विष्णु पौडेलले भन्नुभयो,माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न रुचि देखाउनुभएन

विष्णु पौडेलले भन्नुभयो,माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न रुचि देखाउनुभएन

हस्ताक्षर फिर्तामा सहमत गराउन कोटेश्वर पुग्नुभएका एमाले उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताउनुभएको छ ।

ओलीका विश्वासपात्र नेता पौडेलले बिहान नेता नेपाललाई भेट्नुभएको थियो । भेटमा प्रधानमन्त्रीसंग भेटेर समस्याको समाधान खोज्न आफूले गरेको आग्रहमा नेता नेपालले रुची नदेखाएको उहाँले दाबी गर्नुभयो ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा नेता नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको तर नेता नेपालले रुची नदेखाएको बताउनुभएको हो ।

‘माधव कमरेडकोमा गएका थियौँ । म,सुवासजी र शंकरजी भएर । उहाँसंग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौँ भने, पार्टीलाई एकतावद्ध लिएर जाऊँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईंहरु एक आपसमा बस्नुहोस्’,उहाँले भन्नुभयो ।

नेता नेपाल सहमत नभएपछि आफूहरु त्यसै फर्किएको उहाँले बताउनुभयो । ‘पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस्,हामी त्यो चाहन्छौं भनेर हामीले प्रस्ताव राख्दा उहाँले खासगरी प्रधानमन्त्रीसंग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठीकै छ,छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौँ ।’

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका नेपालसहित सो समूहका २३ जना सांसद (विघटित प्रतिनिधिसभा)लाई हस्ताक्षर फिर्ताका लागि ओली समूहले दिएको अल्टिमेटम नजिकिंदै गएका बेला वार्ता टोलीको सदस्यसमेत रहेका पौडेलसहितका नेताहरु नेता नेपाललाई भेट्न बिहानै कोटेश्वर पुगेका थिए ।

ओली पक्षको अस्तिको बालुवाटार बैठकले हस्ताक्षर फिर्ताका लागि सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो। हिजोको बैठकमा अध्यक्ष ओलीले अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना अन्त्य हुने चेतावनी दिनुभएको थियो । नेपाल समूहले भने हस्ताक्षर फिर्ता नहुने बताउँदै आएको छ । प्रतिनिधिसभा विघटन हुनबाट जोगाउन हस्ताक्षर बुझाएकाले त्यसबाट फिर्ता नहुने सो समूहको अडान रहँदै आएको छ ।

टिप्पणीहरू