्छी भिœयाएपछि पेसामा कम, ‘अर्थोक’ मा बढी चलेका संगीतकार सुरेश अधिकारीसहित महेश खड्काहरूको झुण्ड अहिले सुन्दैमा उदेकलाग्दो धन्दामा छ । एक समय चलेका र अहिले कसैले नपत्याइदिँदा बेरोजगारको संगठन नै बनेजस्तो कमलपोखरीतिर जम्मा हुन थालेका छन् । एभरेष्ट मःमको भित्री गल्लीमा राई थरका एक चर्चित गीतकारको सम्पर्क कार्यालय छ ।

नेपालमा गीतकारले गीतकारकै हैसियतमा अलग्गै कार्यालय खोल्ने क्षमता आर्थिक कारणले राख्दैनन् । तर, अचम्मै कुरा, त्यहाँ गीतकारको सम्पर्क कार्यालय छ । कुरा बुझ्दै जाँदा त्यहाँ गीत, संगीतको विकासको कुरा होइन, जुवाको खाल चल्दोरहेछ । जुवाको सोखिन गीतकार समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, महेश खड्का, तुलसी पराजुली, रञ्जनाका मालिक भवन्दा श्रेष्ठ, हरि लम्साललगायत चलचित्र क्षेत्रका नाम चलेका कलाकारको जम्काभेट त्यहाँ हुन्छ । त्यहाँ थोरैमा २० रुपैयाँ प्वाइन्टदेखि दुई सय रुपैयाँसम्मको प्वाइन्टमा राति अबेरसम्म खेल चल्छ । स्मरणीय छ, यसअघि नाम चलेका किशोर थापामगरले कमलपोखरीस्थित म्युजिसियन स्टुडियोमा यसैगरी जुवा धन्दा चलाउँथे । उनी चौपट्ट हुने र घरबार नै डुब्ने स्थितिमा पुगेपछि त्यहाँबाट सरेर अहिले धोबीधारातिर आफ्नो स्टुडियो सारेसँगै उनी केही उकासिएका छन् ।

उता, लक्ष्मण शेष जुवाकै कारण मालिकबाट झरेर कामदार बन्न पुगेका छन् । यति हुँदा पनि आफू कहाँबाट कहाँ पुगेँ भन्ने कुरा सोच्न भ्याएका छैनन् । पुतलीसडकमा रहेको आफ्नै स्टुडियोमा जुवाको खाल चलाउँदा चलाउँदै उनी डुबेनन् मात्र घरभाडा तिर्न नसकेपछि घरबेटीले नै उक्त स्टुडियोमा कब्जा जमाए । त्यस्तै, अनामनगरमा रहेको सेवा स्टुडियोमा समेत अचेल यो गैरकानुनी धन्दा हुन थालेको छ । स्टुडियोको आडमा गीतकार, संगीतकार बटुल्ने र त्यहाँ जुवाको अड्डा चलाई गीतकार, संगीतकार टाट पल्टाउने धन्दा अधिकांश रेकर्डिङ स्टुडियोमा चल्ने गरेको एक संगीतकारले सुनाए ।

यसैबीच, पञ्चकन्या ग्रुपको साढे १२ लाख हिनामिना गरी प्रचण्डको नातिनीको नाममा एल्बम निकाल्ने गीतकार संघका निलम्बित अध्यक्ष योगेन्द्रमणि दाहाल नख्खु कारागार चलान भएका छन् । योगेन्द्र जेल चलान भएसँगै प्रचण्डको नातिनी स्मिताकी आमाले भने योगेन्द्रलाई छुटाउन शक्तिकेन्द्र धाउन थालेकी छन् ।

टिप्पणीहरू