पीरैपीरले रोजेको सुखको पथ « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

पीरैपीरले रोजेको सुखको पथ

प्रकाशित मिति :  १० मंसिर २०७३, शुक्रबार ०८:३४


सधैं सरल रेखामा कहाँ बग्दो रहेछ र जिन्दगी ? उबडखाबड र भीरैभीरको जिन्दगी आँखा चिम्ले पनि पीर आँखा खोले पनि पीर । म मीना चन्द, सिन्धुपाल्चोकको एउटा गाउँबाट विवाहबारी गरी काठमाडौं खाल्डोमा छिर्दा जिन्दगीमा जति उमंग, उत्साह थियो त्यो सबै खुसीलाई राजधानी खाल्डोले निल्यो । मेरो खुसी अर्थात् मेरो श्रीमान् । जसका लागि मैले आफ्नो जन्मघर त्यागेँ, बुबाआमाको साथ त्यागेँ । म एउटी ड्राइभरकी श्रीमती । सुरु–सुरुमा श्रीमान्को साथ, सहयोग र माया पाउँदा मख्ख थिएँ । श्रीमान् आफ्नै काममा व्यस्त ।

उहाँका व्यवहार परिवर्तन हुँदै गयो । घरमा पैसा दिन छाड्नुभयो । सायद, तलब कम थियो होला । हामीलाई घर व्यवहार चलाउन धेरै दुःख हुन्थ्यो । ती दिन सम्झँदा अहिले पनि आँखाबाट आँसु आउँछ । अहिले लाग्छ, आफ्नो भन्नु त एउटा ‘मन’ मात्रै रहेछ, सुख दिन चाहे सुख मिल्ने, दुःख दिन चाहे दुःख ।

साना काखे बच्चा हुर्काउने जिम्मेवारी मेरो आफ्नै काँधमा आइलाग्यो । तिनै बच्चाको पालनपोषणका लागि मैले पनि समाएँ, ट्याम्पुको ह्यान्डल । रहरले होइन, बाध्यताले ड्राइभर भएँ । तर, काम चुनौतीपूर्ण काम थियो । मैले ट्याम्पो चलाउन सिक्दाको समय कुनै महिला टेम्पो चालक देखँे भने सोध्थे दिदी कहाँबाट सिक्नुभएको ? मलाई पनि सिकाइदिनुहोस् तर हातमा सीप भएकाहरू बोल्दा पनि बोल्दैनथे । कुहिएर जाने सास न हो बोल्दैमा के जान्थ्यो र उनीहरूको ? पछि मोहनराज आचार्य भेटिए । उनले सर्त राखे, टेम्पो किन्ने भए सिकाइदिन्छु । मलाई सिक्नु थियो तर मसँग फुटेको कौडी थिएन । पाँच दिनसम्म टेम्पो चलाउन सिकाए ।

टेम्पो चलाउन त जसोतसो सिकें अब टेम्पो किन्छु भनेको वचन पूरा गर्नुपर्ने भयो । आफूसँग दालभात खाने पैसा थिएन, कहाँबाट ल्याउनु ६ लाख ? श्रीमान् त्यतिबेला पर्यटकको गाडी चलाउँथे । उनको घर आउने कुनै ठेगान थिएन । गाउँघरमा हुँदा एउटा उखान सुनेको थिए, ‘तँ आँट म पु¥याउँछु ।’ टेम्पो किन्ने हिम्मत गरेँ । त्यो बेला मसँग ५० हजार मात्र थियो । मामाघरको हजुरआमाले तीन लाख दिनुभयो र साढे तीन लाख बैंकबाट ऋिण लिएर जम्मा ६ लाखमा टेम्पो किनेँ ।

टेम्पो त किनें तर रोडमा टेम्पो कहिले चलाएकै थिइनँ । सिकेको मात्र हो । जुन दिन पहिलो पटक ट्याम्पु लिएर रोडमा निस्केँ । मनमा डर लागिरह्यो । टेम्पो गंगालाल अस्पतालअगाडि रोकेर बसिरहेँ । सडकमा गाडी कम होला अनि गुडाउँछु तर दिनभर सडकमा गाडी गुड्न कम भएन । बेलुका चलाउँदा ब्रेक फेल भएको रहेछ । सँगै दाइ हुनुुहुन्थ्यो । उहाँले टेम्पो लिएर भित्तामा ठोक्नुभयो । मेरो टाउको बचाउनुभयो । धन्न, हामीलाई केही भएन तर टेम्पो सबै कच्याक कुचुक भयो । लाग्यो मेरो ६ लाख गयो । अब म डुबें, सिद्धिएँ । त्यहाँबाट टेम्पोलाई ग्यारिजमा लगियो । रातको १० बजेको थियो । श्रीमान्ले फोन गरेर सोधे, ‘कहाँ छस् ?’ मैले ‘टेम्पो बिग्रेर ग्यारिजमा छु भन्ने जवाफ फर्काएँ । श्रीमान्ले तिखो वचनवाणले घोचे। ‘उसो हो भने त्यतैबाट कहाँ जाने हो जा घर आउनुपर्दैन ।’ त्यतिवेलासम्म श्रीमान्लाई मैले टेम्पो किनेको थाहा थिएन । १० वर्ष भयो काठमाडौंको खाल्डोमा ट्याम्पो चलाउँदै आएको ।

