तासको खालबाट ३१ जुवाडे पक्राउ

तासको खालबाट ३१ जुवाडे पक्राउ

काठमाडौं र पूर्वी नवलपरासीमा तास खेलिरहेको अवस्थामा ३१ जना जुवाडे खालबाटै पक्राउ परेका छन् । तीमध्ये काठमाडौंमा २० र नवलपरासीमा ११ जना जुवाडे प्रहरी फन्दामा परेका हुन् ।

काठमाडौंको तारकेश्वर र चन्द्रागिरी नगरपालिका तथा काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका हुन् । लालबहादुर तामाङको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा तारकेश्वर–७ फुटुङ्गस्थित हरिलाल राजवाहकलगायत ११ जनालाई नगद ४४ हजार ८ सय ५५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

त्यस्तै, चन्द्रागिरी नगरपालिका–३ का कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ दहचोकका किशोर बखतीलगायत ६ जनालाई प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१५, विजेश्वरीस्थित घरमा तास खेलिरहेको अवस्थामा स्थानीय ५३ वर्षीय कर्मा गुरुङ्गलगायत तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूबाट नगद २२ हजार १ सय ३० रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

उता, पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७, कुजौलीका जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेतलगायत ११ जना पक्राउ परेका छन् । उनीहरूलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू