नत्र उतिबेलै नेपालमा मरिसक्थें

  • भरतसमशेर राणा, पुराना राजनीतिज्ञ

राणाको छोरा भइकन नेपालमा प्रजातन्त्र र गणतन्त्रको यात्रामा अविचलित लागि परेका भरतसमशेर अहिले भारतको कोलकाता शहरमा गुमनाम जीवन बिताइरहेका छन् । एक समय केही न केही बोलेर नेपाली राजनीतिमा चर्चामा आइरहन्थे । खुकुरी दल, गोर्खा परिषद्जस्ता पार्टी हुँदै बीपीको प्रभावले नेपाली कांग्रेसमा आवद्ध भए । तर, गिरिजाप्रसाद कोइरालासँग लामो समय खटपट रह्यो । कृष्णप्रसाद भट्टराई पक्षधरका रुपमा चिनिए । ८९ वर्षका भए । मुटुका रोगी छन् । कृत्रिम यन्त्र पेसमेकर जडित छ । तर, नेपाल र यहाँको राजनीतिबारे जानकार छन् । कोलकातास्थित भाडाको घरमा कुराकानी गर्दा सहज देखिए, तर उमेरका कारण कतिपय स्मरण छैन ।

० दिन कसरी बित्दै छ ?

– टिभी हेरेर धेरै खबर लिन्छु । हिँडडुल धेरै गर्नै सकिँदैन, उमेरले गर्दा ।

० नेपालको खबर कसरी लिनुहुन्छ ?

– मान्छे आइरहन्छन् ।

० परिवारका सदस्य कति हुनुहुन्छ ?

– थुप्रो छन् । छोरा, बुहारी, नाति, नातिना । छोरा एउटा म¥यो, अर्को आउजाउ गरिरहन्छ ।  

० नेपालको राजनीतिक इतिहास र अहिलेको परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?

– डिक्टेटरसिपबाट महेन्द्रले प्रजातन्त्र खत्तम नगरेको भए नेपाल धेरै अघि बढिसक्थ्यो । सन् १९६० मा प्रजातन्त्र खत्तम गरिदिएका कारण हामी भारतभन्दा तीस वर्ष पछाडि प¥यौँ ।

० तपाईं राजा महेन्द्रले कु गरेसँगै, ०१७ सालमा गोरखा दल खोलेर बिपीविरुद्ध पनि लड्नुभयो नि, हैन ?   

– मलाई शान्तिसुरक्षा ऐनअन्तर्गत जेल हालियो । जनताले विर्ता र रैकर निर्मुल गर्नुपर्ने भन्दै भूमि आन्दोलन चलाएका थिए । मलाई थुनेको विरोधमा जनताको हुल उठेर आयो । जिन्दावाद भन्दै मलाई काँधमा हालेर टुँडिखेल पु¥याए । विश्वेश्वरबाबुको निवास त्रिपुरेश्वरमा एक सेक्सन खुकुरी बोकेर गयो । बीपीले पेस्तोलले हानेर त्यसमध्येको एउटा सुवेदार कुलध्वजलाई मारिदिनुभयो । त्यहीँदेखि नामै खुकुरी दल भयो । मलाई सात महिना थुनियो । पछि बीपीले छोडिदिए । डेमोक्रेसी भनेको के हो ! नेपाली जनताले जानेकै थिएनन् । म पार्लियामेन्टमा जाँदा इलेक्सन भनेको के हो ? कसरी संसद् चलाउने, कसैले जानेको थिएन । भाषण गर्ने सिष्टम थिएन । हामीले लड्न त लड्यौँ, तर, पार्लियामेन्टमा जाँदा केही गर्न सकेनौँ । अलि अलि बीपीहरूले जानेका थिए । म दिल्ली गएर, ‘उताको संसदीय अभ्याससम्बन्धी किताब लिएर आएँ । हाम्रा सांसदलाई राखेर सिकाएँ । बीपीले आफ्नो किताबमा लेखेका छन्, ‘गोरखा परिषद्का मान्छेहरु धेरै सिपालु, जान्ने ।’
० कांग्रेससँग तपाईंको शत्रुता र प्रतिद्धन्दता पनि थियो । पछि त्यहीं आफ्नो पार्टी मर्ज गर्नुभयो ?

– मलाई सिद्धान्तसँग मतलव छैन । कांग्रेस जन्मनुभन्दा अगाडि मैले चिठी लेखेको थिएँ, मातृकाप्रसादलाई । मैले उनलाई चन्दा दिएको छु । म नेपाल आउँदा कांग्रेसलाई अप्ठेरो थियो । मातृकाहरु पार्टी फुटाउन खोज्दै थिए । कलेजमा सँगै पढेको साथी हो । उनले मलाई रेग्मीजीकहाँ (डिल्लीरमण) लिएर गए । ‘तपाईं राणा, पैसोसैसो सहयोग गर्नुहुन्छ भने हात थापिन्छ तर पार्टीमा ठाउँ दिइन्न’ भने । यो के प्रजातन्त्र हो ? मैले सोधेँ । अनि, पार्टीमै लाग्न टंकप्रसादलाई पनि भेटेँ । टंकप्रसाद पढेको होइन, बुद्धि छैन, कुरा गर्न पनि जान्दैन । पछि मातृका, टंकप्रसादहरु राजाकोमा गए । मैले पार्टी खोल्ने निर्णय गर्दा रणधीर सुब्बालाई भेटेँ । उनी मेरो गुरु । उनलाई अध्यक्ष बनाएर गोर्खा दल खोलेँ । दौडधुप गर्ने जति सबै म । पछि मैलाई जेल हाले । छुटेपछि गोर्खा परिषद् खोलेँ । मातृकाले देखिसहेनन् । फेरि ६ महिना जेल हाल्यो । प्रधानन्यायाधीश हरिप्रसादले जेलबाट छोडिदिए । निस्कनासाथ फेरि जेल हाले । एक महिनापछि छाडे । त्यसपछि बनारस गएर विद्यार्थी आन्दोलनमा लागें । त्यहाँ रवीन्द्रनाथ शर्मासँग भेट भयो । उनी हाम्रो पार्टीमा लागे । त्यहाँबाट दार्जिलिङ गएँ ।

० राजपरिवारसँग तपाईंको नाता पनि हो ?

– त्रिभुवनका छोरी, बैनीहरुको मेरो हजुरबुबाको भाइहरुसँग विवाह भएको । सिंहसमशेर, कृष्णसमशेरका श्रीमतीहरु उनै हुन् ।

० राजासँग दुश्मनी कसरी भयो त ?

– राजतन्त्र मैले मान्दै नमान्ने । अहिले पनि धर्म मान्दिन । बिवाहवारी गर्दा पनि बाहुनले पूजा–पाठ गर्ने, कन्यादान गर्ने काम मैले नसहेको । पशुपतिनाथ नगएको ।

० गिरिजासँग तीतो र कृष्णप्रसाद भट्टराईसँग नजिकको सम्बन्ध किन ?

– गिरिजाभन्दा कृष्णप्रसाद राम्रो मान्छे । सबैभन्दा राम्रो सम्बन्ध त गणेशमानसँग हो । उनी पहलमान पनि । हामीसँगै बसेको, सँगै लडाइँ गरेको । लडाईं गर्ने हामी । सुवर्ण शमशेरले आत्मसमर्पण गर भन्दा मैले मानिन । प्लेन हाइज्याकको बेला मुजफ्फरपुरमा एयरपोर्ट छ भन्ने कुरा जानेको मैले हो । त्यहाँ ब्रिटिश कम्पनीको एउटा जिएम मैले चिनेको थियो । वीपीलाई मैले नै भनेको हो, त्यहाँ जहाज लैजानुस् भनेर ।
० विमान अपहरणमा तपाईं संलग्न हुनुभयो ?

– म कांग्रेसकै त मान्छे थिएँ नि, नहुने कुरै छैन ।

० विराटनगरबाट लगेको राष्ट्रबैंकको पैसा केमा खर्च गरे ?

