यस्ता भद्रगोल कति कति !

गत बिहीबार जनआस्थाकर्मी पशुपन्छी विकास सचिव उत्तमकुमार भट्टराईको कार्यकक्षमा हुँदा दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाको फोन आयो । भट्टराईले हकार्दै भने, ‘सपना कत्तिको देख्नुभएको छ ?’

उनैले जवाफ फर्काए, ‘मेरो कार्यकालमा तपाईंको सपना पूरा हुँदैन ।’ दुग्ध विकास संस्थान नजिकको जग्गा भाडामा लगाउनेसम्बन्धी फाइल आएको रहेछ । तर, घर जान लागेको बेला आफू विवादमा नफस्ने भन्दै सचिव भट्टराईले डिडिसीको फाइल अगाडि नबढाइदिए पछाडि तिमिल्सिना दिन बिराएर सचिवलाई फोन गर्दै हालखबर सोध्न थालेका छन् ।

मन्त्रालयको कामकाज प्रभावित हुने गरी मन्त्री र सचिव एकैपटक विदेश भ्रमणमा निस्कन नमिल्नुपर्ने हो । तर, विदेश भनेपछाडि मरिहत्ते गर्ने सचिव, सह–सचिवसहित वातावरण तथा जनसंख्या मन्त्री जयदेव जोशी र सचिव एकैपटक विदेश शयर गरेर फर्किएका छन् ।
उनीहरू मोरक्कोको शयर गरी हिजो मात्र मन्त्रालयमा झुल्किएका हुन् । मन्त्री जोशी अघिल्लो आइतबार त्यता प्रस्थान गरेका थिए । उनीसँगै सचिव विश्वनाथ ओली र मन्त्रालयका आधा दर्जन सहसचिव लावालस्कर लगाएर गएका छन् ।

आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्कालाई रिझाउन नसक्दा अलेखगञ्ज डिपोबाट खिलेन्द्र कार्की ६ महिनामै फिर्ता बोलाइएका छन् । भारतीय नाकाबन्दीका बेला एयरपोर्ट डिपोको प्रमुख रहेर तेल चोरीको अभियोग लागेका प्रदीप यादवलाई त्यहाँ पठाउने तयारी भएको छ ।

नाकाबन्दीका बेला मनोज दासको ट्यांकरबाट एयरपोर्टको लागि ल्याइएको १५ सय लिटर तेल बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ सूचीमा राखेको थियो । उनी अहिले पनि फरार सूचीमा छन् । आठौँ तहका अधिकृतलाई पठाइने अमलेखगञ्ज डिपो आयल निगमका देशभरमध्ये आकर्षक मानिन्छ । निगममा आर्ठौँ तहका अभिषेक ठाकुर, जगदीश यादव, मोहन साहहरु सिनियर अधिकृत हुन् । तर, प्रमुख खड्कालाई रिझाउने मान्छेको खोजी हुँदा उनै काण्डवाल परेको बताइन्छ ।

टिप्पणीहरू