टेम्पो चलाउन सुरु गर्दा दूधे बच्चा छाडेर जान्थें । टेम्पो चलाउन जाऊँ बच्चा भोकै मर्ने डर नजाऊँ झन् हामी सबै भोकै पर्ने अवस्था । बच्चालाई छिमेकीले सोध्थे ‘ममी खोइ ?’ उनीहरू जवाफ फर्काउँथे ममी हुनुहुन्न, सानीममी मात्र हुनुहुन्छ । बिहान ५ बजे उठेर घरबाट निस्कँदा बच्चा सुतिरहेकै हुन्थे, बेलुका फर्किंदा सुतिसकेका हुने । मलाई त बच्चाले देख्न पाएनन् । छिमेकी कोठाका कतिपय महिला भन्थे यतापट्टि कोठामा मान्छे बस्छ कि भूत ? अहिले आएर लाग्छ, श्रीमान्ले त्यो बेला दुःख दिएर पनि ठिकै गरे । त्यो बेला दुःख नदिएको भए अहिले आएर आफ्नो खुट्टामा उभिन सक्ने थिइनँ ।

हाम्रा लागि सबैभन्दा खराब ट्राफिकका बर्दीधारी हुन् । यिनले अनावश्यक दुःख दिन्छन्, फसाउँछन् । भदौ अन्तिमतिरको कुरा हो । सुन्धाराबाट चाबहिलतिर गुडाइरहेको थिएँ ट्याम्पु । गौशाला पुगेपछि यात्रुले हात दिँदै थिए । ट्राफिकले चिट काट्छ भनेर मैले रोकिनँ । त्यहाँ हरिमोहन यादव नाम गरेको ट्राफिक आएर मेरो टेम्पो साइड लगाऊ भने । लाइसेन्स मागे । लाइसेन्स त नक्कली रहेछ भनेर मेरो लाइसेन्स च्यातिदिए । ट्राफिक यादवले कस्तो लाइसेन्स खोजेको हो मलाई थाहा भएन । सायद स्मार्ट लाइसेन्स खोजेका होलान् । जुन समय मेरो लाइसेन्स रिन्यु भएको थियो, त्यो बेलासम्म स्मार्ट लाइसेन्स चलेकै थिएन ।

रिस उठ्यो, मैले गलत गरेको भए चिट काट्नु न लाइसेन्स किन च्यात्नुभयो भन्दा मलाई एक झापड हाने । गलत गरेको भए चिट काट्नु यस्तो व्यवहार किन गर्नुहुन्छ भन्दा मलाई फेरि जोरले मेरो मुखमा एक मुक्का हान्यो । जसले गर्दा मैले १५ दिनसम्म खान पनि सकिनँ । तेस्रो पटक हान्न खोज्दा मैले उसको हात रोकें । ए बाबा ! तिनका मुक्का खानुपर्ने पनि मैले नै, चौकी जानुपर्ने र थुनिनुपर्ने पनि मैले नै ? यो यिनको कस्तो कानुन हो ?

प्रहरी चौकी पुगेँ । त्यहाँ इन्स्पेक्टर सागर बोहरा खटिएका थिए । उसले ममाथि झन् अमानवीय व्यवहार ग¥यो । विनाकसुर मलाई ल्याएर जेलको कुकुरलाई राख्ने ठाउँमा सुताइयो । भोलिपल्ट हनुमानढोका लगियो । त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो, ट्राफिकमाथि दुव्र्यवहार हातपात गरेर ट्राफिकको हात भाँचेको र मोबाइलसमेत फोडेको आरोप ममाथि लगाइएको रहेछ । त्यहीँ खटिएका इन्सपेक्टरले भने, ‘४० हजार दिएपछि मिल्छ, केस । नत्र हुँदै हुँदैन, जेलमा सडिएर बस । म हनुमानढोका चौकी पुग्दासम्म बाटोमा हिँड्दाहिँड्दै दुई जना साथीलाई फोन गरेको थिएँ । मलाई हनुमानढोका पु¥याइसकेपछि दुई जना साथी माइती नेपाल गए ।

सात दिनपछि मलाई अनुराधा दिदीले छुटाउनुभयो । यस्तो छ, नेपालको ट्राफिक व्यवस्था बर्दीको आडमा जसले जसरी फसाए पनि हुन्छ । महिला टेम्पो चालकमाथि हुने दुव्र्यवहारसँग लड्न अहिले महिला टेम्पो चालक संघ बनाएका छांै । हामीलाई टेम्पो चालक युनियनले कुनै पनि सहयोग नगरेकै कारण टेम्पो चालक महिलामाथि ट्राफिक प्रहरीबाट अभद्र व्यवहार हुने गरेको छ । यात्रु पनि सबै उस्तै कहाँ हुन्छन् र ? उनीहरूबाट पनि हुने दुव्र्यवहारसँग लड्न यो संघ खोलिएको हो । अहिले म यो संघको अध्यक्ष पनि हुँ ।

  प्रस्तुति : भरत रावल


प्रतिक्रिया दिनुहोस !