– बीपीले पार्टीको पैसा आफूले खानलाई युज नगर्ने ! म उनको घरमा खान गा’छु । ‘भरतसमशेरजी आउनुभयो, मासु ल्याऊ’ भन्थे । १५–१६ जनाको भीड लाग्थ्यो । तर, खाना नमीठो पकाउँथे । कोइरालाहरु पmरवार्ड मान्छे । म पनि फरवार्ड । रसायन एउटै भएर मिलेको ।

० गिरिजासँग किन ¥याङठ्याङ मिलेन ?

– पछि फेरि मिलेँ नि † कांग्रेस गणतन्त्रमा जान मान्नेबित्तिकै म मिलेँ । त्यसपछि त विचरा मरिहाले नि ! पहिला धुवाँधार विरोध गरेँ, पछि मिलेँ । दश वर्षअगाडि उनी प्रधानमन्त्री हुँदा भेटेको हुँ । ०६२–६३ को आन्दोलन हुँदा मान्छे पठाएर मलाई भेट्न बोलाएको । गिरिजाप्रसादले नमानेको भए गणतन्त्र आउँदैन थियो । म गणतन्त्रको पक्षमा पहिलादेखि नै । एउटा बुकलेटमा लेखेको छु, ‘मेरो राजा छैन, मेरो ईश्वर छैन ।’

० कांग्रेसका लागि तपाईंहरुको परिवारले गरेको खर्चको हिसाब के छ ?

– खर्च त धेरै भयो तर अहिले भन्न हुँदैन । जवाहरलाल नेहरुको निधन भयो । बीपी उनीको फेभोरेट थिए । महिनाको एक–डेढ लाख नेहरुबाट पाइन्थ्यो । पछि त्यो बन्द भयो । सुवर्णसमशेरले राजासमक्ष समर्पण गरेपछि मैले सहयोग गर्ने बाध्यता भयो । गिरिजाप्रसादले भनिसकेका छन्, मैले ब्ल्याङ्क चेक दिएको ।

० खर्च कोइराला परिवारलाई गर्नुभयो कि कृष्णप्रसाद भट्टराईलाई ?

– बीपी नै त्यो बेलाको मालिक । उनले जे भन्यो त्यही हुन्थ्यो ।

० जीवनमा कतिवटा फिल्म बनाउनुभयो ?

– करिब ३० वटा । मलाई भारत सरकारले स्थानहद लगाइदियो, कलकत्तादेखि बाहिर जान नपाइने † लालबहादुर शास्त्रीले सुवर्णसमशेर र राजालाई मिलाए । मलाई पनि मिलाउन बोलाए । हतियार बुझाउन भने । मैले राजासँग मिल्दिनँ भनेँ । त्यसपछि कलकत्ताबाट बाहिर नजानु भन्यो । के गरौँ, के गरौँ भयो । ताप्लेजुङको सिमाना भएर चिया बगान हुँदै १४ हजार फिटसम्म गएँ । रातभरि काम गर्ने, दिनभरि सुत्ने । पिथौरागढ त्यसबेला केही पनि थिएन । म राति पुगेँ । तर, उडुस आएर बस्नै नसक्ने † त्यहाँ भारतीय सेनाको ड्युटी रहेछ । मैले आफ्नो परिचय दिएँ । त्यहाँको कर्णेलले मलाई एउटा दूधको पाउडर दियो । राति कुुखुरा कराएको आवाज आयो । किनेर खाएँ ।

० तपाईं नेपाल नगएको कति भो ?

– निकै नै भो नि ! गणतन्त्र घोषणा भएको दिन त्यहीं थिएँ । दुई दिनपछि कलकत्ता फर्किएँ । मेरो मक्सद खत्तम भयो, राजा हट्यो, गणतन्त्र भयो । त्यहाँबाट आएपछि विरामी भएँ, मुटुको । पेसमेकर हालेको छ । त्यहीं भएको भए मरिसक्थें ।

० नेपालमा भूकम्प आयो, भारतले नाकाबन्दी लगायो । थाहा छ, तपाईंलाई ?

– एक–एक थाहा छ । अहिले नेपालमा जुन स्थापित सरकार छ, यो आरएसएस र बिजेपीकोे उपहार हो ।

० बिजेपीलाई नेपालमा हिन्दू राज्य चाहिने भए पहिला आफ्नै देशमा लागू गरे हुन्थ्यो नि !

– कसरी गर्ने ? संविधानले रोक्या छ ।

० भारतले नचाहँदा नचाहँदै तीन ठूला (कांग्रेस, एमाले र माओवादी) दलले मिलिजुली संविधान ल्याए । त्यसपछि तीन दल तीनैतिर लागे, के भन्नुहुन्छ ?

– यो सबै भारतको खेल हो ।

० तपाईंलाई लाग्छ, नेपालमा अब राजाको पुनरुत्थान हुन्छ ?

– सम्भवै छैन ।

० नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?

– म त ‘पोजिटिभ’ नै देख्छु ।

० राजनीतिक परिवर्तन भयो तर आर्थिक समृद्धि भएन नि !

– नेपालमा गरिबी भारतमा भन्दा कम्ती छ । इण्डियाले नेपाललाई थिचिहालौँ भन्दा उता चाइना आइसक्यो ।

० कोलकाता बस्न थाल्नुभएको कति भयो ?

– ५८ वर्ष भयो । उपचार गर्न कलकत्ता जानुपर्छ । नेपाल बसेको भए मरिसक्थेँ ।

० कोलकातामा कम्युनिष्टहरु किन फेलियर भए, नेपालमा त गु्रमिङ फेजमा छन् ?

– ३४ वर्षमा अर्कै जेनेरेशन आयो । तिनीहरुले नयाँ पुस्तालाई तान्न सकेनन् । तर, सिपीएमको रोल अझै त्रिपुरा र केरलामा छ ।

० तपाईंको इच्छा के छ ?

– देशलाई भारतले सिध्याएको छ । कम्युनिष्ट र कांग्रेसी नेताहरुले मिलेर बचाउनु पर्छ ।

० नेपालमा तपाईंका साथीहरु को–को जीवित छन् ?

– ऋषिकेश शाहहरु गइसके । राजेश्वर देवकोटा थिए, गए । तुल्सी गिरीचाहिँ छन् कि क्या हो ? (बैंग्लोरमा छन्) विश्वबन्धु थापा हामीभन्दा कम उमेरको ।

० माओवादी नेताहरु सम्पर्कमा आएनन् ?

– किन नआउनु ! बाबुराम भट्टराई आएका थिए । मदन भण्डारी यही घरमा बास बसेको ।

० नेपालको राजनीतिमा लाइमलाइटमा आइरहने मान्छे । आज आइसोलेटेड भएर बस्नुभएको छ !

– नेपालमा बसेर कामै गर्न सक्दिन ।

० नेपाल जाने कुनै योजना छ ?

– कसरी जानु ? बडो अप्ठ्यारो हुन्छ । मुटुमा पेसमेकर हाले पनि बिहान तीन–चारवटा पेपर पढ्छु । किशुनजीजस्ता नेतालाई चुनावमा हराउने नेता मदन भण्डारी मेरो घरमा आएर बसेको । अहिले उहाँकी श्रीमती राष्ट्रपति हुनुहुन्छ । खुशी लाग्छ ।

० यहाँको व्यापार कस्तो छ ?

– फिल्म बनाएँ । नसक्ने भएपछि बन्द गरें । छोराहरुले कामै नगर्ने । राणाको छोराहरुले काम गरेर नखाने । सब मस्ती गरेर बस्ने । घरजग्गा सब बिक्री गरेँ । मेरो अब केही छैन ।

० नेपाल सरकार र जनताबाट के अपेक्षा गर्नुभएको छ ?

– राजा महेन्द्रले ०१७ सालमा सम्पत्ति हरण गरे । कति गरे सम्झना छैन । बबरमहलमा लगभग ४२ रोपनी थियो । यो विषयमा किशुनजी र गिरिजाले कुरा उठाउँछु भन्नु भएको थियो तर सम्भव हुन सकेन । सर्वाेच्चबाट जिते पनि फैसला कार्यान्वयन भएन ।

टिप्पणीहरू